coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थायित्व र समृद्धिमा कम्युनिस्ट बाधक : पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालका कम्युनिस्ट मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाधक बनेको आरोप लगाएका छन् । नेकपा एमाले र माओवादी केन्द्रले संविधानसभाबाट जारी भएको संविधानको मौलिकतामाथि प्रश्न उठाएर साम्यवाद लाद्न लागिपरेको पौडेलको आरोप लगाएका हुन्।

राजनीतिक स्थायित्वले मात्र आर्थिक समृद्धि र विकासको ढोका खुल्ने बताउँदै पौडेलले मंगलबार नागरिकसँग भने, ‘२००७ साल देखि ०७४ सम्म आइपुग्दा कम्युनिस्टहरू समाधानभन्दा समस्याका रुपमा मात्र खडा भए । राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि उनीहरू सहयोगी होइन बाधक बने।’

२००७ सालको परिर्वतनदेखि नै कम्युनिस्टहरूकै कारण राजनीतिक व्यवस्थाको टुंगो लाग्न सात दशक लागेको दाबी पनि उनले गरे । ‘२००७ सालमा प्रजातन्त्र आयो राजासँग मिलेर त्यसलाई संस्थागत हुन दिइएन । ०३६ सालमा जनमत संग्रहमा निलो वा पहेंलो जसले जिते पनि पेट भोकै भनेर कम्युनिस्टबाटै बहुदललाई हराउने काम भयो । २०४६ सालमा फेरि प्रजातन्त्र पुनस्र्थापना गरियो जनयुद्धका नाममा देशलाई ध्वंस गर्ने काम कम्युनिस्टबाटै भयो,’ पौडेलले भने । राजा र माओवादीको बन्दुकबाट देशलाई मुक्त गर्दै मुलुकमा राजनीतिक व्यवस्थाको टुंगो लागे पनि त्यसलाई संस्थागत हुन नदिने प्रपञ्च फेरि कम्युनिस्ट नेतृत्वमा हुनलागेको उनले बताए। 

‘संविधान जारी गर्दाका सहयात्री दल नै संविधानको मौलिकता परिवर्तन गरी अधिनायकवादतर्फ उन्मुख हुँदैछन्,’ पौडेलले भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गरेर उनीहरू साम्यवाद र निरंकुताको बाटो खन्न लागिपरेका छन्।’
कम्युनिस्ट अधिनायकवादबाट मुलुकलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्न मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन लोकतन्त्रवादीले जित्नैपर्ने पौडेलले बताए । व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार, सम्पत्तिसहित हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँध्न कांग्रेसले मात्र सक्ने जिकिर गर्दै पौडेलले भने, ‘नेपालको राष्ट्रियता भनेको पहाड हिमाल र मधेसबीचको एकता हो।’

कांग्रेसले बहुलवादमा आधारित समाजवादलाई स्वीकारेको बताउँदै पौडेलले थपे, ‘वामपन्थी दलले जस्तो कुनै एउटा क्षेत्र वर्ग र जातिलाई उपेक्षा गरेर राष्ट्र बलियो बन्दैन ।’

प्रकाशित: २२ कार्तिक २०७४ ०२:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App