जीवन यात्रा

जसले सहिद गेट बनाए...

मङ्गलबार, २१ कार्तिक २०७४, ११ : ३१ विश्वमणि पोखरेल

घरको बैठक कक्षमा पस्नासाथ यो कुनै चित्रकारको घर हो भन्ने अनुभव हुन्छ । जताततै क्यानभास, विस्तारित कक्षको एउटा रङका बट्टाहरू र कूची । ठूलो बैठक कक्षका भित्तामा क्याभास अनि स्टिलका दराजहरूमा नक्साको खात छ, धर्मग्रन्थ, दर्शनका किताबहरू छन्  । यिनै कृतिहरूबीच ८० वसन्त पार गरिसकेको एउटा व्यक्तित्व छ । बाहिरी दुनियाँमा खास गरेर नेपालको मुर्धन्य आर्टिटेक्ट इन्जिनियर भनेर कहलिएको व्यक्तित्व जसको औपचारिक अध्ययन सिभिल इन्जिनियरिङ हो, युवा अवस्था जागिरको क्रममा लैनसिंह वाङदेलको प्रेरणा र संगतबाट स्वअध्ययनबाट जागेको चित्रकारको व्यक्तित्व । उनैलाई प्रश्न गरियो, तपाईं खासमा के हो, इन्जिनियर, शिल्प कलाकार (आर्टिटेक्ट) वा चित्रकार ? उत्तर यस्तो थियो, ‘मेरो हजुरबुबाले मलाई दिनु भएको नाम शंकरनाथ रिमाल हो, म त्यही हो । खासमा एउटा पात्र हुँ म ।’ आफूलाई शंकरनाथ एउटा पात्रको रूपमा अथ्र्याउन खोज्ने शंकरका लीला भने थुप्रै छन् ।
सहिद गेटको डिजाइनबाट सुरू भएको उनको इन्जिनियरिङ करिअरमा उनले सोल्टी होटल, नेपाल प्रज्ञा प्रतिष्ठान, जनकपुर चुरोट कारखाना, महेन्द्र मन्जिल, लुम्बिनी चक्र, उन्मत्त भैरव मन्दिर लगायतका सयौँ भौतिक र धार्मिक धरोहर डिजाइन कोरेका छन् । पछिल्लो डिजाइन चन्द्रागिरी केबलकार आयोजनाको सिरानमा रहेको भालेश्वर मन्दिर । अहिले ८१ वर्षको उमेरमा श्रीयन्त्रका रेखाहरू कोरेर श्रीयन्त्रका विभिन्न आकारहरूको सृजनामा जुटेका छन् उनी । ‘कतिपय मानिस र पश्चिमाहरू साँच्चिकै श्रीयन्त्र रेखाङ्कन गर्न सकिँदैन भन्छन्, म साँच्चिकै श्रीयन्त्र कोर्न सकिन्छ भनेर प्रमाणित गर्न लागि परेको छु,’ रिमाल यो उमेरमा छिरेको सनकबारे बताउँदै भन्छन्, ‘पुस्तकमा ६० वटा चित्र राख्ने कि १५९ प्रकारका राख्ने अहिलेसम्म निधो गर्न सकेको छैन ।’
नेपालको झण्डाको आकार ३ः४ को अनन्त तुलनामा हुनुपर्दछ भनेर झण्डाको मापदण्ड बनाउने रिमालको जीवनयात्रा भौतिक निर्माणले छरपस्ट छन्, क्यानभासहरूमा सृजना पोखेका छन् र अहिलेसम्म पनि उत्तिकै सक्रिय देखिन्छन् । नेपालको सविधान २०१९ मा रिमालले कोरेको झण्डाको आकार प्रकारको मापदण्डलाई मान्यता दिइएको थियो, जो अहिलेसम्म मान्य छ । २०१९ सालमा संविधान संशोधन गर्ने बेला संशोधन समितिका सदस्य कृष्णप्रसाद पन्त र बलराम जोशीले झण्डाको स्ट्यान्डर्ड बनाउन आग्रह गरेपछि मापदण्ड बनाएको उनको कथन । ‘त्यसअघि लम्बाई, चौडाइको तुलना नमिलाई जथाभावी झण्डा बनाइन्थ्यो,’ रिमालले भने, ‘मैले ३ इकाई चौडा र ४ इकाई लामो रेक्टेङ्गलभित्र झण्डाका भुजाहरू रहने डिजाइन दिएको हो, त्यो मान्य भयो, अहिलेसम्म चल्तीमा छ ।’  
‘विचारहरू आउँछन्, लेख्ने, पढ्ने इच्छा अझै छ,’ शंकर भन्छन्, ‘पहिला जस्तो छैन, यताउता हुन्छ, सोचेका कुरा बिथोलिन्छन्, अलिअलि काम गर्दैछु, कतिवटा नक्सा काम लागे, कति वटा लागेकै छैनन् ।’ उनले डिजाइन गरेको एउटा संरचना हो, वीरेन्द्र कला संग्रहालय ।
शिक्षादीक्षा
हजुरबुबा कविराज सरदार शिवनाथ रिमाल आफ्नो जमानामा कहलिएका कविराज थिए । बाबु देवेन्द्र उनी  २ वर्ष हुँदै मृत्यु भएपछि हजुरबुबा र आमा सीतादेवीको काखमा हुर्किएका शंकरले सानै उमेरदेखि पढ्ने लेख्ने वातावरण पाएका थिए । ‘उहाँको ठूलो ख्याति थियो, त्यसबेलाको समाजमा । दिनहुँ २ पटकसम्म सिंहदरबार जानुपथ्र्यो श्री ३ मोहन शम्सेरको दरबारमा,’ शंकरनाथले भने, ‘घरमा सधैँजसो मानिसहरूको धुइँचो भैरहन्थ्यो । हजरबुबालाई भेट्न मानिसहरू आइरहन्थे ।’ त्यसबेला कतै कसैले केही प्रकाशित ग¥यो भने त्यो रिमाल निवासमा आइपुग्थ्यो । शंकरकी आमा सीतादेवी दाङका सुसंस्कृत घिमिरे परिवारकी छोरी थिइन् ।  ‘बाल्यकालदेखि नै धर्म, संस्कृति र साहित्यको माहोलमा हुर्किएकी र यता घरमा पनि त्यस्तै वातावरण भएकाले अरूले पढेको लेखेको देखेर नै पढ्न लेख्न सक्ने हुनुहुन्थ्यो,’ रिमालले भने, ‘आमाले स्वअध्ययनबाट पाएको शिक्षादीक्षाकै भरमा रामायण पुस्तकसमेत लेख्नु भएको छ ।’ सीतादेवीले २०६२ सालमा वाल्मीकि रामायणको संक्षिप्त नेपाली रुपान्तरण प्रकाशनमा ल्याएकी थिइन् ।
 रिमालकी श्रीमती शशि रिमाल, काग्रेसको महिला संघको राजनीतिमा आवद्ध साहित्य साधक हुन्, छोरा सुरजनाथ रिमाल अमेरिकामा बस्छन्, कान्छो  प्रेमनाथ रिमाल यहीँ बिजनेस गर्छन्, बुहारी रुजु रिमाल गृहिणी हुन् । छोरी इडा रिमाल उपाध्याय, ज्वाई डा. अवनिभूषण उपाध्याय कहलिएका मुटुरोग विशेषज्ञ हुन् । छोरा छोरी दुवैतर्फ गरेर २ नाति ५ नातिना गरेर ७ नातिनातिना छन् ।

