४ वैशाख २०८१ मंगलबार
राजनीति

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा

सुरेन्द्र पौडेल/भाषा शर्मा
काठमाडौं – मंसिर २१ गते राजधानी काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । दलका उम्मेदवार प्रचारप्रसारमा जुटेका छन् । आफ्नो पक्षमा मतदाता तान्न उम्मेदवार र कार्यकर्ता घरदैलो र कोणसभामा व्यस्त छन् । देशको राजधानी भएकाले काठमाडौंका उम्मेदवारमाथि धेरैको नजर अडेको छ । जित्ने दाबी निर्वाचनमा उठ्ने सबै उम्मेदवारको छ र अनुमान आआफ्नै छन् । 

काठमाडौंमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले आआफ्ना साझा उम्मेदवार उठाएका छन् । विवेकशील साझा पार्टीले भने कसैसँग गठबन्धन नगरी एकल उम्मेदवारलाई मैदानमा उतारेको छ । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन् । वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरेभाबर, जनजागरण पार्टी नेपाल, समाजवादी जनता पार्टी छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणअन्तर्गत मंसिर २१ गते काठमाडौंमा हुने निर्वाचनमा कुन गठबन्धन तथा दलको अवस्था कस्तो छ वा कति मजबुत स्थितिमा छन् त ? यसै वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा तुलना गर्दा काठमाडौंमा वाम गठबन्धन बलियो देखिएको छ। 
स्थानीय तहको मत परिणाममा वाम गठबन्धन बलियो देखिए पनि लोकतान्त्रिक गठबन्धनसँगको भिन्नता थोरै मात्र रहेकाले काठमाडौंका सबै क्षेत्रमा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

स्थानीय निर्वाचनमा काठमाडौंमा कुल ३ लाख ७२ हजार ९ सय ५४ मत खसेको थियो । यो काठमाडौंको स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको कुल मत हो । खसेकोमध्ये वाम गठबन्धनले १ लाख ८२ हजार ७ सय २२ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १ लाख ४१ हजार ३ सय ५२ । काठमाडौंमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ४१ हजार ३ सय ७० मत बढी ल्याएको थियो । साझा पार्टी र विवेकशील पार्टी स्थानीय निर्वाचनको मैदानमा अलगअलग रुपमा उत्रेका थिए, तर अहिले यी दुई पार्टीबीच एकीकरण भइसकेको छ । एकीकरणपछि बनेको विवेकशील साझा पार्टीले गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा कुल ४१ हजार ९ सय ३५ मत पाएका थियो । 

काठमाडौंमा एक महानगरपालिका र १० नगरपालिका गरी ११ वटा स्थानीय तह छन् । स्थानीय निर्वाचनमा काठमाडाैँ महानगरपालिकासहित ७ वटामा एमाले (वाम गठबन्धन) र ४ वटा कांग्रेस (लोकतान्त्रिक गठबन्धन) ले जितेका थिए । काठमाडौं महानगरपालिकामा एमाले र राप्रपाले तालमेल गरेका थिए । 

मंसिर २१ गते हुने निर्वाचनमार्फत काठमाडौंबाट प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा २० जना निर्वाचित हुनेछन् । स्थानीय तहको मत परिणामलाई आधार बनाउँदा प्रतिनिधिसभाका १० स्थानमध्ये ९ स्थानमा वाम गठबन्धन र एकमा लोकतान्त्रिक गठबन्धन बलियो देखिन्छ । यस्तै, प्रदेशसभाका २० स्थानमध्ये १७ मा वाम गठबन्धन र ३ मा लोकतान्त्रिक गठबन्धनको अवस्था मजबुत छ । 

क्षेत्र नं. १ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१ मा काठमाडौं महानगरपालिकाका १०, ११, २९ र ३१ वडा छन् । यी चार वडामध्ये स्थानीय निर्वाचनमा तीन वटामा कांग्रेस र एकमा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए । यस क्षेत्रमा स्थानीय निर्वाचनमा कुल २३ हजार ८ सय ३ मत खसेको थियो । वाम गठबन्धनले १० हजार ९ सय ८८ मत  र लोकतान्त्रिक गठबन्धनले १० हजार ३ सय ८२ मत पाएको थियो । अन्य दलले २ हजार ४ सय ३३ मत पाएका थिए । यस क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले मात्र ६ सय ६ मत बढी पाएको देखिन्छ । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. १  (क) भने वाम गठबन्धनको तुलनामा लोकतान्त्रिक गठबन्धन केही मजबुत देखिन्छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं. १०, ११ र २९ पर्छन् । गत स्थानीय निर्वाचनमा यी तीनै वडामा कांग्रेसको उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रबाट लोकतान्त्रिक गठबन्धनले ६ हजार २ सय १ र वाम गठबन्धनले ५ हजार ६ सय २९ मत पाएका थिए । वाम गठबन्धनको भन्दा लोकतान्त्रिकले यो क्षेत्रमा ५ सय ७२ मत बढी पाएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं.१ (ख) मा भने वाम गठबन्धन लोकतान्त्रिक भन्दा केही मजबुत देखिन्छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको ३१ नम्बर वडा मात्र पर्छ । यो वडामा गत स्थानीय निर्वाचनमा एमालेले जितेको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ हजार १ सय ७८ मत बढी पाएको थियो । वाम गठबन्धनले यो क्षेत्रमा ५ हजार ३ सय ५९ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिकले ४ हजार १ सय ८१ । 

