coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बुटको मौसम

सुष्मा बराली 

जाडोयाम सुरु भइसकेको छ । शरीरलाई चिसोबाट बचाउन विभिन्न प्रकारका लत्ताकपडा प्रयोग गरिन्छ । चिसोमा शरीरलाई न्यानो बनाउन लुगा लगाएर मात्र पुग्दैन । शरीरका अन्य भागजस्तै जाडोमा खुट्टालाई पनि न्यानो बनाइराख्नुपर्छ । यसका लागि पछिल्लो समय सहरी क्षेत्रमा बुटको प्रयोग बढ्दो छ। 

चिसो सुरु भएसँगै काठमाडौंका जुत्तापसल जाडोमा लगाउने जुत्ताले भरिभराउ भइसकेका छन् । जाडोमा लगाउने विभिन्न खाले जुत्ता–चप्पलसँगै थरीथरी डिजाइनका बुट जुत्ता पनि पसलका सोकेसमा सजिन थालिसकेका छन् । बिस्तारै ग्राहकले पनि जाडोका लागि न्यानो बुटको जोहो गर्न थालिसकेको असनस्थित मिस न्यु सु सप सञ्चालक दीपेन्द्ररत्न ताम्राकार बताउँछन् । २० वर्षदेखि सप सञ्चालन गर्दैै आएका ताम्राकारले आफ्नो पसलमा जाडोमा बुट जुत्ताको व्यापार अत्यधिक बढेको बताए । ‘चिसो बढेसँगै बुटको माग पनि बढ्दो छ, हिजोआज आकर्षक रङ र डिजाइनका बुट बजारमा सजिलै पाइने भएकाले जाडोमा धेरैले बुट प्रयोग गर्छन्,’ उनले भने। 

बजारमा पाइने रेडिमेड बुट मनपराउने एक जमात छ भने आफैँ डिजाइन दिएर अर्डरमा बुट बनाउन लगाउनेको भीड पनि कम छैन । चिसो मौसम सुरु भएपछि बुट बनाउन भ्याइनभ्याई हुने इन्द्रकुमार बिसुङ्खे बताउँछन् । बिसुङ्खेले झन्डै २० वर्षदेखि कुमारीपाटीमा जुत्ता बनाउँदै आएका छन् । उनी शुद्ध छालाका जुत्ता बनाउँछन् । भन्छन्, ‘शुद्ध छालाको हुने भएकाले अलि महँगो हुन्छ । त्यसैले शुद्ध छालाको जुत्ता बलियो हुने भए पनि चाइनिज फेन्सी बुटमै धेरैको आकर्षण छ ।’ 

व्यवसायको लामो अनुभवमा उनले जुत्ताका अनेक फेसन देखे । पहिला जाडोमा फेसनेबल जुत्ता पाइन्थ्यो । थोरै ग्राहकको पहुँचमा मात्र थियो, बुट जुत्ता । ‘आफूले चाहेजस्तो बुटको अर्डर दिन आउँथे । बजारमा डिजाइनका धेरै भेराइटी पनि थिएन,’ ताम्राकार भन्छन्, ‘अहिले भने ग्राहकको इच्छाअनुसारका डिजाइन, मेटेरियल र कलरका बुट बजारमा उपलब्ध छन् ।’

सस्तादेखि महँगा बुट पाइने भएकाले जाडोमा सबैलाई फेसनेबल बन्न बुटले सहयोग गरेको उनी बताउँछन् । 
गयाजी महत विगत दश वर्षदेखि पाटनमा जुत्ता व्यापार गर्दै आएका छन् । चीनबाट सामान आउने भएकाले फेसनेबल बुट बजारमा प्रशस्तै उपलब्ध भएको उनी बताउँछन् । हिजोआज बजारमा बलियोभन्दा पनि हेर्दा आकर्षक र राम्रो देखिने बुटको माग बढी रहेको उनी बताउँछन्। 

बजारमा पाइने रेडिमेड बुट मनपराउने एक जमात छ भने आफैँ डिजाइन दिएर अर्डरमा बुट बनाउन लगाउनेको भीड पनि कम छैन । चिसो मौसम सुरु भएपछि बुट बनाउन भ्याइनभ्याई हुने इन्द्रकुमार बिसुङ्खे बताउँछन् । बिसुङ्खेले झन्डै २० वर्षदेखि कुमारीपाटीमा जुत्ता बनाउँदै आएका छन् । उनी शुद्ध छालाका जुत्ता बनाउँछन् । भन्छन्, ‘शुद्ध छालाको हुने भएकाले अलि महँगो हुन्छ । त्यसैले शुद्ध छालाको जुत्ता बलियो हुने भए पनि चाइनिज फेन्सी बुटमै धेरैको आकर्षण छ।’ 

धेरैले भारत र चीनबाट आयात गरिएका जुत्ता लगाउँछन्, सस्तो पनि हुन्छ । तर, अर्डर दिइएको जुत्ता अलि महँगो हुने उनी बताउँछन् । ‘हातले बनाइने भएकाले फिनिसिङ त्यति आकर्षक हुँदैन तर बलियो र टिकाउ चाहने ग्राहक मेरोमा आउँछन्,’ उनी भन्छन्, ‘हेर्दा झलक्क देखिने चाइनिज बुटले गर्दा अर्डर दिनेको संख्या साह्रै थोरै छ।’

कुमारीपाटीस्थित पर्फेट सुजका सञ्चालक बाबुराज बोगटी अर्डरअनुसार जुत्ता बनाउने काम गर्छन् । ‘हामीकहाँ आफूले चाहेको डिजाइन लिएर ग्राहक आउँछन्, हामीले उनीहरुको इच्छाअनुसारकै डिजाइनको जुत्ता बनाएर दिने गरेका छौँ,’ उनले भने। 