बाल्यकालमा शिक्षादीक्षाको वातावरण हुर्किएका शंकरनाथलाई हजुरबुबा संस्कृत अध्ययन गरोस् भन्ने चाहना थियो । त्यहीअनुसार उनले १९९६–९७ सालमा दुई वर्ष जति संस्कृत पढे । नेपाली समाजमा त्यसबेला राजनीतिक, सामाजिक गतिविधिहरू सुरु भैसकेको समय थियो र अंग्रेजी शिक्षाको प्रचार सुरु भैसकेको थियो । परिवारको जेठो नाति शंकर, उनका भाइ गौरी र दुर्गा पछि सबै जना अंग्रेजी शिक्षा पढ्न थाले । एक हिसाबले त्यस बेलाको सामाजिक परिवर्तनको भेउ पाएर नै नातिहरुलाई अंग्रेजी पढाएका थिए । दरबार हाई स्कुलमा सर्वसाधारणका छोराछोरी पढ्न पाउने व्यवस्था भए पनि शिवनाथले नातिहरूलाई बाहिर निस्किएर पढ्न दिएनन् । नेपालमा अंग्रेजी शिक्षा प्रवेश गराउने उप्रेती खलकका आत्माराम उप्रेतीलाई मास्टर राखेर नातिहरू पढाउने व्यवस्था मिलाएका थिए शिवनाथले । त्यसबेलाको राज्यसत्तासँग राम्रो पहुँच भएका शिवनाथले घरमै पढाएका नातिहरूको वार्षिक परीक्षा भने दरबार स्कुलबाट दिलाउँथे । ‘हामीलाई घरमै पढाइन्थो, घरमै अर्धवार्षिक परीक्षा लिइन्थ्यो, वार्षिक परीक्षा भने दरबार स्कूलमा गएर दिनुपथ्र्यो,’ रिमाल भन्छन्, ‘यसरी कक्षा उक्लँदै हामी तीनै भाइ नौ कक्षा पुगेपछि मात्र दरबार स्कुल जान थालेका हौँ । त्यसपछि त्यहीँ पढ्यौँ र म्याट्रिक जाँच दियौँ ।’ त्यसबेलाको राजनीतिक र सामाजिक माहोलमा नाति बिग्रन्छन् भन्ने भयले शिवनाथले घरमै शिक्षा दिएको हुनसक्ने आँकलन रिमालको छ ।


