७ वैशाख २०८१ शुक्रबार
समाज

सडकका खाल्डा पुर्न २५ करोड

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको छ ।
महानगरले २५ करोड रुपैयाँ लागतमा खाल्डाखुल्डी पुर्न लागेको हो । त्यसका लागि ठेक्का आह्वान गरिसकेको महानगरपालिले जनाएको छ । यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने महानगरको योजना छ । ‘वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने भएकाले पुरेनौँ,’ महानगरपालिका निर्देशक नमराज ढकालले भने, ‘हिउँद लागेसँगै खाल्डाखुल्डी पुर्ने काम तीव्र हुनेछ।’ 

महानगरपालिकाले भित्री सडक फराकिलो बनाउन योजना पनि अघि बढाएको छ । महानगरले आर्थिक वर्ष ०७३÷७४ को बजेटमा ४० वटा भित्री सडक विस्तारको लक्ष्य सार्वजनिक गरेको थियो । ढकालले केही वर्षयता सुस्ताएको भित्री सडक विस्तारले फेरि पूर्णता पाउने बताए । महानगर मातहतका आठ मिटरभन्दा कम चौडाइ भएका झन्डै २३ किलोमिटर भित्री सडक विस्तार गर्न लागिएको हो । ‘नगरपरिषद्ले महानगरभित्रका सडक विस्तार गर्न ५५ करोड रुपैयाँ विनियोजन गरेको छ,’ उनले भने, ‘अबको केही दिनभित्रै सडक विस्तारले गति लिनेछ ।’ महानगरले ६० वटा सडक विस्तारका लागि बजेट माग गरेकामा ४० वटाका लागि मात्र बजेट उपलब्ध गराइएको हो । ‘जनताले महसुस गर्ने गरी योजना बनाइरहेका छौँ,’ ढकालले भने, ‘अबको एक वर्षभित्रै परिवर्तनको अनुभव गर्न पाउनेछन्।’ 

कामनपा– १६ का वडाध्यक्ष मुकुन्द रिजाल वडा कार्यालयले पनि सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको बताउँछन्। उनले खाल्डाखुल्डी पुरेर केही महिनाभित्रै चार किलोमिटर सडक कालोपत्रे गर्न लागेको जानकारी दिए । 
महानगरपालिकाका सहरी पूर्वाधार विभाग प्रमुख उत्तरकुमार रेग्मीले भित्री सडक विस्तार कार्य भइरहेको बताए । ‘सडक विस्तार भइरहेको छ,’ उनले भने, ‘यति नै विस्तार भयो भन्ने तथ्यांक छैन ।’ गत वर्ष महानगरपालिकाले ४० वटा भित्री सडक विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो। 

विस्तार गरिएका सडकलाई यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ । 

विस्तार गरिने सडक 
महानगरपालिकाका अनुसार टुकुचा मार्ग, सम्मान गल्ली,  खाडीबस्ती विस्तारित सडक, दीपज्योति मार्ग, पञ्चकुमारी मार्ग, सिमाना गल्ली, तल्लो टुँसाल गल्ली मार्ग, आनन्द गोरखनाथ सडक, सरस्वती गल्ली, हिमालय मार्ग, रामहिटी सुकटोल, मैँजुबहाल हाइट मार्ग, नागबेली मार्ग, बत्तीसपुतली मार्ग, सूर्यविक्रम ज्ञवाली मार्गदेखि खरिबोट मार्गसम्म सडक विस्तार गरिनेछ।  

यसैगरी, शारदा उमावि अगाडिको बाटो, गुराँस लुगामार्ग, कुमारी गल्ली, लिंग मार्ग गोदार गाउँ, लामपाटी मार्ग, मिलन मार्ग सडक तथा ढल, बालाजु माछापोखरीदेखि महादेव खोला, कवि मार्ग, अमृत मार्ग, सहिद मार्ग,  विष्णुपादुका मार्ग र बालाजु बाइसधारा राधाकृष्ण मार्ग क्षेत्रका सडकमा पनि विस्तार गरिनेछन्। 

वासुकी मार्ग, अम्बिका मार्ग, कपुत्से मार्ग, एक्मे मार्ग,  सचेतन मार्ग, शृंखला गल्ली, सञ्जीवनी मार्ग, सेतीओपी मार्ग, जनगौरव मार्ग, गरिमा गल्ली, फूलबारी मार्गमा भने कालोपत्रे गरिनेछ। 

विस्तार गरिएका सडकलाई पनि यसै वर्षभित्र कालोपत्रे गरिसक्ने महानगरपालिकाले जनाएको छ । यसअघि भत्काइएका सडक समेतलाई कालोपत्रे गरिने र मापदण्ड मिचेर बनाइएका पर्खाल तथा अन्य संरचना भत्काएर सडक विस्तार गर्ने महानगरपालिकाले जनाएको छ। 

०६८ देखि काठमाडौंमा भित्री सडक विस्तार गरिँदै आएको हो । हालसम्म ५७ वटा सडक विस्तार गरिएको छ । महानगरपालिकाले आठ मिटरभन्दा  कम चौडाइका सडक विस्तार तथा कालोपत्रे गर्दै आएको छ । आठ मिटरभन्दा फराकिला सडक काठमाडौं उपत्यका विकास प्राधिकरण र सडक विभागले विस्तार गर्दै आएको छ। 

प्रकाशित: २० कार्तिक २०७४ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App