क्षेत्र नं. २ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.२ मा काठमाडौं महानगरपालिकाका ९ र ३२ वडा, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ८, ९ र शंखरापुर नगरपालिका पर्छन् । स्थानीय निर्वाचनको मत परिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । स्थानीय निर्वाचनमा कागेश्वरी मनोहरा र शंखरापुर दुवै नगरपालिकामा एमालेले मेयर जितेको थियो । महानगरपालिकाको ९ र ३२ दुवै वडाको वडाध्यक्ष पनि एमालेले नै जितेको थियो । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ४६ हजार ३ सय ५८ मत खसेको थियो । खसेको मध्ये वाम गठबन्धनले २२ हजार ५ सय ११ र लोकतान्त्रिक गठबन्धनले १८ हजार ८ सय ७४ मत पाएका थिए । अन्य दलले यो क्षेत्रबाट ४ हजार ९ सय ७३ मत पाएका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार ६ सय ३७ मत बढी यो क्षेत्रमा पाएको देखिन्छ । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (क) मा गत स्थानीय निर्वाचनमा वाम गठबन्धन लोकतान्त्रिकको भन्दा बढी मत पाएको थियो । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको ९ र ३२ नम्बर वडा छन् । स्थानीय निर्वाचनमा दुवै वडामा एमालेका उम्मेदवार वडाध्यक्ष विजयी बनेका थिए । यो क्षेत्रमा वाम गठबन्धनले ९ हजार ७ सय ४४ मत पाएको थियो भने लोकतान्त्रिकले ७ हजार ८ सय ७१ । लोकतान्त्रिकको भन्दा १ हजार ८ सय ७३ मत बढी वाम गठबन्धनले प्राप्त गरेको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ (ख) मा कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९ र शंखरापुर नगरपालिका पर्छन् । दुवै नगरपालिकामा एमालेका मेयर विजयी भएका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ हजार ७ सय ६४ मत बढी प्राप्त गरेको थियो । यहाँ वाम गठबन्धनले १२ हजार ७ सय ६७ मत पाएको थियो भने लोकतान्त्रिकले ११ हजार ३ मत । 

क्षेत्र नं. ३ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.३ मा काठमाडौं महानगरपालिका वडा नं. ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा नं. १, २, ३ पर्छन् । स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्दा यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल १९ हजार ७ सय ६० मत खसेको थियो । खसेको मतमध्ये लोकतान्त्रिक गठबन्धनले ९ हजार ९ सय ९८ र वाम गठबन्धनले ९ हजार ६ सय २१ मत पाएको थियो । यो क्षेत्रमा लोकतान्त्रिकले वाम गठबन्धनको भन्दा ३ सय ७७ मत बढी ल्याएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (क)मा लोकतान्त्रिक गठबन्धन केही मजबुत देखिन्छ । काठमाडौं महानगरपालिकाको वडा नं. ६ र गोकर्णेश्वर नगरपालिकाको वडा नं. ५ र ९ यो क्षेत्रमा पर्छन् । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिकले वाम गठबन्धनको भन्दा २ सय ५ मत बढी पाएको थियो । लोकतान्त्रिक गठबन्धनले स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ३ हजार ९ सय ५४ मत ल्याएको थियो भने वाम गठबन्धनले ३ हजार ७ सय ४९ । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ३ (ख)मा वाम गठबन्धन केही बलियो देखिएको छ । यो क्षेत्रमा गोकर्णेश्वर नगरपालिका वडा नं. १, २, ३, ४, ६, ७, ८ र कागेश्वरी नगरपालिकाको वडा नं. १, २, ३ पर्छन् । गत स्थानीय निर्वाचनमा यहाँ खसेको मतमध्ये वाम गठबन्धनले ६ हजार ६ सय १६ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ५ हजार ५ सय १६ । लोकतान्त्रिकको भन्दा १ हजार १ सय मत बढी वाम गठबन्धनले पाएको थियो । 

