८ वैशाख २०८१ शनिबार
समाज

खुकुरी प्रहारबाट एक जना गम्भीर घाइते

गोरखा– गोरखाको भीमसेन गाउँपालिकाको बगुवामा खुकुरी प्रहारबाट नेपाली कांग्रेसका सबिन बानियाँ घाइते भएका छन् । गाउँपालिकाको केन्द बगुवा राख्ने या घ्याम्पेशाल सार्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको स्थिती सिर्जना भएको थियो ।
सोही समयमा माओवादी निकट बगुवाका स्थानीय ब्यापारी प्रचण्ड श्रेष्ठले आइतबार साँझ खुकुरी प्रहार गरेको गाउँपालिका प्रमुख ईश्वर पाण्डेले नागरिकन्युजसँग बताए । खुकुरी प्रहारबाट बानियाँको हात, टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई आइतबार साँझ नै थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ ।
गाउँसभाको आइतबार बसेको बैठकले गाउँपालिकाको केन्द्र बगुवाबाट मसेलमा सार्ने निर्णय गरेपछि विवाद बढेको हो । केन्द्र सार्ने विषयमा बैठकमै असन्तुष्टि बढेपछि माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्य शंकर बिकले निर्णय पुस्तिका नै च्यातिदिएका थिए । केन्द्र सार्नुपर्छ र सार्नु हुन्नँ भन्ने विषयमा कार्यपालीका सदस्यहरुबीचमै विवाद बढेको हो ।  
कार्यपालिकाका कूल ४५ सदस्यमध्ये नेपाली कांग्रेससँग बहुमत रहेको छ । कार्यपालिकामा २९ सदस्य नेपाली कांग्रेसबाट र बाँकी १६ जना माओवादीबाट निर्वाचित भएका हुन् । स्थानीय तहको चुनाव भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र परिवर्तन गर्न सक्ने कानुनी व्यवस्था छ । सोहीअनुसार बहुमतले केन्द्र सार्नका लागि सिफारिस गर्ने निर्णय गरेको कार्यपालिकाका सदस्य एवम् वडा नम्बर ८ का अध्यक्ष बासु थापाले बताए । घ्याम्पेसाल पुरानो संरचना अनुसारको इलाका नम्बर ११ को केन्द्र हो । त्यहाँ यसअघि नै कतिपय सरकारी कार्यालय स्थापना भएको र अहिले प्रयोगबिहिन रहेकाले पनि केन्द्र सार्न खोजिएको गाउँपालिकाले जनाएको छ ।
बगुवा क्षेत्रमा तनाब बढेपछि आइतबार साँझदेखि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खुकुरी प्रहारबाट घाईते सबिन बानियाँ ।

प्रकाशित: २० कार्तिक २०७४ ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App