आफ्नो इच्छाअनुसारको डिजाइनमा सिलाउन दिँदा बलियो हुने भएकाले अर्डरमा बुट सिलाउन दिने चलन बढेको उनको भनाइ छ । विभिन्न सिनेमामा हिरो–हिरोइन्ले लगाएको देखेर त्यस्तै बुटको डिजाइन अर्डर गर्न आउने जमात पनि धेरै रहेको उनी बताउँछन्। 

ललितपुर पुल्चोककी प्रीतिका थापा एक प्राइभेट कम्पनीमा कार्यरत छिन् । उनी चिसो मौसममा न्याना बुट लगाउन अत्यन्त मन पराउँछिन् । हिउँदमा अत्यधिक चिसो लाग्ने भएकाले चिसोबाट बचाउन बुटको प्रयोग आफ्ना लागि निर्विकल्प भएको उनी सुनाउँछिन् । थापा भन्छिन्, ‘मलाई प्रायः चिसो धेरै हुन्छ । त्यसकारण चिसोबाट बच्न एंकल बुट लगाउन मन पराउँछु ।’ 

अफिसको ड्रेसमा समेत एंकल बुट उपयुक्त हुने उनको अनुभव छ । फेसनमा अप टु डेट रहन रुचाउने थापा यो मौसमका लागि नयाँ बुट जोहो गर्ने तर्खरमा छन् । 

काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पस पढ्ने दीपशिखा ढुंगेलका लागि हिउँदको बिहानको चिसो छेक्ने साधन बनेको छ, क्वार्टर बुट । उनी भन्छिन्, ‘बिहानै कलेज जाँदा असाध्यै चिसो हुन्छ, यस्तोमा म क्वार्टर बुट लगाउन मन पराउँछु ।’ हेर्दा आकर्षक र फेसनेबल देखिने र चिसोबाट पनि बच्ने भएकाले क्वार्टर बुट मनपरेको उनी बताउँछिन्। 

बजारमा उपलब्ध केही बुट

एंकल बुट – यो बुट जाडो र गर्मी दुवै मौसममा लगाउन सकिन्छ । हलुका अनि सहज हुने भएकाले महिलाले यो बुटलाई बढी रुचाएको पाइन्छ । यो बुट विभिन्न रङ, साइज र मेटेरियल अनुसार बजारमा उपलब्ध छ । खुट्टाको एंकल (गोलीगाँठो) सम्म हुने यो बुट लगाउँदा सजिलो हुन्छ । त्यसकारण एंकल बुटप्रति महिला आकर्षण सदावहार रहेको व्यवसायी बताउँछन् । बुटको यो डिजाइन विशेषगरी कामकाजी महिलाको रोजाइमा पर्न सफल भएको छ । बजारमा यो बुटको मूल्य एक हजार रुपैयाँदेखि माथि पर्ने व्यवसायी बताउँछन्।

हाफ बुट– जाडोमा रुचाइने बुट हो, हाफ बुट । हाफ बुट एंकलभन्दा अलि माथिसम्म हुने हुँदा जिन्स तथा जाडोमा लगाइने मोटा लुगामा सुहाउँदो देखिन्छ । यो बुट हेर्दा आकर्षक देखिने भएकाले युवतीको रोजाइमा पर्न सफल भएको मानिन्छ । यसका विभिन्न रङ र डिजाइन बजारमा पाइन्छन् । विशेषगरी कलेज पढ्ने युवतीको रोजाइमा पर्न सफल यो बुटको माग बढ्दो रहेको व्यवसायी बताउँछन् । हाफ बुटको मूल्य १२ सय रुपैयाँदेखि सुरु हुने व्यवसायी बताउँछन् ।
क्वार्टर बुट्स– यो बुट घुँडाभन्दा तलसम्मको हुन्छ । यसले घुँडासम्म छोप्ने हुँदा खुट्टालाई न्यानो बनाउँछ । अत्यधिक चिसोको मौसममा यो बुट निकै उपयोगी हुन्छ । जाडो मौसम रमाइलो हुने र प्रायः घुम्न जाने हुनाले यो बुट रोजाइमा पर्न सफल भएको मानिन्छ । हेर्दा आकर्षक र फेसनेबल देखिनुको साथै न्यानो पनि हुने हुनाले युवतीको रोजाइमा पर्न सफल भएको छ । बजारमा १५ सय रुपैयाँदेखि माथिको मूल्यमा यो बुट पाइन्छ। 

फुल बुट– यो बुट घुँडाभन्दा माथिसम्म हुन्छ । यो बुट प्रायः लेदरबाट बन्ने व्यवसायी बताउँछन् । जाडोमा लगाइने लेगिजसँग यो बुट लगाउनु उपयुक्त हुन्छ । आफूलाई फेसनेबल र स्टाइलिस्ट राख्नेको विशेष रोजाइमा यो पर्ने गरेको छ। शुद्ध लेदरबाट बनेको यो बुट अरुभन्दा महँगो हुने व्यवसायी बताउँछन् । शुद्ध छालाबाट बनाइने हुनाले यो बलियो, टिकाउ र आरामदायी हुने र अरु बुटको तुलनामा महँगो हुने व्यापारी बताउँछन् । बजारमा फुल लेदर बुटको मूल्य साइज, सामानअनुसार पर्ने व्यापारी बाबुराज बोगटी बताउँछन् । सामान्यतः यसको मूल्य ३५ सय रुपैयाँदेखि सुरु हुने उनी बताउँछन्।

प्रकाशित: २० कार्तिक २०७४ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App