क्षेत्र नं. ४ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.४ मा काठमाडौं महानगरपालिका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा रहेका काठमाडौंका वडामध्ये दुई वटा एमाले र दुई वटामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये आठवटैमा एमाले उम्मेदवार विजयी बनेका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ४५ हजार ३ सय २७ मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले २४ हजार ५ सय २४ र लोकतान्त्रिक गठबन्धनले २० हजार १२ मत पाएका थिए । यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ४ हजार ५ सय १२ मत बढी पाएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (क) मा काठमाडौं महानगरपालिकाको वडा नं. १, ७, ८ र ३० पर्छन् । यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धन केही बलियो देखिन्छ । गएको स्थानीय निर्वाचनमा १ र ७ वडामा एमाले र ८ र ३० मा कांग्रेस उम्मेदवार विजयी बनेका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ८ हजार ८ सय ४१ मत प्राप्त गरेको थियो भने वाम गठबन्धनले ८ हजार १ सय ८७ । वाम गठबन्धनको भन्दा लोकतान्त्रिकले ६ सय ५४ मत बढी पाएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ (ख) मा बूढानिलकण्ठ नगरपालिकाको वडा नं. १, २, ८, ९, १०, ११, १२ र १३ छन् । यी सबै वडामा स्थानीय निर्वाचनमा एमाले उम्मेदवारले जितेका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले १२ हजार ९ सय ६१ र लोकतान्त्रिक गठबन्धनले ७ हजार ४ सय ३६ मत पाएका थियो । लोकतान्त्रिकको भन्दा ५ हजार ५ सय २५ मत बढी वाम गठबन्धनले पाएको थियो । 

क्षेत्र नं. ५ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.५ मा काठमाडौं महानगरपालिका वडा नं. २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिका वडा नं. ३, ४, ५, ६ र ७ र टोखा नगरपालिका वडा नं. २, ३, ४, ५, ६ र ७ रहेका छन् । स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा यो क्षेत्रमा वाम गठबन्धन मजबुत देखिन्छ । यो क्षेत्रमा परेका काठमाडौं महानगरपालिकाको चार मध्ये तीन वटा वडामा स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने एकमा कांग्रेस । टोखा र बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा पनि एमाले उम्मेदवार नै विजय बनेका थिए । स्थानीय निर्वाचनमा यस क्षेत्रमा ४६ हजार २ सय ६७ मत खसेको थियो, जसमध्ये वाम गठबन्धनले २५ हजार ३ सय १८ र लोकतान्त्रिक गठबन्धनले १९ हजार ३ सय ४६ मत पाएका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ५ हजार ९ सय ७२ मत बढी ल्याएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ५ (क) वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा १ हजार ५ सय ७० मत बढी प्राप्त गरेको थियो । स्थानीय निर्वाचनमा वाम गठबन्धनले यो क्षेत्रमा १७ हजार १ सय ४८ मत पाएको थियो भने लोकतान्त्रिकले १२ हजार ७ सय ५० । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं. २, ४ र ५ पर्छन् । यी मध्ये वडा दुई वडामा स्थानीय निर्वाचनमा एमाले र एकमा कांग्रेस उम्मेदवारले जितेका थिए । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ५ (ख) मा काठमाडौं महानगरपालिका वडा नं. ३, बूढानीलकण्ठ नगरपालिका वडा नं. ३, ४, ५, ६, ७ र टोखा नगरपालिका वडा नं. २, ३, ४, ५, ६, ७ पर्छन् । यो क्षेत्रमा पनि वाम गठबन्धन नै मजबुत देखिन्छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले १७ हजार १ सय ४८ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७ सय ५० मत पाएका थिए । 

