८ वैशाख २०८१ शनिबार
अर्थ

नेप्से दुई महिनायताकै न्यून बिन्दुमा

काठमाडौं – सेयर बजार मापक नेप्से दुई महिनायताकै न्यून बिन्दुमा ओर्लिएको छ । भदौ तेस्रो साता १४९३.२० बिन्दुमा रहेको नेप्से परिसूचक मंगलबार १४८४.४५ बिन्दुमा आइपुगेको छ। 

भदौको तेस्रो सातापछि केही समय उकालो लागेको सेयर बजार ११ दिनयता निरन्तर रुपमा ओरालो लागेको छ । मंगलबार नेप्सेमा ८.९७ बिन्दुले गिरावाट आयो।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणमा बैंक तथा वित्तीय संस्थाले खासै राम्रो नाफा गर्न नसकेपछि सेयरको मूल्यमा गिरावट आएको विश्लेषकहरुको भनाइ छ।

यसअघि वाम एकताले तर्सिएका लगानीकर्ता पुनः बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा प्रगति नदेखिएपछि निराश सेयर बेच्न थाल्दा नेप्से ओरालो लागेको उनीहरु बताउँछन् । ‘११ दिनयता निरन्तर ओरालो लागेको सेयर बजार मंगलबार पनि थामिएन,’ एक सेयर ब्रोकरले भने, ‘निरन्तर ओरालो लागेपछि लगानीकर्ता पनि अलमलमा परेका छन् ।’

निरन्तर ओरालो लागेपछि लगानीकर्ता ‘पख र हेर’को स्थितिमा छन् । अझै सेयर बजारमा गिराबट आए थप नोक्सानी बेहोर्नु पर्ने भएकाले पनि उनीहरुले खरिद गर्ने निर्णय गर्न सकेका छैनन्। 

मंगलबार बजार खुल्नासाथ केही उकालो लागे पनि बजार बन्द हुने समयसम्म आइपुग्दा करिब नौ बिन्दुले तल झरेको छ । धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन निर्देशन दिएपछि बजार केही बढ्ने आँकलन लगानीकर्ताले गरेका थिए । तर, लगानीकर्ताको अनुमान विपरीत सेयर बजार ओर्लिन पुग्यो। 

बजार खुलेकोे करिब आधा घन्टा परिसूचक सकारात्मक रहेको थियो । तर, त्यो लामो समय टिक्न सकेन र पुनः आरोलो लाग्न पुग्यो । मार्जिन कारोबारको सुविधा कार्यान्वयनमा आउन अझै लामो समय लाग्ने भन्ने हल्ला बजारमा आएपछि सेयर बजार ओरालो लागेको ब्रोकरहरु बताउँछन्।

बजारमा कारोबारमा आएका व्यापार समूह बाहेकका सबै सूचक घटेका छन् । यसले गर्दा समग्र नेप्से ओरालो लाग्न पुगेको हो। 

बजारमा सेयरको आपूर्ति ह्वात्तै बढेकाले पनि परिसूचक ओरालो लागेको ब्रोकरको भनाइ छ । मंगलबार मात्र तीन करोडभन्दा बढी कित्ता सेयर नेप्सेमा थपिएको छ।

पुँजी बढाउने क्रममा सूचीकृत कम्पनीहरुले बिक्री गरेको हकप्रद तथा जारी गरेको बोनस सेयर धमाधम सूचीकृत हुने क्रम बढ्दा बजारमा यसको आपूर्ति बढेको ब्रोकरहरु बताउँछन् । माग कम र आपूर्ति बढी भएकाले बजार ओरालो लाग्न पुगेको उनीहरुको भनाइ छ।

बजार निरन्तर ओरालो लागेपछि कारोबार रकममा समेत कमी आएको छ । एक सय ५९ कम्पनीको ११ लाख २९ हजार दुई सय नौ कित्ता सेयर ४२ करोड ४४ लाख रुपैयाँ बराबरमा किनबेच भए । यो अघिल्लो दिनको कारोबारको तुलनामा निकै कमी हो। 

बजार पुँजीकरण १७ खर्ब २३ अर्ब कायम भएको छ । मंगलबार इन्भेस्टमेन्ट बैंकको सबैभन्दा बढी एक करोड ९४ लाखको कारोबार भएको छ।

अनलाइन कारोबार अझै ६ महिनापछि
अनलाइन सेयर कारोबार गर्न अझै ६ महिना कुर्नुपर्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आगामी जेठदेखि मात्र अनलाइनबाट सेयर खरिद–बिक्री गर्न सकिने जानकारी दिएको हो ।

नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले मंगलबार पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । उनले आगामी जेठअघि अनलाइन सेयर कारोबार सम्भव नभएको प्रस्ट पारे ।

यसअघिका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले मंगलबार (आज) देखि अनलाइन सेयर कारोबार आरम्भ गर्ने घोषणा गरेका थिए । तर, उनको त्यो भनाइको खण्डन गर्दै नवनियुक्त साउदले विभिन्न कारणले तत्काल अनलाइनमार्फत सेयर कारोबार गर्न नसकिएको जानकारी गराए । ‘प्राविधिक र मुद्दा मालिलाका कारण आनलाइन कारोबार केही ढिलो हुन पुगको हो,’ उनले भने, ‘२०७५ जेठमा मात्रै अनलाइन सेयर कारोबारको परीक्षण आरम्भ गर्न सकिन्छ ।’ नेप्सेले अनलाइन सेयर कारोबारको सिस्टम उपलब्ध गराउनुपर्ने सम्झौता वाइसिओ प्रालिसँग गरिसकेको छ। 

प्रकाशित: २२ कार्तिक २०७४ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App