७ वैशाख २०८१ शुक्रबार
अर्थ

एयर न्युजिल्यान्ड संसारकै उत्कृष्ट वायुसेवा

सिड्नी– न्युजिल्यान्डको सरकारी वायुसेवा कम्पनी ‘एयर न्युजिल्यान्ड’ संसारकै उत्कृष्ट वायुसेवा कम्पनीमा दरिएको छ। 
वायुसेवा कम्पनी, तिनका सुरक्षा र सेवा, विमानस्थल, जहाजलगायत विषयमा अध्ययन गर्ने प्रख्यात अस्ट्रेलियाली वेबसाइट  ‘एयरलाइनरेटिङ्स डटकम’ ले आगामी सन् २०१८ का लागि तयार पारेको सूचीमा एयर न्युजिल्यान्ड पहिलो स्थानमा परेको हो। 

एयरलाइनरेटिङ्सले तयार पारेको उत्कृष्ट १० को सूचीमा एयर न्युजिल्यान्ड लगातार पाँचौं पटक पहिलो स्थानमा रहन सफल भएको छ । विगतका वर्षझैं यसपालि पनि एयर न्युजिल्यान्डले प्रतिस्पर्धी वायुसेवा कम्पनी अस्ट्रेलियाको क्वान्टास एयरवेज, सिंगापुरको सिंगापुर एयरलाइन्स, अस्ट्रेलियाकै भर्जिन अस्ट्रेलिया, भर्जिन एट्लान्टिक, अबुधाबीको इतिहाद एयरवेज, जापानको अल निप्पोन एयरवेज, दक्षिण कोरियाको कोरियन एयर, हङकङको क्याथे प्यासिफिक र जापानकै जापान एयरलाइन्सलाई पछाडि पारेको छ। 

एयरलाइनरेटिङ्ङको सूचीअनुसार दोस्रो स्थानमा क्वान्टास एयरवेज, तेस्रोमा सिंगापुर एयरलाइन्स, चौथो भर्जिन अस्ट्रेलिया, पाँचौं भर्जिन एट्लान्टिक, छैठौं इतिहाद एयरवेज, सातौं अल निप्पोन एयरवेज, आठौं कोरियन एयर, नवौं क्याथे प्यासिफिक र दसौं स्थानमा जापान एयरलाइन्स परेको छ। 

‘पहिलो स्थानमा परेका हुन् वा सूचीको दसौं स्थानमा परेका हुन्, यी सबै वायुसेवा कम्पनी संसारका उत्कृष्टभित्रका पनि उत्कृष्ट हुन्,’ सूची तयार पार्नेमध्येका एक निर्णायकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने। 

एयरलाइनरेटिङ्सले उत्कृष्टको सूची तयार पार्दा १३ किसिमका मापदण्ड बनाएको थियो । वायुसेवा कम्पनीको उडान सुरक्षा न्यूनतम साततारे स्तरको हुनुपर्ने एउटा मापदण्ड थियो । त्यसैगरी यात्रुलाई दिइने आरामदायी सुविधा, यात्रुको अनुभव, जहाजको आयु, वायुसेवा कम्पनीको वातावरण लगायत मापदण्ड तोकिएको थियो। 

निर्णायकहरूले लामो दूरीको उडानमा प्रिमियम इकोनोमी क्लास सिटलाई प्राथमिकता दिनुपर्ने मापदण्ड बनाएका थिए भने बिजनेस क्लास सिटमा ‘फ्ल्याट बेड’ हुनुपर्ने अर्को मापदण्ड थियो । ‘कुनै पनि वायुसेवा कम्पनीले इकोनोमी क्लास सिटलाई एउटा भिन्नै अनुभव दिने गरी तयार पारेका छन् भने ती हाम्रो सूचीमा पर्छन्,’ अर्का एक निर्णायकले भने । 
‘एयर न्युजिल्यान्डले योसमेत लगातार पाँचौं पटक सर्वोत्कृष्ट बनेको हो,’ एयरलाइनरेटिङ्सले भनेको छ, ‘उसको निरन्तरको सफल वित्तीय अवस्था, सुरक्षित उडान, जहाजभित्र नवीन सुविधा, वातावरणीय नेतृत्वकर्ता, कम उमेरका जहाज, कर्मचारीलाई प्रोत्साहनजस्ता उत्कृष्ट पक्षका कारण संसारका सबैलाई उछिनेको हो।’ 

