७ वैशाख २०८१ शुक्रबार
अर्थ

चिया उत्पादन बढ्यो

काठमाडौं- अनुकूल मौसम र क्षेत्र विस्तारले यो वर्ष चिया उत्पादन बढेको छ । चियाको लागि उपयुक्त हावापानी, रोगकिराको प्रकोप न्यून हुँदा गत वर्षको तुलनामा करिब तीन हजार मेट्रिक टन धेरै चिया फलेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
चालु आथिक वर्षमा करिब २६ हजार मेट्रिक टन चिया उत्पादन हुने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए । ‘करिब १३ प्रतिशत उत्पादन बढ्ने अनुमान गरेका छौं,’ गौतमले भने, ‘बजार बढेकाले चिया खेतीमा आकर्षण बढ्दो छ ।’
किसानले अहिले बगानमा चिया टिपिरहेका छन्  । खास गरी पूर्वी नेपालको संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचचर, धनकुटा, इलाम, झापा लगायत जिल्लाका किसानले चियाको व्यावसायिक खेती गर्दै आएका छन् ।
झापामा ११ हजार चार सय २३, इलाममा सात हजार आठ सय पाँच, पाँचथरमा एक हजार एक सय ३८, धनकुटामा नौ सय ४०, तेह्रथुममा तीन सय ३७ र अन्य जिल्लामा चार हजार पाँच सय २२ हेक्टरमा चियाखेती गरिएको बोर्डले जनाएको छ । कुल २६ हजार एक सय ८५ हेक्टरमा चिया खेती छ ।
गत वर्ष करिब तीन अर्ब रुपैयाँको चिया निर्यात भएको थियो । उत्पादन बढेसँगै यो वर्ष निर्यात बढ्ने गौतमले बताए ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग उच्च रहेकोले किसान चिया खेतीमा आकर्षित छन् । अहिले यहाँ उत्पादन भएको सिटिसी चिया ६० प्रतिशत र अर्थोडक्स चिया ९० प्रतिशत अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ । अहिलेसम्म नेपाली चिया नपुगेका मुलुकबाट समेत यहाँको चिया माग हुन थालेपछि किसानले उत्पादन बढाउँदै लगेका छन् । सिटिसी चिया भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा गए पनि अर्थोडक्स चिया नेपाली उद्योगी सिधै विदेश बिक्री गर्ने गरेका छन् ।
नेपालीहरुले दूध हालेर चिया खाने प्रचलन रहेको सिटिसी चिया उपभोग गर्छन् । सिसिटी चियाको मुख्य बजार भारत रहे पनि अर्थोडक्स भारत सहित अमेरिका, फ्रान्स, जर्मनी लगायत मुलुकमा निर्यात हुन्छ । सिटिसी किलोको दुई सय ७० रुपैयाँदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भएको छ । अर्थोडक्स प्रतिकिलो ६ सयदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने बोर्डले जनाएको छ ।
यो वर्षमात्र करिब २० हेक्टर क्षेत्रफलमा चिया खेती विस्तार गरिएको छ । ‘करिब १५ लाख बिरुवा यो वर्ष रोपण गरिएको छ,’ गौतमले भने । यो वर्ष ललितपुर, भोजपुर, रामेछाप लगायत जिल्लामा चिया खेती विस्तार गरिएको छ ।
यो वर्ष करिब डेढ लाख किलो अर्थोडक्स चिया धेरै फलेको हिमालय चिया उत्पादक सहकारीका महासचिव डिल्ली बास्कोटाले बताए । गत वर्ष यो करिब ५० लाख मेट्रिक टन उत्पादन भएको थियो । अर्थोडक्स चिया प्रतिकिलो ६० डलरसम्ममा बिक्री भएको बास्कोटाले बताए । अर्थोडक्स चिया उत्पादनको करिब ८८ प्रतिशत  निर्यात हुने गरेको उनले बताए । ‘अर्गानिक चियाको माग विश्व बजारमा उच्च छ,’ उनले भने, ‘तर बढ्दो विषादी प्रयोगले चिन्तित तुल्याएको छ ।’
धेरै चिया भारत जाने गरेको छ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले ठमेल लगायत पर्यटकीय क्षेत्रबाट चिया लैजाने गरेका छन् । अर्थोडक्स चिया इलाम, पाँचथर, धनकुटालगायत क्षेत्रमा उत्पादन हुन्छ । पछिल्लो सयम लमजुङमा पनि चिया खेती विस्तार भएको छ । इलामको पूर्वी फिक्कल आसपासको चियामा विषादी प्रयोगले निर्यातमा केही कठिनाइ भएको व्यवसायी बताउँछन् ।
विषादीरहित अर्थोडक्स चियाको माग युरोप र अमेरिकामा उच्च रहेको सापकोटाले बताए ।
चिया किसानलाई सरकारले सस्तो ब्याजमा ऋण उपलब्ध गराए विस्तारमा सघाउ पुग्ने बास्कोटाले बताए । ‘चियाबारीमा काम गर्ने कामदारको अभाव छ,’ उनले भने, ‘पहाडी जिल्लामा मेसिन प्रयोग नहुँदा समस्या भएको छ ।’
चिया रोपेको तीन वर्षमै उत्पादन दिन्छ । समुद्र सतहबाट हजार मिटरभन्दा कम उचाइमा यसको खेती छ । बोर्डका अनुसार अहिले १८ हजार किसानले चिया खेती गरिरहेको छन् । चिया कात्तिक–मंसिर र फागुन–चैतमा टिप्ने गरिन्छ ।
चियाको सार्वजनिक खरिद–बिक्री हुने स्थान ‘अक्सन’ स्थापना अन्तर्राष्ट्रिय बजारमा किनबेचमा अझै कठिनाइ छ । अक्सन नहुँदा भारतका उद्योगीले नेपाली चियालाई आफ्नो ब्रान्डमा बिक्री गर्ने गरेका छन् । मुलुकमै पहिलोपटक झापमा अक्सन स्थापना गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App