७ वैशाख २०८१ शुक्रबार
कला

‘ह्याप्पी डेज’को ‘खाली खाली’

काठमाडौं- आगामी माघ १२ गतेलाई रिलिज मिति घोषणा गर्दै फिल्म ‘ह्याप्पी डेज’को दुई गीत सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच नायिका प्रियंका कार्की र नायक सञ्जय गुप्ताले फिचरिङ ‘खाली खाली’ र नायक दयाहाङ राई र प्रियंकाले फिचरिङ गीत सार्वजनिक गरिएको हो ।
‘खाली खाली’ मा ताराप्रकाश लिम्बू र दीपा लामाको स्वर छ । ताराको संगीत र दिनेश राउत रचित गीतमा फिल्मका निर्देशक मिलन चाम्सको कोरियोग्राफी छ । गीत सार्वजनिक कार्यक्रममा निर्देशक चाम्सले लण्डन जस्तो महंगो ठाउँमा गएर फिल्म छायांकन गरिएको स्मरण गरे । ‘अहिले फिल्मले १५ करोड कमायौं भन्छौं । अब पाँच वर्षभित्र हामीले फिल्मले ५० करोड कमायो भन्ने सुन्न पाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि राम्रो फिल्म बन्नुपर्छ । त्यो प्रयासमा हामी निरन्तर लागिरहेका छौं ।’
नायक दयाहाङले विदेशी भूमिमा फिल्ममा अभिनय गर्दा राम्रो अनुभव बटुलेको खुलाए । ‘फिल्मको कथा दर्शकका लागि नयाँ स्वादको लाग्नेछ । फिल्मले सम्पूर्ण नेपालीको कथा बोलेको छ,’ उनले भने । अर्का कलाकार सञ्जयले स्कटल्याण्डको चिसो मौसममा गीत छायांकन गर्न निकै गाह्रो भएको बताए ।
लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ, प्रियंका, संजय गुप्ता, विक्की जोशी, शिशिर राणा, रूपा पुन, रिकेश चाम्स लगायतका कलाकारको अभिनय छ ।
पैसा कमाउन बेलायत पुगेको एक युवाले वैधानिक बसोबासका लागि गरेको संघर्षलाई फिल्मको कथाबस्तु बनाइएको छ । विपी खनाल, भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स निर्माता रहेको फिल्म यम थापाले लेखेका हुन् । ताराप्रकाश लिम्बू र राजनराज शिवाकोटीको संगीत र रामकुमार केसीको छायांकन रहेको फिल्म बेलायत, नेपाल, वेल्स, इङ्ल्याड, स्कटल्यान्ड लगायतका देशमा छायांकन गरिएको छ

प्रकाशित: २१ कार्तिक २०७४ ०५:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App