८ वैशाख २०८१ शनिबार
खेल

न्युटनलाई पुरुषतर्फको उपाधि

काठमाडौं- प्रोटेस्टका कारण विवादित बनेर एक दिन ढिला भएको फाइनलमा जित हासिल गर्दै न्युटन स्कुलको पुरुष टोलीले प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको उपाधि जितेको छ ।
सोमबार नयाँ बसपार्कमा वालुवाटारको न्युटनले नुवाकोटको बुङताङ भलिबल क्लबलाई २५–२०, २५–१७, २५–१७ ले हरायो ।
फाइनलमा पुगे पनि प्रोटेस्ट प्रमाणित भएपछि सेक्रेटहार्ट स्कुल प्रतियोगिताबाट बाहिरिएको थियो । सेक्रेटहार्टले क्वार्टरफाइनलमा थ्री स्टार स्कुललाई र सेमिफाइनलमा बुङताङलाई हराउँदै फाइनलमा पुगेका थिए ।
आइतबार सेक्रेटहार्ट र न्युटन हाइस्कुलले फाइनल खेल्ने तय भएको थियो । तर थ्री स्टारले सेक्रेटहार्टविरुद्ध नियमविपरीत खेलाडी खेलाएको भन्दै प्रोटेस्ट दर्ता गरेको थियो ।
जुरी कमिटीसमक्ष आवश्यक कागजात उपलब्ध गराउन नसकेपछि सेक्रेटहार्टलाई प्रतियोगिता आयोजकले अयोग्य घोषित गरेको थियो । जसका कारण बुङताङ र थ्री स्टारबीच सेमिफाइनल खेल खेलाउने जुरी कमिटीले निर्णय गरेको थियो ।
बुङताङले आइतबार जित हासिल गरेर फाइनलमा पुग्यो । बुङताङ र न्युटनबीच आइतबार फाइनल खेल सुरु भए पनि अँध्यारो भएर खेल खेल्न नसक्ने अवस्था आएपछि सोमबार गर्ने निर्णय आयोजकले गरेको थियो ।
सोमबार नयाँ बसपार्कमा न्युटनले फाइनल जित्न कडा चुनौतीको सामना गर्नु परेन । सोझो सेटमा न्युटनले पहिलो पटक भएको उमेर समूहको राष्ट्रिय भलिबलको उपाधि जित्न सफल भयो ।
नेपाल विद्यालय भलिबल कमिसनले आयोजना गरेको प्रतियोगितामा न्युटनका  अजय सुनार उत्कृष्ट खेलाडीबाट पुरस्कृत भए ।
बुङताङका आशिष मगर उत्कृष्ट स्पाइकर, न्युटनका छामकुमार कुँवर सेटर, न्युटनकै हरि घर्तीमगर ब्लकर, न्युटनकै ओमप्रसाद घिमिरे उत्कृष्ट सर्भर र बुङताङकै जहिल तामाङले बेस्ट डिफेन्डरको पुरस्कार पाए । विजेता न्युटनले १ लाख, उपविजेता बुङताङले ६० हजार, र तेस्रो भएको थ्रीस्टार र लिटिल बुद्ध एकेडेमीले समान ३५ हजार पाए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले प्रायोजन गरेको प्रतियोगितामा महिलातर्फ १६ र पुरुषतर्फ २३ टोलीको सहभागिता थियो ।
कार्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट जुनियर टिम तयारी पार्ने आयोजकले बताएको छ । प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा समान २४ महिला र पुरुष खेलाडी छनोट गरेर यु–१८ टिम तयारी पार्ने कमिसनले बताएको छ । छनोट भएको टोलीले माल्दिभ्समा हुने जुनियर च्याम्पियनसिप खेल्नेछ ।

प्रकाशित: २१ कार्तिक २०७४ ०३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App