५ वैशाख २०८१ बुधबार
समाज

प्रचार सामग्री बनाउन भ्याइनभ्याई

काठमाडौं- नजिकिँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरूलाई भ्याइ नभ्याइ छ । बागबजारका आर्ट पसल पार्टी कार्यलय नै हुन् कि भन्ने भान पर्छ । माग आउन् या नआउन् उनीहरू माग पूरा गर्ने तयारीमा छन् । ‘तयारी गरिरहेका छौं, माग आए बिक्री हुन्छ नआए अर्को चुनावमा काम लाग्छ,’ बागबजारमा पार्टीका चुनाव चिह्नको तयारी गर्दै गरेका श्याम आर्ट पसलका श्यामले भने । अरु बेला दैनिक दुई÷तीन जना मात्र खटिए पुग्नेमा अहिले उनको पसलमा थप तीन जना खटिएका छन् । उनीहरू सबैको काम चुनावी सामग्री बनाउनु हो । ‘माग आए रातभरि खटिएरै भए पनि पूरा गर्छौ,’ यस्तो काममा वीस वर्षको अनुवभ सँगालिसकेका श्याम भन्छन् ।

बागबजारकै निखिल छापाखानामा पनि सबै पार्टीका झण्डा तयारी अवस्थामा छन् । माग आयो कि कसैले रित्तो हात फर्किनु पर्दैन । निखिल आर्टका सञ्चालक सञ्जय खत्रीले उम्मेदवारी मनोनयन लगत्तै छापाखानाबाट १० हजारभन्दा बढी पार्टी र चुनावी चिह्न झन्डा बनाएर दिइसकेको बताए ।

मेघा डिजाइन बागबजारमा पनि मुख्य पार्टीका झन्डा र चुनाव भरिभराउ छ । पसलमा पार्टीका झन्डा तयार पार्न थप दुईजना कामदार खटाइएको सञ्चालक मेघा शाहीले बताए । अन्य समय दुई जना मात्र खटिए पुग्नेमा चुनाव लागेपछि थप दुई जना खटाइएको उनले बताए ।

बागबजारका छापाखानाहरूमा कांगे्रस, एमाले लगायतका पार्टीका चुनाव चिह्न अंकित झन्डा र पम्पलेट निर्माणमा व्यस्त छन् । प्रायले चुनावको माग पूरा गर्न दैनिक बढी कर्मचारी खटाएको र बढी समय खटिने गरेको बताए ।

यी सबै पसलहरूमा उत्तिकै माग भने आउँदैन । जसको राजनीतिक पार्टीसँग चिनजान छ उसैले बढी काम ल्याउने छ । यस वर्ष बामगठबन्धनले प्रचार सामग्रीको मागलाई पनि प्रभावित पार्ने अनुमान व्यवसायीको छ । गठबन्धनको कारण नेताहरूले व्यक्तिगत रूपमा कम खर्च गर्न सक्ने अनुमान व्यावसायीहरूको छ ।

निर्वाचन आचार संहिताले राजनीतिक दललाई नियमन गरेकोले ठूूला झन्डा र अन्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्थाको असर आर्ट डिजाइन तथा छापाखाना व्यवसायीलाई परेको छ । ‘चुनाव चिह्नको सानो झन्डा र पर्चाबाहेक अन्य बनाउने नपाइने भएकाले आम्दानी पनि घटेको छ,’ एक व्यवसायीले भने ।

प्रकाशित: २१ कार्तिक २०७४ ०२:४१ मंगलबार

प्रचार सामग्री बनाउन भ्याइनभ्याई