दरबार स्कुलबाट उनले २००६ सालमा म्याट्रिक जाँच दिए । त्यसबेला एसएलसी पास गर्नेहरूले सिंहदरबारमा मोहन सम्सेरलाई दाम राखेर स्वास्ती गर्नुपर्दथ्यो । एसएलसी पास भएकाहरूलाई अमरेन्द्र बसु प्रधान अध्यापकले सिंहदरबार लिएर जानु भयो, हामीले दाम राखेर स्वास्ती गरेर फर्किए ।

त्यसबेला  २००७ सालको आन्दोलनको चहलपहल थियो । जसै दिल्ली निर्वासनबाट त्रिभुवन सपरिवार काठमाडौँ फर्किए, सानो गौचरनमा डकोटा जहाजबाट राजा र अन्य परिवार ओर्लिएको दृश्य उनले बिर्सिएका छैनन् । ‘डकोटा जहाजबाट त्रिभुवन ओर्लिएपछि मोहन सम्सेरले सुरूमा रिसिभ गरेका थिए । हामी त्रिचन्द्रमा अध्ययनरत विद्यार्थीलाई राजालाई स्वागत गर्न पहिलो लहरमा राखिएको थियो । मोहन सम्मेर हाम्रो अगाडिबाट राजालाई लिएर आउँदा हामीले नारा लगायौं– राजा त्रिभुवन जिन्दावाद, मोहन सम्सेर मुर्दावाद ।’
‘त्रिचन्द्रबाट आइएस्सी गरेपछि कोलम्बो प्लानअन्तर्गत हामी तिनै भाइले स्कलरसिप पायौं,’ उनले भने, ‘म र माइलो भाइ गौरीनाथले बंगाल युनिभर्सिटीको इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी, शिवपुर कलकत्ताबाट सिभिल इन्जिनियरिङ ग¥यौँ । कान्छो भाइ दुर्गानाथले बिहारको धनवादस्थित इन्डियन स्कुल अफ जियोलोजी एन्ड माइनिङबाट भूगर्भशास्त्र अध्ययन गरे ।’ दोस्रो विश्वयुद्ध सकिएपछिको विश्व परिवेशमा नेपालजस्ता देशहरूलाई प्राविधिक जनशक्ति चाहिन्छ भन्ने उद्देश्यले कोलम्बो प्लान स्थापना भएको र त्यसमा अमेरिकाले धेरै पैसा राखिदिएको रिमालको बुझाइ छ । ‘त्यसबेला आइएस्सी पास हुने सबैजसोले  डाक्टर, इन्जिनियरिङ लगायतका प्राविधिक विषयमा स्कलरसिप पाएको हुनुपर्छ,’ रिमाल भन्छन्, ‘त्यसबेला पूर्वाधार विकासका लागि जनशक्ति तयार गर्नुपर्छ भन्ने भावना थियो ।’
जागिर र कन्सल्टेन्सी
भारतबाट इन्जिनियरिङ गरेर नेपाल फर्किएको समयमा नेपालमा मोहन सम्सेर नेतृत्वको राणा कांग्रेस सरकार हटेर टंकप्रसाद आचार्य प्रधानमन्त्री थिए । शंकरनाथ दाजुभाइहरु प्रधानमन्त्री आचार्यका नातेदारसमेत थिए । उनीहरु प्रधानमन्त्रीसँगको भेटपछि अस्थायी जागिर लागे । त्यो बेला इन्जिनियरहरू धेरै कम थिए । शंकरनाथले त्यसबेलाको सेन्टर फर इन्जिनियरिङ एन्ड मेन्टेनेन्स डिपार्टमेन्टअन्तर्गत सर्वोच्च अदालतको निर्माणमा लागिपरेको उनी बताउँछन् । भाइ गौरीले सडक अड्डातिर काम गरे भने दुर्गा खानी विभागमा नियुक्त भएको रिमाल बताउँछन् ।  सर्वोच्चको निर्माणपछि उनले पूर्वी पहाडको भौतिक अवस्थाको अवलोकन गर्ने काम पारे । राजा महेन्द्रले पूर्वी नेपालको भ्रमण गर्दा ठाउँठाउँमा बाटो, घाटो, पुल, खानेपानीजस्ता पूर्वाधार मागेको र उनले आश्वासन दिँदै हिँडेको अवस्थामा इन्जिनियररिङ रिपोर्ट दिनु थियो । ‘त्यसबेला बाटोमा हिँड्दाहिँड्दै अन्दाजमा बजेट दिने भनिएको रहेछ,’ रिमाल भन्छन्, ‘बाटो नभएको ठाउँमा पुल स्वीकृत भएकोसमेत पाइयो ।’ राजा महेन्द्रले जहाँ–जहाँ भ्रमण गरेका थिए, त्यहीँ–त्यहीँ रिमाल, सेनाका एक जना मेजर, एक जना एकाउन्टटेन्ट, सहायक कर्मचारीको टोलीले अवलोक भ्रमण गरेको थियो । ‘हामीले ३/४ महिना लगाएर राजा गएका सबै ठाउँ पुग्यौं र त्यही अनुसारको प्रतिवेदन दियौँ,’ रिमाल भन्छन्, ‘पछि हाम्रो प्रतिवेदनअनुसार निकासा हुनथाल्यो ।’