क्षेत्र नं. ६ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.६ मा काठमाडौं महानगरपालिका वडा नं. २६, २७, २८, तारकेश्वर नगरपालिका वडा नं. १, २, ६, ७, ८, ९, १०, ११ र टोखा नगरपालिका वडा नं. १, ८, ९, १०, ११ रहेका छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा परेका काठमाडौं महानगरपालिका ३ वटा वडा मध्ये २ वटा कांग्रेस र एउटा एमालेले हात पारेका थिए । यस्तै, तारकेश्वर नगरपालिकाको यो क्षेत्रमा समेटिएका ८ वडामध्ये ७ वटामा एमाले र एउटामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन मजबुत देखिन्छ । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ३६ हजार ५ सय ७० मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले १६ हजार १ सय ४१ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७ सय ३१ मत प्राप्त गरेका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार ४ सय १० मत बढी पाएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ६ (क) मा काठमाडौं महानगरपालिकाको वडा नं. २६, २७, २८ र टोखा नगरपालिकाको वडा नं. ९ र १० पर्छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ४ सय ६२ मत बढी ल्याएको थियो । स्थानीय निर्वाचनमा वाम गठबन्धनले ७ हजार ५ सय ३४ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ७ हजार ७२ । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ६ (ख)मा टोखा नगरपालिका वडा नं. १, ८, ११ र तारकेश्वर नगरपालिकाको वडा नं. १, २, ६, ७, ८, ९, १० र ११ पर्छन् । यो क्षेत्रमा पनि वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय निर्वाचनमा यो क्षेत्रबाट वाम गठबन्धनले ८ हजार ६ सय ७ र लोकतान्त्रिकले ५ हजार ६ सय ५९ मत पाएका थिए । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २ हजार ९ सय ४८ मत बढी पाएको देखिन्छ । 

क्षेत्र नं. ७ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.७ मा काठमाडौं महानगरपालिका वडा नं. १६, १७, १८, २५, नागार्जुन नगरपालिका वडा नं. १, २, ३ र तारकेश्वर नगरपालिका वडा नं. ३, ४, ५ रहेका छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा परेका काठमाडौं महानगरपालिकाको वडामध्ये ३ वटामा कांग्रेस र एउटामा एमालेले जितेका थिए । नागार्जुन नगरपालिका तीन वटै वडामा एमालेले जितेको थियो । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ३४ हजार २ सय ७४ मत खसेको थियो, जसमध्ये वाम गठबन्धनले १७ हजार ९ र लोकतान्त्रिक गठबन्धनले १५ हजार ४ सय ६० मत पाएका थिए । वाम गठबन्धनले यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा १ हजार ५ सय ४९ मत पाएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ७ (क)मा काठमाडौं महानगरपालिकाको वडा नं. १६, १७, १८ र २५ पर्छन् ।  स्थानीय निर्वाचनमा यी वडामध्ये १६, १७ र २५ मा कांग्रेसले जितेको थियो भने २५ नम्बर वडामा एमालेले । स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले ४ सय ४८ मत बढी ल्याएको थियो । यहाँ वाम गठबन्धनले १० हजार ९ सय ५६ मत र लोकतान्त्रिक गठबन्धनले १० हजार ५ सय ८ मत प्राप्त गरेका थिए । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ७ (ख)मा नागार्जुन नगरपालिका वडा नं. १, २, ३ र तारकेश्वर नगरपालिका वडा नं. ३, ४, ५ छन् । यो क्षेत्रमा पनि वाम गठबन्धन मजबुत देखिएको छ । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रमा लोकतान्त्रिकको भन्दा १ हजार १ सय १ मत बढी वाम गठबन्धनले ल्याएको थियो । स्थानीय निर्वाचनमा वाम गठबन्धनले ६ हजार ५३ मत पाएको थियो भने लोकतान्त्रिकले ४ हजार ९ सय ५२ । 

क्षेत्र न. ८ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.८ मा  काठमाडौं महानगरपालिकाका वडा नं. १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाको वडा नं. ४, ५ पर्छन् । यो क्षेत्रमा पनि वाम गठबन्धन मजबुत देखिन्छ । स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाका ६ वडामध्ये ४ मा एमाले र दुईमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा यो क्षेत्रमा कुल ३० हजार ९ सय ३० मत खसेको थियो । खसेको मतमध्ये वाम गठबन्धनले १६ हजार ४ सय ९ र लोकतान्त्रिक गठबन्धनले १३ हजार ३ सय ११ पाएका थिए । यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ३ हजार ९८ मत बढी ल्याएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ८ (क)मा काठमाडौं महानगरपालिकाका वडा नं. १३, १९, २०, २३ र २४ छन् । गत स्थानीय निर्वाचनमा यी वडामध्ये १३, २३ र २४ वडामा एमालेले जितेको थियो भने १९ र २० मा कांग्रेसले । वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा यो क्षेत्रमा १ हजार ३ सय ८३ मत बढी ल्याएको थियो । गत स्थानीय निर्वाचनमा यहाँ वाम गठबन्धनले ९ हजार ६ सय ३० र लोकतान्त्रिक गठबन्धनले ८ हजार २ सय ४७ मत पाएका थिए । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ८ (ख) मा काठमाडौं महानगरपालिका वडा नं.१५ र नागार्जुन नगरपालिका वडा नं. ४ र ५ पर्छन् । गएको स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले ६ हजार ७ सय ७९ र लोकतान्त्रिक गठबन्धनले ५ हजार ६४ मत प्राप्त गरेका थिए । लोकतान्त्रिकको भन्दा १ हजार ७ सय १५ मत बढी वाम गठबन्धनले यो क्षेत्रमा पाएको थियो । 

