coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

तरकारीको मूल्य छोइनसक्नु

काठमाडौं- काठमाडौंमा मागअनुसार तरकारी आपूर्ति हुन नसकेपछि मूल्य दोब्बर बढेको भएको छ । दसैं र तिहारपछि तरकारी आपूर्तिमा ५० प्रतिशतले कमी आएपछि मूल्य अाकासिएको हो ।
सर्वसाधारणको भान्सादेखि उपत्यकाको पाँचतारे होटलसम्म दैनिक उपभोगमा आउने आलु, प्याज, टमाटर, काउलीलगायत तरकारीको मूल्य दसैंअघिको तुलनामा दोब्बरले बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले सामान्यतया काठमाडौंमा दैनिक सात सय मेट्रिक टन तरकारी आपूर्ति हुने गरेको बताए । अहिले त्यसको ५० प्रतिशतमात्रै आपूर्ति भएकाले मूल्य अाकासिएको उनले जानकारी दिए ।
‘कालीमाटी फलफूल तरकारी बजारमा अहिले दैनिक तीन सय ५० मेट्रिक टन मात्रै तरकारी आपूर्ति हुने गरेको छ । ५० प्रतिशत मात्रै आपूर्ति भएका कारण तरकारीको मूल्यमा प्रभाव परेको हो,’ उनले भने, ‘नेपालमा तरकारी उत्पादन कम छ । भारतबाट आउने तरकारीमा पनि मूल्यवृद्धि भएको छ । यसले गर्दा तरकारीको मूल्य बढेको हो ।’

थोक मूल्यमा सानो गोलभेंडा प्रतिकेजी ७२ रुपैयाँ भए पनि बजारमा एक सय १० रुपैयाँ छ । गत वर्ष कात्तिकमा सानो गोलभेंडाको सरदर मूल्य ३७ रुपैयाँ किलो थियो । प्याज प्रतिकेजी थोक मूल्य ६७ रुपैयाँ रहेकोमा खुद्रा बजारमा एक सयभन्दा माथि रहेको उपभोक्ता बताउँछन् । गत वर्ष कात्तिकमा प्याजको सरदर मूल्य २३ रुपैयाँ किलो थियो ।
थोक मूल्यमा आलु ४४ रुपैयाँ किलो छ । तर, बजारमा ७० देखि ८० रुपैयाँको हारहारीमा बिक्री हुँदै आएको छ ।
गाँजर  प्रतिकेजी ९१ रुपैयाँ छ । बन्दा ६७ रुपैयाँ छ । यसको मूल्य आइतबारको तुलनामा २० प्रतिशतले बढेको व्यवसायी बताउँछन् । स्थानीय काउलीको मूल्य आइतबारको तुलनामा २३ प्रतिशतले घटे पनि बजारमा किलोको सय रुपैयाँभन्दा बढीमा बिक्री भइरहेको छ । सोमबार बोडी प्रतिकेजी थोक मूल्य एक सय पाँच रुपैयाँ छ । बजारमा एक सय ३० रुपैयाँमा बिक्री भइरहेको छ । मटरकोसा आइतबार एक सय ३५ किलो थियो भने सोमबार एक सय पाँच रुपैयाँ थोक मूल्य भए पनि बजारमा एक सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।
हरियो फर्सीको थोक मूल्य ५७ रुपैयाँ किलो छ । बजारमा ९० रुपैयाँ हारहारीमा किनबेच भयो ।  तामा थोक मूल्य किलोको एक २५ रुपैयाँ छ । सुकेको नेपाली लसुन प्रतिकेजी एक ९५ रुपैयाँ छ । हरियो धनिया प्रतिकेजी दुई २५ रुपैयाँ छ । कागती प्रतिकेजी पाँच सय २५ रुपैयाँ छ । सुकेको खुर्सानी प्रतिकेजी एक सय ९५ रुपैयाँ छ । तिते करेला प्रतिकेजी ९२ रुपैयाँ मूल्य छ । च्याउ किलोको एक सय ५५ रुपैयाँ मूल्य छ ।
तरकारीको थोक र खुद्रा मूल्यको अन्तरको यो एउटा सामान्य उदाहरण मात्र हो । सबैजसो तरकारीको खुद्रा मूल्य व्यवसायी आफैंले निर्धारण गर्दा पनि उपभोक्ता ठगिएका छन् । खुद्रा व्यापारीको मनलाग्दी मूल्य निर्धारणले उपभोक्ता महँगीको मारमा परेका छन् । थोकमा किनेको तरकारीको मूल्य खुद्रा व्यवसायीले बेच्दा बढीमा २० प्रतिशत नाफा खानुपर्ने हुन्छ । तर व्यवसायीले मनलाग्दी लिने गरेका छन् ।
‘थोक बजारमा किनेको तरकारीको बढीमा २० प्रतिशतसम्म मूल्य बढ्नुपर्ने हो । तर, कतिपय तरकारीको मूल्य शतप्रतिशत बढाएर बेच्ने गरेका छन्,’ धितालले भने । थोक मूल्यमा किनेको तरकारीको केही भाग बिग्रने र बिक्री नहुँदा नोक्सान हुने भएकोले पनि व्यवसायीले थप नाफा राखेर बेचेको हुन सक्ने तरकारी विकास समितिका वरिष्ठ अधिकृत धितालको भनाइ छ ।
उनका अनुसार खुद्रा व्यवसायीले पनि महँगोमा तरकारी किनेका कारण बजारमा मूल्य बढी जस्तो देखिएको हो ।
असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु जस्ता कारणले बजारमा तरकारीको मूल्य बढेको तरकारी व्यवसायी जीवन श्रेष्ठले बताए । उनका अनुसार कालीमाटीमा दसैंअघिको जस्तो चाप छैन । ‘आपूर्ति कम भएका कारण तरकारी मूल्य फरक पर्न गएको हो,’ उनले भने ।
कालीमाटी फलफूल तथा तरकारी विकास समिति र बल्खु कृषि तथा तरकारी बजारमा तरकारी आपूर्तिमा कमी आएको व्यवसायी बताउँछन् ।
राज्यले कृषि उपजमा कति नाफा लिन पाउने भन्ने नीति नबनाएकोले पनि मूल्य निर्धारण गर्न सकिने अवस्था नरहेको धितालको भनाइ छ । ‘यसमा सरकारी अनुगमनकै अभाव हो । मूल्य तोक्ने अधिकार हामीलाई छैन,’ उनले भने, ‘कृषि उपजमा तोकिएभन्दा बढी नाफा लिन मिल्दैन भनेर सरकारले नीति ल्याउने हो भने मूल्यमा मनपरी हुन पाउँदैन ।’
खुद्रा व्यवसायी भने थोकमा किनेको तरकारीमा केही नाफा राखेर बेच्दै आएको बताउँछन् । ‘हामीले भन्दा धेरै नाफा त किसानसँग किनेर बजार ल्याउने बिचौलियाले लिएका छन्,’ जोरपाटीस्थित खुद्रा तरकारी व्यवसायी माया अधिकारीले भनिन्, ‘तरकारी किन्दा नै महँगो हुन्छ । हामीले जति मूल्यमा ल्याएका छौं । यसमा गाडी भाडा र केही नाफा मात्रै राखेर बेच्छौं ।’

प्रकाशित: २१ कार्तिक २०७४ ०५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App