अहिलेको दशरथ रंगशालालाई सानो टुँडिखेल भनिन्थ्यो । त्यहाँ प्रदर्शनी चलिरहेका सामग्रीको वर्णन गरिरहेका शंकरनाथलाई इंगित गर्दै राजा महेन्द्रलाई कसैले कविराज बाजेका छोरा भनेर चिनाइदिए । राजा महेन्द्रले तत्काल भने, ‘म बोलाउँछु, आउँनू ।’ पछि उनी दरबार गए । राजा महेन्द्रले भने, ‘मलाई एउटा स्मारक बनाउने इच्छा छ । डिजाइन बनाएर पेश गर्नू ।’ रिमालले त्यसबेला ८÷९ वटा नक्सा कोरेर पेस गरे । एउटा स्वीकृत भयो । अहिले सहिद गेटको नामले चिनिने त्यो संरचनाको औपचारिक नाम भने नेपाल स्मारक हो । नेपाल स्मारकको डिजाइन गर्दा त्यहाँबाट हात्तीमा राजा चढेर हिँड्न मिल्ने र सडक तीन लेनको डिजाइन गरिएको थियो । यो डिजाइन सकिएपछि शंकर जर्मन सरकारको फेलोसिप प्राप्त गरी इन्जिनियरिङ विद्या तिखार्न जर्मनी गए । आफ्नै भाइ गौरीले सहिद गेटको बाँकी काम जिम्मा पाए । सुरुमा २५ हजार खर्च लाग्ने अनुमान गरिएको स्मारक सम्पन्न हुँदा १ लाख २५ हजार पुगेको थियो । २०१८ साल वैशाख १ गते नेपाल स्मारक उद्घाटन हुँदा राजाले शंकरलाई स्मरण मात्र गरेनन्, उनलाई एक हजार र निर्माणका खट्ने गौरीलाई दुई हजार रुपैयाँ पुरस्कारसमेत दिएको रिमाल सम्झन्छन् ।
जर्मनीमा दुई वर्ष अध्ययन गरेर उनी नेपाल फर्किए । त्यसपछि उनलाई भवन विभागबाट काजमा दरबार सरुवा गरियो । नारायणहिटी दरबार निर्माणका इन्जिनीयरको भूमिका निर्वाह गर्न । जर्मनीमा रहेकै बेला कांग्रेसको सरकारले सबै इन्जिनियरहरूलाई एक तह प्रमोसन गरिएको थियो । कांग्रेस सरकार अपदस्थ भएपछि प्रमोसन रोकियो । ‘मलाई कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको ज्वाइँ भनेर पद घटाएको बताउँथे, मेरो सम्बन्ध त्यस्तो होइन ।’ बढुवा भएको पदबाट तल झारेपछि रिमालले राजिनामा गरे तर त्यो राजीनामा स्वीकृत भएन । उनी दरबारमा काजमा काम गर्दागर्दे  १० वर्ष त्यहीँ बित्यो । राजाले दरबारकै जागिरे हुनु भनेको कुरा पनि आफूले अस्वीकार गरेको बताए । यता राजीनामा गरेको त उता जागिर खान पो रहेछ भन्ने अर्थ लगाउँछन् भनेर दरबारको जागिर नखाएको रिमालको कथन छ । राजदरबारको डिजाइन विदेशी कम्पनीले गरेको भए पनि भित्रको महेन्द्र मञ्जिलको डिजाइन रिमालले गरेका हुन् । ‘राजा महेन्द्र मन्जिलमै बसे, दरबारमा वीरेन्द्र बस्ने हो भन्थे, एक दिन पनि त्यहाँ बसेनन्,’ रिमाल सम्झन्छन् । दरबार निर्माणको काम सम्पन्न भएर विभाग फर्कंदा राजिनामा स्वीकृत भएको थिएन, तलब मात्र रोकिएको जानकारी दिँदै रिमालले भने, ‘दरबारलाई भनेर राजिनामा स्वीकृत गराएँ र १० वर्षको एकमुष्ठ तलब पनि लिएँ । त्यसबेला त्यही ६०/७० हजार रुपैयाँ थियो । त्यसबेला इन्जिनियरको तलब त्यही ३/४ सय त थियो !’
राजा महेन्द्रका बारे रिमालको आफ्नै बुझाइ छ । ‘उनका गुण पनि छन्, बैगुन पनि छन्,’ रिमाल भन्छन्, ‘२०१७ सालको काण्ड किन गरे, कसको इशारामा गरे मैले अहिलेसम्म पनि बुझ्न सकेको छैन ।’ जर्मनीबाट फर्किएपछि दरबारको जागिरसँगै उनको निजी कन्सल्टेन्सी जमिसकेको थियो । उनले २०१९ मै शंकर एन्ड रिमाल इन्जिनियरिङ एन्ड आर्किटेक्ट कम्पनी खोलेका थिए । ‘बिहान बेलुका निजी कन्सल्टेन्सीबाट आम्दानी हुन्थ्यो, त्यसको नाममा मैले धेरै काम गरेँ, अहिले कम्पनीलाई कल्सल्टेन्सीमा परिवर्तन गरेर काम गर्दैछु ।’
