८ वैशाख २०८१ शनिबार
राजनीति

जमात जुटाएर आफुलाई बलियो देखाउन खोज्दै उम्मेदवार

वीरगन्ज- दोस्रो चरणमा हुने प्रदेश नम्बर ३ को निर्वाचनमा प्रतिनिधीसभा र प्रदेशसभाका उम्मेदवार बनेका नेता र दलहरु निर्वाचन एक महिना बाँकी रहँदा अहिले आफुसंग बढी मानिसहरुको जामात रहेको देखाएर बलियो ‘पोजिसन’ प्रदर्शन गर्ने रणनीति लिएका छन्।

 गाउँटोल केन्द्रीत कार्यक्रमहरुमा बढीभन्दा बढी उपस्थिति देखाउन पार्टीका नेताहरुले आफ्ना मान्छे र स्रोत साधन परिचालन गरेका छन् । कतिपयले पार्टी प्रवेश कार्यक्रमलाई प्राथमिकता दिएका छन्।

पर्सा क्षेत्र नम्बर एकमा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुँगटा र वाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका बिचारी यादवले दैनिक रुपमा टोलटोलमा कार्यक्रम सुरु गरेका छन् । कार्यक्रममा मुद्दा र नाराभन्दा संख्यात्मक उपस्थितीलाई प्रधानता दिइएको छ । ‘यो क्षेत्र विकासमा पछाडी परेको छ, वीरगन्ज क्षेत्रको लागि विकासका योजनाहरु ल्याउन सक्ने क्षमता र योजना छ म संग । मेरो पार्टी नेतृत्वले पनि मलाई पत्याएको छ, यही कुरा जनतामा लिएर जाँदैछु,’ रुँगटाले भने, ‘त्यसको लागि जनतासंग अन्तरक्रिया गरीरहेको छु।’

एमाले उम्मेदवार यादवको दावी पनि त्यस्तै छ। ‘आफुमाझ भिजेको ब्यक्तिको रुपमा जनताले मलाई चिनेका छन्, विचारी यादव बदलिने नेता होइन मैले यसअघि निर्वाचित भएको बेला देखाएको छु।’ कांग्रेस एमाले जनतासंग नजिक रहेको देखाउन खोजिरहेको बेला पर्सा १ बाट संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले दिनमा ३ वटासम्म पार्टी प्रवेशका कार्यक्रम गर्न भ्याई रहेका छन्। ‘अहिले मेरो पार्टीको क्रेज छ, बिभिन्न दलका नेता कार्यकर्तादेखि स्वतन्त्र बुद्धिजीविहरु समेत हामीसंग हातेमाले गर्न तत्परता देखाएका छन्,’ फोरमका पर्सा जिल्ला अध्यक्ष समेत रहेका उनले भने, ‘स्थानीय तहको निर्वाचनमा यहाँ पार्टीलाई सफलता दिलाउन वा मधेस आन्दोलनमा मेरो भुमिका जे थियो त्यसको मुल्यांकन हुँदैछ।’

क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार अजय चौरसियाले आधा दर्जन जति भेला र भेटघाट गर्न भ्याइरहेका छन् । ‘मधेसको सवालमा कुनै संविधान संशोधन गराउनेदेखी हरेक किसिमले मधेसी, जनजाति, दलित लगायत पछाडी पारिएका समुदायको हक स्थापीत गर्ने काम कुनै पार्टीले गर्न सक्म्छ भने त्यो कांग्रेस नै हो,’ कांग्रेस केन्द्रीय सदस्य चौरसियाले भने, ‘अहिले राष्ट्र र लोकतन्त्र दुवैका लागि वाम गठबन्धन खतरा हो र कांग्रेसले देशलाई हरेक संकटबाट जोगाउँदै आएकाले यतिखेर पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको छ, अरुसंग सार्मथ्य छैन यसको सामना गर्ने। जनताल यट्ठ कुरा बुझि रहेका छन।’

सो क्षेत्रमा फोरम नेपालका उम्मेदवार बिमल श्रीवास्तवले पनि प्रतिदिन दौडाहा गरिरहेका छन् । पिपरामा आयोजित कुस्ति प्रतियोगिताको उद्घाटन गर्न पुगेका उनले अधिकार र विकास दुबैको लागि स्थानीय जनताले यसपटक अधिकारको लडाईमा रहेका दलहरुलाई निर्वाचन गर्नमा चुक्नु हुँदैन भन्ने बताए।

क्षेत्र नम्बर ३ मा भने नयाँ शक्तिका केन्द्रीय सदस्य बलिराम साहको नेतृत्वमा पार्टीका स्थानीय नेताहरु समु्हमै एमालेका नेताहरुको हातबाट टिका लगाएर आइतवार वाम गठबन्धन प्रवेश गरे। एमाले उम्मेदवार राजकुमार गुप्ता पनि जमात बढाउन पार्टी प्रवेशलाई प्राथमिकता दिएका छन्। त्यहाँ नयाँ शक्तिलाई बिलय गराउन सफल भएको एमालेका बुद्धिजीवि पुर्व प्रध्यापक डा. रामदेव तिवारीको अगुवाईमा दर्जनौ जना सोमवार कांग्रेसमा प्रवेश गरेका छन्। सो क्षेत्रबाट कांग्रेसबाट सुरेन्द प्रसाद्र चौधरी प्रतिनिधीसभा सदस्यका उम्मेदवार छन् । फोरम नेपालका उम्मेदवार हरिनारायण रौनियार भने दलबल सहित टोलटोलमा भ्रमण सुरु गरेका छन्।

क्षेत्र नम्बर ४ मा काँग्रेसका रमेश रिजालले सिमावर्ती गाउँकेन्द्रीत सभाहरुमा जोड दिएका छन् भने राजपाका लक्ष्मणलाल कर्ण र माओवादी केन्द्रकी उर्मिला अर्यालले पनि चुनावी अभियान तिब्र पारेका छन्।

 

प्रकाशित: २० कार्तिक २०७४ १४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App