८ वैशाख २०८१ शनिबार
राजनीति

राजसंस्थासहितको लोकतन्त्र : थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको लोकतान्त्रिक व्यवस्थाको पक्षमा आफूलाई उभ्याउँदै प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन घोषणापत्र, २०७४ सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधि र प्रदेशसभा निर्वाचन तोकिएको छ। 

मंगलबार राजधानीमा घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष कमल थापाले संविधानसभाबाट जारी संविधानप्रति आफ्नो पार्टीको निष्ठामा शंका नगर्न पनि आग्रह गरेका छन्।

संविधानसभाबाट जारी संविधानको आलोचनात्मक समर्थन जनाएको राप्रपाले हिन्दु राष्ट्र स्थापनामा पनि जोड दिएको छ । ‘नेपालको संविधान र परिवर्तनलाई आत्मसात् गर्दै हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाको मागमा राष्ट्रिय प्रजातन्त्र पार्टी अडिग छ,’ थापाले भने, ‘सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रतासहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनस्र्थापना गर्छौं।’ 

संविधानले नेपाली जनताको भावनालाई पूर्णरुपमा समेट्न नसके पनि समानुपातिक र समावेशी सिद्धान्तको दृष्टिकोणबाट भने प्रगतिशील र अग्रगामी रहेको राप्रपाले जनाएको छ । संघीयताप्रति असहमति जनाउँदै उसले भनेको छ, ‘संघीयताको आवश्यकता, औचित्य एवं स्वरुपका बारेमा पर्याप्त बहस नै नगरी यो अवधारणालाई स्थापित गर्ने काम गरियो ।’  
खुलाबजारमुखी अर्थतन्त्रको वकालत गर्दै राप्रपाले आर्थिक विकासलाई प्राथमिकता दिँदै ३० वर्षे दीर्घकालीन राष्ट्रिय विकास कार्ययोजना तयार पार्ने प्रतिबद्धता जनाएको छ ।  गरिबी निवारणका लागि आवास, भोजन, रोजगारी, शिक्षा र स्वास्थ्यको भरपर्दो व्यवस्था गर्ने, कृषिको आधुनिकीकरण गर्ने, जनमुखी भूमिसुधारको व्यवस्था गर्ने जस्ता विषयलाई घोषणापत्रमा समेटेको छ।  

स्वास्थ्य सुविधालाई पहुँचयोग्य, गुणात्मक, सस्तो एवं सर्वसुलभ बनाउने जनाउँदै काठमाडौंको वीर अस्पतालसरहका अस्पताल सातै प्रदेशमा निर्माण गर्ने उल्लेख छ । शैक्षिक क्षेत्रमा विद्यमान पार्टीकरण र भागवण्डालाई अन्त्य गर्ने र शिक्षालाई राजनीतिको प्रत्यक्ष प्रभावबाट मुक्त तुल्याउने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ।

‘एक घर एक रोजगारी’ को अवधारणा कार्यान्वन गर्ने जनाउँदै घोषणापत्रमा सदाका लागि लोडसेडिङ अन्त्य गर्ने उल्लेख छ । त्यसका लागि जलस्रोतको एकीकृत विकासका लागि एकीकृत जलस्रोत मन्त्रालय पुनस्र्थापना गर्ने जनाउँदै २ सयदेखि ३ सय मेगावाटसम्मका मझौला एवं जलाशययुक्त बहुउद्देशीय जलविद्युत् आयोजनाहरू सातै प्रदेशमा निर्माण गर्ने घोषणापत्रमा लेखिएको छ । ‘१० वर्षमा १० हाजार मेगावट विद्युत् उत्पादन गर्ने योजना कार्यान्वन गर्नेछौं,’ घोषणापत्रमा छ।
काठमाडाैँ–हेटौंडा सुरुङ मार्ग, काठमाडौं–जुम्ला राजमार्ग, काठमाडौं बाहिरी चक्रपथ, तराईमा मेची–महाकाली हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, काठमाडौं तराई फास्टट्रयाक, मेची–महाकाली विद्युतीय रेलमार्ग, कोसी तथा नारायणी नदीमा जलमार्ग जस्ता यातायात सञ्जाल निर्माण गर्ने उल्लेख छ । जनकपुर र लुम्बिनीलाई क्रमशः मिथिला र बौद्ध संस्कृतिको बृहत् केन्द्रका रुपमा विकास गर्ने पनि   घोषणापत्रमा उल्लेख छ। 

नेपाली सेनाको परम्परागत गौरवलाई कायम राख्दै समय अनुसार सुधार गरिने प्रतिबद्धता जनाइएको घोषणापत्रमा उल्लेख छ, ‘देशको अखण्डता र सार्वभौमिकताको रक्षाका लागि समयानुकूल सीप र दक्षता अभिवृद्धि गरी सक्षम र सबल राष्ट्रिय सैन्य शक्तिका रुपमा नेपाली सेनाको आधुनिकीकरणमा जोड दिनेछौं।’

सबै प्रकारका जातीय भेदभाव र शोषण अन्त्य गर्ने जनाउँदै राप्रपाले नेपालका आदिवासी जनसमुदायका रुपमा खस आर्य ब्राह्मण क्षेत्री, दसनामी र ठकुरीको अलग पहिचान कायम गर्ने प्रतिबद्धता गरेको छ । ‘रापपाको सरकार बने विपन्न परिवारका छोराछोरी जन्मिनासाथ राज्यले प्रतिशिशु एकमुष्ठ ५ हजार सुपोषण अनुदान प्रदान गर्नेछ,’ घोषणापत्रमा भनिएको छ, ‘विदेशमा रहेका नेपाली नागरिकले पनि मत दिन पाउने व्यवस्था हुनेछ।’

उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले वाम एकताले मुलुकमा तीव्र राजनीतिक धु्रवीकरण भएको  बताए । वाम एकताले मुलुकमा संशय, आशंका  र त्रास उत्पन्न  भएको बताउँदै थापाले भने, ‘यसबाट प्रजातन्त्र सुदृढीकरण, राजनीतिक स्थायित्व र मुलुकको विकासमा प्रश्नचिह्न खडा भएको छ।’ 

राष्ट्रिय अखण्डता, सार्वभौमिकता एकता एवंं स्वतन्त्रता संरक्षणप्रति राप्रपा सदैव सचेत र प्रतिबद्ध रहेको बताउँदै थापाले कांग्रेससँगको सहकार्य राष्ट्रिय एकता, अखण्डता, प्रजातन्त्र सुदृढीकरणसहितको आर्थिक विकाका लागि भएको स्पष्ट पारे । आगामी निर्वाचन प्रजातन्त्र, राष्ट्रिय एकता र आर्थिक विकासका पक्षपाति र विपक्षीबीच हुने भएकाले कांग्रेससँग सहकार्य गर्नुपरेको उनको भनाइ थियो। 

प्रकाशित: २२ कार्तिक २०७४ ०२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App