क्षेत्र नं. ९ 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.९ मा काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१, २२, चन्द्रागिरी नगरपालिकाको वडा नं.१, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं. ६, ७, ८, ९, १० छन् । यो क्षेत्रमा पनि वाम गठबन्धन बलियो देखिएको छ । स्थानीय निर्वाचनमा यो क्षेत्रमा परेका काठमाडौं महानगरपालिकाका ४ वटै वडा एमाले उम्मेदवारले जितेका थिए । यस्तै यो क्षेत्रमा परेका नागार्जुन नगरपालिकाको सबै वडामा कांग्रेसले जतेको थियो । निर्वाचनमा यो क्षेत्रमा कुल ३८ हजार ६७ मत खसेको थियो । खसेको मध्ये वाम गठबन्धनले २० हजार ४ सय ६५ र लोकतान्त्रिक गठबन्धनले १६ हजार १ सय ९९ मत पाएका थिए । यो क्षेत्रमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा ४ हजार २ सय ६६ मत बढी ल्याएको थियो । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ९ (क)मा काठमाडौं महानगरपालिकाका वडा नं. १२, १४, २१ र २२ रहेका छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा वाम गठबन्धनले ११ हजार ७ सय ८३ मत पाएको थियो भने लोकतान्त्रिक गठबन्धनले ८ हजार ५ सय ६७ । यो क्षेत्रमा लोकतान्त्रिकभन्दा वाम गठबन्धन ३ हजार २ सय १६ मतले अगाडि थियो । 

यस्तै, काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. ९ (ख) मा चन्द्रागिरी नगरपालिकाका वडा नं.१, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं. ६, ७, ८, ९ र १० पर्छन् । यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले ८ हजार ४ सय ६५ र लोकतान्त्रिक गठबन्धनले  ८ हजार १ सय ९९ मत पाएका थिए । लोकतान्त्रिकको भन्दा वाम गठबन्धनले यो क्षेत्रम मात्र २ सय ६६ मत बढी प्राप्त गरेको थियो । 

क्षेत्र नं. १० 

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.१० मा चन्द्रागिरी नगरपालिकाको वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका छन् । यस क्षेत्रमा समावेश गरिएका चन्द्रागिरी नगरपालिकाका १० वटा वडामध्ये ६ वटामा एमाले, ३ वटामा कांग्रेस र एउटामा माओवादीले जितेका थिए । यस्तै कीर्तिपुर नगरपालिकामा एमालेले जितेको थियो भने दक्षिणकाली नगरपालिकामा कांग्रेसले । काठमाडौं क्षेत्र नं. १० मा गएको स्थानीय निर्वाचनमा कुल २८ हजार ५ सय ९८ मत खसेको थियो, जसमध्ये वाम गठबन्धनले १५ हजार ९ सय १ र लोकतान्त्रिक गठबन्धनले ११ हजार ८ सय १६ मत पाएका थिए । 

काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. १० (क) मा दक्षिणकाली नगरपालिका र कीर्तिपुर नगरपालिका रहेका छन् । गत स्थानीय निर्वाचनमा दक्षिणकालीमा कांग्रेसले र कीर्तिपुरमा एमालेले जितेको थियो । यो क्षेत्रमा स्थानीय निर्वाचनमा वाम गठबन्धनले ६ हजार ७ सय ४९ मत र लोकतान्त्रिक गठबन्धनले ५ हजार १ सय ६६ मत प्राप्त गरेका थिए । 
काठमाडौं प्रदेशसभा निर्वाचन क्षेत्र नं. १० (ख)मा चन्द्रागिरी नगरपालिकाका २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ वडा छन् । गत स्थानीय निर्वाचनमा यो क्षेत्रमा परेका चन्द्रागिरीका १० वटा वडामध्ये ६ वटामा एमाले, एउटामा माओवादी र ३ वटामा कांग्रेसका उम्मेदवारले जितेका थिए । यो क्षेत्रमा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले लोकतान्त्रिकको भन्दा २ हजार ५ सय २ मत बढी ल्याएको थियो । यहाँ वाम गठबन्धनले ९ हजार १ सय ५२ र लोकतान्त्रिक गठबन्धनले ६ हजार ६ सय ५० मत प्राप्त गरेका थिए। 

प्रकाशित: २२ कार्तिक २०७४ ०२:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App