राजा महेन्द्रको आदेशमा प्रज्ञा प्रतिष्ठान, राजाका छोरीहरूका आवास लगायतका संरचनाको डिजाइन मात्र गरेनन्, रिमाल ती संरचनाको निर्माणमा संलग्न रहे । प्रज्ञा प्रतिष्ठान निर्माणकै क्रममा लैनसिंह वाङ्देलको प्रेरणाले चित्रकारितामा लागेका रिमालको अर्को व्यक्तित्व चित्रकार पनि हो । उनले स्वदेश र विदेशमा गरेर दर्जन बढी चित्रकला प्रदर्शनी गरेका छन् । आफूलाई स्वअध्ययनबाट बनेको आर्टिस्ट भन्न रुचाउने रिमाल लैनसिंह वाङ्देलले प्रतिष्ठान निर्माणका बेला सिकाएको बताउँछन् । आफ्नो डिजाइनअनुुसार प्रतिष्ठान निर्माण भएको रिमाल त्यसबेला राजाले मन फुकाएर बजेट दिएको बताउँछन् । त्यसबेलाका उपकुलपति बालचन्द्र शर्माले आफूलाई राम्रो डिजाइन गर्न भनेको र डिजाइनअनुसार राजाबाट बजेट निकासा गराउन सकेको उनी बताउँछन् । उनले डिजाइन गरेको एउटा कुरा भने काटियो । त्यो हो प्रज्ञाको पछाडि प्राङ्गगणमा प्रस्तावित ओपन थिएटर । ‘सुरुमा २५ लाखको बजेट छुट्याएकोमा १ करोड दिन सहमत हुने राजाले ५ लाख अनुमानित बजेटको ओपन थियटर काटेका थिए । रिमालको विश्लेषण छ— ‘नेपाली समाजमा मागे जति दिनुहुन्न भन्ने मान्यता छ, त्यही भएर होला ।’
नेपाली समाज
जर्मनीमा अध्ययन तालिम सकिएपछि उनले  हवाई जहाजबाट नभएर स्थलमार्ग हुँदै नेपाल फर्कने इच्छा व्यक्त गरेपछि जर्मन सरकारले त्यसैगरी व्यवस्था मिलाइदिएको रिमालले बताए । फर्कने क्रममा पानी जहाजबाट इटाली, इजिप्ट, मलेसिया, सिंगापुर, बैंकक, मलेसियाजस्ता अहिलेका चर्चित व्यापारिक सहरहरू अवलोकन गरेको अनुभव रिमालसँग छ । ‘मलेसिया गाउँजस्तै थियो, सिंगापुर त्यस क्षेत्रको व्यापारिक केन्द्र जस्तै भए पनि भैतिक पूर्वाधार थिएनन् । काठमाडौंको असन इन्द्रचोकजस्तै थियो सिंगापुर,’ रिमाल भन्छन्, ‘सिंगापुरबाट बैंकक जाँदा बैंकक ठुलो सहर भए पनि खासै विकास भएको थिएन । झण्डै झण्डै गाउँबाट सहर बन्न लागेको जस्तो थियो बैंकक ।’ सन् ५० को दसकका मलेसिया, सिंगापुर, बैंकक सन् १९७४ मा आमूल परिवर्तन भएको अनुभव सुनाउँछन् रिमाल । ‘उनीहरूले पत्याउन नसकिने खालको भौतिक विकास र व्यापार गरेका रहेछन्,’ रिमालले भने, ‘हामी भने अगाडि बढ्न सकेनौँ ।’
किन यस्तो अवस्था त ? रिमाल भन्छन्, ‘हामीले एक्पोजर नै पाएनौँ । हामीसँग पर्याप्त स्रोतसाधन पनि भएन ।’ नेपालले आफूले पनि गर्न नसक्ने र अरू बाहिरियाहरूलाई अवसर नदिने प्रवृत्ति रहेको चर्चा गर्दै रिमाल भन्छन्, ‘अरूको अधिनमा कहिल्यै नबसेका थाइल्यान्डका राजाहरूले मन्त्री पनि विदेशी राख्थे । दोस्रो विश्वयुद्धको बेला अमेरिकी सेना राख्ने अनुमति दिएपछि त्यहाँ अमेरिकाको ठूलो चासो रह्यो, विकास भयो, बजार विस्तार अमेरिकासम्म भयो ।’ हामीकहाँ काम गर्न पनि अनकौँ बाधा छन्, हाम्रो भूगोल विकट छ, भौतिक पूर्वाधारको कमी छ र सबैभन्दा महत्वपूर्ण राजनीतिक स्थायित्व छैन ।’ नेपाली समाजमा भिजनको अभाव रहेको बुझाइ रिमालको छ । ‘नेपालीलाई आफ्नो मुलुकप्रति माया छैन भन्न त मिल्दैन तर मुलुकप्रति विचार गर्ने, मुलुकको विकास गर्नुपर्छ भन्ने सोचमा कमी छ,’ रिमाल भन्छन्, ‘हामीकहाँ अध्ययनको कमी छ, आजको आजै सबैथोक चाहिन्छ भन्ने मनोवृत्तिले घर गरेको छ । संयम, धैर्य भन्ने कुरा देखिँदैन ।’
