८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकाका छ स्थानमा भूकम्प मापन केन्द्र राखिने

काठमाडौँ (रासस)- जापान सरकारको सहयोगमा काठमाडौँ उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ।

विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौँ उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो।

सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेको हो ।

खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए।

“उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गतवर्ष नै केन्द्र स्थापना गरिसकेका थियौँ यस महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्छौँ”, उनले भने।

यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष निर्माण हुन लागेको विभागले जनाएको छ ।

एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ ।

नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण भएका थिए।

यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौँ उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ ।
 

 

प्रकाशित: २० कार्तिक २०७४ ०९:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App