७ वैशाख २०८१ शुक्रबार
समाज

दोलखाको सिगँटीमा पहिरो

मंगलबार राती सिगँटीमा खसेको पहिरो। तस्बिर सौजन्य: बिमल श्रेष्ठ

दोलखा-अघिल्लो बर्षको भूकम्पले तहसनहस पारेको दोलखाको उत्तरी केन्द्र सिगँटी बजार पहिरो खस्न थालेको छ।

भूकम्प लगत्तै बजारका माथिल्लो क्षेत्रहरुबाट झरेको पहिरो पछि थिलथिलो बनेका भागहरु लगातारको बर्षासगैँ बग्न थालेपछि मंगलबार बिहान सम्म दर्जन बढी परिवारले घर छाडेका छन्। पहिरोले सिगँटी बाट माथिल्लो तामाकोशी जलबिद्युत आयोजना स्थल पुग्ने प्रवेश मार्ग अवरुद्ध पारेको छ । यस्तै सिगँटी बजारमा बिद्युत आपुर्ती बन्द भएको छ ।

मंगलबार रातीको भारी बर्षात पछि सिगँटीको खोलापारी बजार क्षेत्र स्थित लादुक ८ को महादेव मन्दिर आसपासको क्षेत्र खसेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए। माथीबाट लगातार झरिरहेको पहिरो नियन्त्रण नभएका कारण पन्छाउन नसकिएको शाहीले बताए  ‘पहिरो भलाएमा माथिल्लो भिर नै बगेर आउन सक्ने खतरा छ’ उनले भने – ‘त्यसैले डोजर लगाएर पहिरो पन्छाउन सक्ने अवस्था नै छैन’ ।

पहिरोका कारण स्थानिय दर्जन परिवारले घर छाडेका छन् । स्थानिय बुक्तम तमाङका अनुसार बजारका रेखबहादुर श्रेष्ठ, सुर्यलाल श्रेष्ठ, हर्क तमाङ, अमृत विश्वकर्मा, दिलबहादुर नेपाली, रामबहादुर बस्नेत, पदमबहादुर पाण्डे लगायतको घर उच्च जोखिममा परेको छ ।

जोखिममा परेकाहरुलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए। यसैबीच अवरुद्ध सडक मार्ग खुलाउन खतरा रहेको भन्दै स्थानीय प्रशासनले सिगँटी पारीको मुख्य बजार क्षेत्रको बैकल्पीक बाटो प्रयोग गर्न र सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ।

गत बर्षको बैशाख २९ मा दोलखा केन्द विन्दु भएर गएको भूकम्पको शक्तीशाली पराकम्पले सिगँटी बजार तहसनहस पारिदिएको थियो । बजार क्षेत्रमा रहेका भीर खसेका कारण दर्जन बढी मानिसहरुको मृत्यु भएको थियो ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App