वीरेन्द्रका कारण बौद्धिक पलायन
राजा महेन्द्रबाट प्रोत्सापन पाएर त्यसबेलाका महत्वपूर्ण भौतिक संरचनामा पेन्सिल र स्केल चलाएका रिमालको विश्लेषणमा वीरेन्द्र शासनमा आएपछि एकपछि अर्को गर्दै मुलुकबाट इन्जिनियर, डाक्टर लगायतका विभिन्न विधाका ज्ञाता पलायन भएका हुन् । त्यसैबेलादेखि बौद्धिक पलायन सुरू भएको र त्यो अहिलेसम्म पनि नरोकिएको रिमालले बताए । ‘महेन्द्रमा नेपाली प्राविधिकहरूले काम गरून्, उनीहरूकै डिजाइन चलाउनु पर्छ भन्ने भावना थियो,’ रिमालले भने, ‘वीरेन्द्र सत्तामा आएपछि विदेशीले धमाधम काम पाए, नेपाली पन्छाइए र पलायन भए ।’ सामान्य बुझाइमा वीरेन्द्र पपुलर राजा भनिए पनि उनमा भविष्य हेर्ने सोचको कमी रहेको रिमालको विश्लेषण छ । ‘वीरेन्द्रको पालामा राम्रा काम भएनन्, प्राविधिकहरूले काम पाएनन्,’ रिमाल भन्छन्, ‘लहरो तानेजस्तै एउटापछि अर्को गर्दागर्दै ठूलो संख्यामा बौद्धिक पलायन भयो । जुन अहिले पनि जारी छ, रोकिने देखिँदैन ।’
घर बनाउन खाल्डो
रिमालको निवास नक्साल नारायणचौर हो । अहिले नारायणचौरमा अग्ला भवन छन् । रिमालको फराकिलो घर भने दुई तलाको मात्र छ ।  रहरले नभएर बाध्यतावश दुई तलाको घर बनाउनु परेको कथा सुनाउँछन् रिमाल । नारायणचौर राजदरबारको नजिकै ३०० फिटको दुरीमा पर्ने भएकाले पञ्चायत कालमा त्यहाँका बासिन्दाले १५ फिटभन्दा अग्लो घर निर्माण गर्न पाउँदैनथे । त्यही मेसोमा परे एक दशकसम्म राजदरबार बनाउन खटिएका र राजा महेन्द्रका मनपर्ने इन्जिनियर । दरबारलाई भनेर घरको अग्लाई बढाउन आफन्नजनले दिएको सुझाव उनले स्वीकारेनन् । बरु, घर बनाउने क्षेत्रको माटो करिव ३ फिट निकालेर जग हालेको उनी बताउँछन् । ‘३ फिट माटो निकाले पनि वरिपरिको सतहभन्दा होचो भयो,’ रिमालले भने, ‘त्यसपछि तल्लो तला ७ फिट उचाइ र माथिल्लो तला ९ फिट उचाइको बनाएको हो ।’ आफ्ना पुर्खाले बनाएको ३० फिट अग्लो घरको समीपमा रिमालको १६ फिटे घर छ । ‘पञ्चायतकालीन नियमकै कारण दुई तलामा सबै परिवारलाई पुग्नेगरी फराकिलो जग बनाएको हो,’ रिमाल भन्छन्, ‘मेरो चाहना त ठिक्कको जग राखेर माथिमाथि लैजाने थियो, तर नियमले दिएन ।’
अरूण तेस्रोको अवशान
बहुप्रचारित अरुण तेस्रो जलविद्युत आयोजनाको अवशानकै कारण मुलुकले लामो सयमसम्म लोडसेडिङ झेल्नु परेको बताउँछन् रिमाल । अरुण तेस्रो एमाले नेतृत्वको सरकार र खासगरी उपप्रधानमन्त्री माधवकुमार नेपालको औपचारिक पत्रका कारण अवशान भएको अन्तर्कथा रिमालले बताए । एमाले अल्पमत सरकारको पालामा रिमाल योजना आयोगका सदस्य थिए । योजना आयोगलाई एमालेका नेताहरूबाट पटक–पटक अरुण आयोजना चाहिँदैन भन्दै विश्व बैंकलाई पत्राचार गर्न एक किसिमको दबाब दिन्थे । विगत सम्झदै रिमाल भन्छन्, ‘आयोगको बैठकमै विश्व बैंकलाई अरुण चाहिँदैन भनेर निर्णय गर्न प्रस्ताव आएका थिए, हामी आयोगका सदस्यहरूले छलफल गरेर नेपालका लागि अरुण आवश्यक छ भन्ने अडान लियौं ।’ आयोगमा दुई पटक त्यस्तो प्रस्ताव आएको तर पास नभएको रिमालले बताए । ‘त्यसबेलासम्म विकास निर्माणको काममा आयोगको परामर्श लिने काम हुन्थ्यो,’ रिमालले भने, ‘आयोगले अरुण चाहिँदैन भनेर निर्णय नगरेपछि त्यसबेलाका उपप्रधानमन्त्री माधवकुमार नेपाल आफैँले विश्व बैंकलाई पत्र लेख्दै अरुण चाहिँदैन भनेछन्, विश्व बैंकले हात झिक्यो ।’
