coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खाेटाङ चार दिनदेखि अन्धकारमा, सञ्चार माध्यमहरू ठप्प

खोटाङ– विद्युत सेवा अवरुद्ध हुँदा खोटाङ अन्धकारमय भएको छ। गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी विद्युत प्रसारण लाईन अवरुद्ध हुँदा जिल्ला अन्धकारमय भएको हो। विद्युत अभावमा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, वित्तीय कार्यालय, व्यवसाय तथा निजी कामकाज प्रभावित भएको छ।

व्याकअप सकिएपछि कतिपय कार्यालयले जेनेरेटरबाट काम गरिरहेका छन्। विद्युत् अवरुद्ध हुँदा खोटाङका ३९ गाविसका उपभोक्ताबाहेक छिमेकी जिल्ला ओखलढुंगाको जनजीवनसमेत प्रभावित भएको छ।

विद्युत अभावमा खोटाङका छापा तथा विद्युतीय सञ्चार माध्यमको प्रकाशन तथा प्रशारण प्रभावित भएको छ। त्यस्तै, खोटाङखबर साप्ताहिक, रुपाकोट साप्ताहिक र हलेसी साप्ताहिकको प्रकाशन बन्द भएको छ। हरेक शुक्रबार प्रकाशित हुँदै आएको हलेसी साप्ताहिक, आइतबार प्रकासित हुँदै आएको रुपाकोट साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदै आएको खोटाङखबर साप्ताहिक पत्रिका प्रकाशन हुन सकेको छैन। पत्रिका प्रकाशनका लागि प्रेसमा पु¥याए पनि विद्युत अभावमा प्रकाशन हुन नसकेको हलेसी साप्ताहिकका सम्पादक हरिबोल आचार्यले बताए। पत्रिका प्रकाशन नहुँदा पाठक र सर्वसाधारण सूचना र सञ्चारबाट बञ्चित बनेका छन्।

विद्युतको अभावमा जिल्लाका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारण समेत बन्द भएको छ। ‘पत्रिकालाई डिजाइन गरेर प्रेसमा पुर्याइयो,’ सम्पादक आचार्यले भने, ‘तर विद्युत नहुँदा पत्रिका प्रकाशन हुन सकेको छैन, ग्राहकले सोधेर हैरान पारिसक्यो।’

नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका अनुसार रसुवादेखि उदयपुरको बरुवा खोलाबीचमा फल्ट भएकाले विद्युत अवरुद्ध भएको हो। हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरण शाखाका प्राविधिक ध्रुव अधिकारीले बताए।

 

प्रकाशित: १८ श्रावण २०७३ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App