उक्त सूचीमा एसियाबाट सिंगापुर, इतिहाद, अल निप्पोन, कोरियन, क्याथे प्यासिफिक र जापान गरी ६ वायुसेवा परेका छन् भने अस्ट्रेलियाबाट भर्जिन अस्ट्रेलिया, प्रशान्त क्षेत्रबाट एयर न्युजिल्यान्ड र युरोपबाट भर्जिन एट्लान्टिकमात्र  परेको छ । भर्जिन एट्लान्टिकले जहाजभित्र यात्रुलाई उत्कृष्ट सुविधा दिएका कारण सूचीमा परेको एयरलाइनरेटिङ्सले जनाएको छ । 

सबैभन्दा सुरक्षित वायुसेवा 
एयरलाइनरेटिङ्ले सबैभन्दा सुरक्षित वायुसेवाको सूची पनि तयार पारेको छ । यो सूचीको पहिलो स्थानमा भने अस्ट्रेलियाको सरकारी वायुसेवा क्वान्टास एयरवेज परेको छ। 

अन्य सुरक्षित वायुसेवाको नाम भने वर्णानुक्रम अनुसार सार्वजनिक गरिएको छ । जसमा एयर न्युजिल्यान्ड, अलास्का एयरलाइन्स, अल निप्पोन एयरवेज, ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक एयरवेज, डेल्टा एयरलाइन्स र इतिहाद एयरवेज छन्। 

त्यसैगरी इभा एयर, फिन एयर, हवाइयन एयरलाइन्स, जापान एयरलाइन्स, केएलएम, लुफ्थान्सा एयरवेज, स्कान्डिनेभियन एयरवेज, सिंगापुर एयरलाइन्स, स्विस एयरवेज, युनाइटेड एयरलाइन्स, भर्जिन एट्लान्टिक र भर्जिन अस्ट्रेलिया छन्। 

त्यस्तै एयरलाइनरेटिङ्सले उत्कृष्ट फस्र्ट क्लासको अवार्ड सिंगापुर एयरलाइन्स, उत्कृष्ट बिजनेस क्लास भर्जिन अस्ट्रेलिया, उत्कृष्ट प्रिमियम इकोनोमी एयर न्युजिल्यान्ड, उत्कृष्ट इकोनोमी कोरियन एयर, उत्कृष्ट क्याबिन क्रु सिंगापुर एयरलाइन्स, उत्कष्ट क्याटरिङ क्वान्टास एयरवेज र उत्कृष्ट लाउन्ज अवार्ड क्वान्टास एयरवेजलाई दिएको छ । 
त्यसैगरी उत्कृष्ट इनफ्लाइट मनोरञ्जन इमिरेट्स एयरलाइन, उत्कृष्ट क्षेत्रीय वायुसेवा एइजियन एयरलाइन्स, सबैभन्दा सुधारिएको वायुसेवा टायनकिन एयरलाइन्स, असाध्यै सस्तो वायुसेवा भाएटजेट एयर, उत्कृष्ट लामो दुरी इतिहाद एयरवेज, कोरियन एयर, भर्जिन एट्लान्टिक र एयर क्यानडा तथा उत्कृष्ट सस्तो वायुसेवाको अवार्ड वेस्टजेट, स्कुट र नर्वेजियन एयरलाइन्सले पाएका छन्।

प्रकाशित: २० कार्तिक २०७४ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App