विश्व बैंकले हात नझिकेको अवस्थामा अरुण निर्माण हुन्थ्यो त ? ‘यसै भन्न सकिने अवस्था थिएन, धेरै खालका देशी विदेशी अवरोध र कमिसनका कुरा थिए,’ रिमालले भने, ‘हाम्रा आफ्नैले चाहिँदैन भनेपछि अरु कसलाई दोष दिने ? शत्रुले भन्नुपर्ने कुरा हामी आफैँले भन्यौँ ।’ अरुण आयोजना बन्न सकेको थियो भने नेपालले लोडसेडिङ समस्या झेल्नु नपर्ने अवस्था आँकलन गर्दे रिमाल भन्छन्, ‘आयोजना बन्दछ भनेर पूर्वी नेपालमा जागेको उत्साह र जागरण तथा उद्यमशील मनहरू एकै पटक घराशायी भए । एमालेले अरुण आयोजनामा ठूलो कमिसनको खेल छ भन्ने विश्वासमा त्यसको विरोध गरेको बुझाइ रिमालको छ । ‘यहाँको विकासका काममा कमिसन एजेन्टको पनि भूमिका हुन्छ,’ रिमालले भने, ‘अरुणबाट विश्व बैंकले हात झिकेको भोलिपल्टदेखि नै एसियाली विकास बैंकका अधिकारीहरू नेपाललाई ऋण दिने पक्षमा हिँडेका थिए, त्यसकै फलस्वरुप एडिबिको लगानीमा कालिगण्डकी आयोजना बनेको हो ।’
रेल्वे राम्रो विकल्प
२०६० सालतिर आ–आफ्नो क्षेत्रमा कहलिएका इन्जिनियर रिमाल, वीरेन्द्र केशरी पोखरेल, भूगर्भशास्त्री कस्तुभमणि नेपाल, राजनीतिज्ञ बद्रीप्रसाद खतिवडा तथा सुधीर शर्मा, रणबहादुर शाहले राजधानीलाई मध्य तराई हुँदै भारतको रक्सोलसम्म जोड्ने उपयुक्त विकल्पका रुपमा रेल सेवाको सम्भावना खोज्न थाल्यो । त्यस बेला फास्टट्र्याकको सामान्य चर्चा पनि भइरहेको थियो । ‘हामीले पैदल हिँडेर सर्भेक्षण ग¥यौँ, तथ्यतथ्याङ्कहरू खोज्यौँ, आर्थिक नाफाघाटाका कुराहरू समेत राखेर त्यसबेलाको भौतिक योजना मन्त्रालयमा प्रतिवेदन दियौं,’ रिमालले भने, ‘हाम्रो प्रतिवेदन त्यत्तिकै थन्क्याइयो, धन्यवादसम्म दिएनन् र महँगो तथा आर्थिक लाभहानिका हिसाबले घातक फास्ट ट्र्याकलाई अगाडि बढाइयो ।’ फास्ट ट्र्याकभन्दा कस्ट बेनिफिटको हिसाबले रेल्वे राम्रो विकल्प भन्ने प्रतिवेदन सरकारलाई दिएको जानकारी दिँदै रिमाल भन्छन्, ‘मन्त्रालयका मानिसमा हामी सडकको काम गर्ने हौं, रेल्वेको होइन भन्ने धारणा छ ।’ त्यही धारणाका कारण महँगो योजनामा नेपाल फँसेको रिमालको बुझाइ छ । ‘रेल्वेको इन्जिन, डब्बाहरू एक पटक बनाएपछि वर्षौं चल्छन्, रेलले एक पटकमा १०००— १५०० मानिस ओसारपसार गर्नसक्छ, बिजुलीबाट चल्नसक्छ,’ रिमाल भन्छन्, ‘हजार जना यात्रु बोक्न कतिवटा गाडी चाहिन्छ ? कति इन्जिन लाग्छ ? त्यही हिसाबले टायर, ट्युब र धेरै गाडी चलाउन लाग्ने जनशक्तिको हिसाब खै ?’ फास्ट ट्र्याक नेपालीका लागि बोझ हुने र त्यसले ठूलो आर्थिक क्षति गर्ने विश्लेषण रिमालको छ । उनको प्रश्न छ– फास्ट ट्र्याक नै आवश्यक छ भने निर्र्माणमा धिमा गति किन ?
खै मास्टर प्लान ?
एउटा आर्किटेक्ट र चित्रकारको आँखामा काठमाडौँ कस्तो सहर हो ? प्रश्न गर्ने बित्तिकैको सटीक उत्तर दिए रिमालले, ‘पहिला जति राम्रो थियो, आजकल त्यत्तिकै नराम्रो ।’ योजनाविहीन ढंगले काठमाडौंमा काम भैरहेको उनी बताउँछन् । ‘सडक चौडा बनाएर मात्र सहरको ट्राफिक समस्या समाधान हुँदैन भनेर त सन् १९३४ मा न्युयोर्ककै उदाहरण थियो,’ रिमालले भने, ‘हामी करिव ४० वर्ष अगाडि फेल भएको योजनाको पछि लाग्यौं, ट्राफिक समस्या त जहाँको त्यहीँ छ, सडक चौडा भएपछि खै घटेको ?’

 








यसमा तपाईको मत

अन्य समाचार

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

आइएमईमा डबलको डबलको डबल अफर

आइएमईमा डबलको डबलको डबल अफर

सेवाग्राहीद्वय सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको पुष्पलालचोकमा

सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलालचोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर नगरपालिकाका नगर प्रमुख भिम पराजुलीले...

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरुकोे महान पर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरुलाई दिपावलीको शुभकामना व्यक्त गर्दै “यो तिहार शिवमको"  साथमा, चाँदीको...

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालनले उठायो ग्रामीण महिलालाई

बाख्रापालन सुरु गरेपछि क्रमिक रुपमा आम्दानी हुँदै गयो । खर्च कटाएर एक वर्षमा रु तीन लाख जति आम्दानी भएपछि यतिखेर...

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मनहरीमा दुई अर्ब लागतको कागज उद्योग

मकवानपुरको मनहरीमा प्रदेश नं ३ सरकारले दुई अर्ब रुपैयाँ लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । ...

सुनको मूल्य सय रुपैयाँ घट्यो

सुनको मूल्य सय रुपैयाँ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । ...

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयरको नयाँ हेलिकप्टरबाट उडान सुरु

मनाङ एयर प्रालिले खरिद गरेको नयाँ हेलिकप्टरले व्यावसायिक उडान सुरु गरेको छ । ...

Ncell Footer Ad