coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बिजुक्छेको नौलो बाटो

नेपाल मजदुर किसान पार्टीको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारीका निम्ति नामसूची अगाडि सारेपछि अन्य नेता तथा कार्यकर्ता आश्चर्यमा परे । आश्चर्य यसकारण थियो– जसमा विजुक्छेले त्यो सूचीमा आफ्नो नामै छुटाएका थिए। 

वास्तवमा त्यो उनले जानीजानी गरेका थिए । झण्डै २६ वर्ष अविच्छिन्न संसद् सदस्य रहेका बिजुक्छेलाई लाग्यो– अब यसका निम्ति पुस्तान्तरण हुनुपर्छ । बिजुक्छे एकजना यस्ता नेता हुन् जसले आफैँ सांसद हुने लोभ त्यागेर आफ्ना कार्यकर्तालाई अगाडि बढाउनु उचित ठाने। 

हामीकहाँ नेताहरू उमेरले नेटो काटिसक्दा पनि आफूलाई युवा नेताका रूपमा प्रस्तुत गर्न छाड्दैनन् । हामीले निकट विगतबाटै देखेका छौंँ, कतिपय नेताले बालुवाटारमा सुतीसुती सरकार चलाएका छन् । बिरामी हुनु स्वाभाविक हो तर नयाँ नेतृत्वका लागि कार्यकर्तालाई तयार पारिएन भने त्यसबाट विस्तारै काम गर्न सक्नेहरू पाखा लाग्दै जानेछन्। 

बिजुक्छेको दलले भक्तपुरमा जितिकन कम्तीमा त्यहाँ आफ्नो पद्धति बसाएको छ । नगर सफा भएको छ । नगरभित्र शैक्षिक पूर्वाधारलाई मौका दिइएको छ ।

हामीकहाँ नेतृत्वको खडेरी परेको ठानिन्छ । राम्रो र सिद्धान्तनिष्ठ नेतृत्व नभएको पनि होइन । तर त्यस्ता नेताहरू बिस्तारै राजनीतिक परिदृश्यबाट हराउँदै जाने खतरा भने बढ्दो छ । स्वाभाविक हो, आफ्ना ‘मेन्टर’ अर्थात् गुरु बिजुक्छेले संसद्मा उम्मेदवारी नदिँदा कार्यकर्तालाई असजिलो लाग्नु। 

उनले पहिल्यै आफ्नो यो इच्छा प्रकट गरेका भए कार्यकर्ताले मान्ने थिएनन् । तर अचानक आएको यो प्रस्तावले धेरैलाई प्रतिक्रिया व्यक्त गर्ने अवस्थामा पनि पु¥याएन । उनी उम्मेदवारी दर्ता गर्ने ठाउँमा अन्य कार्यकर्तासँगै पुगे । कार्यकर्ताहरू त्यतिबेला छक्कै परे जतिबेला उनले उम्मेदवारी राखेनन्। 

‘यो मेरो रिटायरमेन्ट (अवकास) होइन,’ नागरिकसँगको अन्तर्वार्ता सकिएपछि बिजुक्छेले भने, ‘म अब पार्टीको काममा सक्रिय हुन्छु । पार्टीमा पनि नेतृत्व तयार गरेपछि त्यहाँ पनि यसै गरी नेतृत्व हस्तान्तरण गर्छु । म अब जिल्ला जिल्ला जान्छु।’

विशेषगरी २०६२÷०६३ यता दलका नेताहरूले राजनयिक व्यक्तित्व प्रदर्शन गर्न नसकेका बेला सर्वसाधारणमा निराशा छ । राजनेताको खडेरी परेका बेला बिजुक्छेले आशा सञ्चारित गरेका छन् । उनी जस÷अपजसभन्दा टाढा निरन्तर आफूलाई लागेको काम सिद्धान्तनिष्ठ ढंगले गर्ने नेता हुन्। 

२०५१ सालको संसदीय निर्वाचनपछि कुनै पनि दलको बहुमतको सरकार बन्न सक्ने स्थिति रहेन । त्यो बेला एमालेले सबैभन्दा ठूलो दलको नाताले अल्पमतको सरकार बनायो । त्यसपछि मुलुकको राजनीतिमा विकृति प्रवेश गरेको मानिन्छ। 

२०४८ सालको संसदीय निर्वाचनबाट बहुमतको सरकार बनाएको नेपाली कांग्रेसभित्र ३६से र ७४रे समूहको तनावका कारण मध्यावधि निर्वाचन भएको थियो । मध्यावधि निर्वाचनपछि सजिलो बहुमतको सरकार बनाउन सकिन्छ भन्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको इच्छा पूरा हुन सकेन । बरु त्रिशंकु संसद्कालमा देखिएका विकृति माओवादी ‘जनयुद्ध’ र तत्कालीन राजाको शक्ति प्राप्त गर्ने इच्छाले गर्दा प्रजातन्त्रविरुद्धका गतिविधि हुन पुगे । 
मन्त्री बन्न, सुविधा लिन मारामार भएका बेला बिजुक्छेलाई समेत कुनैबेला प्रधानमन्त्री बन्ने आग्रह दलका तर्फबाट नगएको होइन । तर उनले कहिल्यै प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेनन् । आफ्नो दलले सरकार बनाउन सक्ने स्थिति नभएको हुँदा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ भन्ने उनलाई लागिरह्यो। 

त्यसैकारण उनले कहिल्यै पनि आफ्ना सांसदलाई सरकारमा जान दिएनन् । बरु सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न तिनलाई उजिल्याइरहे । भर्खरै मुलुकमा प्रजातन्त्र आएको हुँदा सांसदहरूका मनमा मन्त्री बनेर झण्डा हल्लाउने इच्छा हुनु स्वाभाविक हो । कुनैबेला दैलेख, जुम्ला आदि जिल्लाबाट समेत सांसद जिताएर ल्याउन सक्षम नेमकिपाका सांसदले दल छाडे । तिनीहरू एमालेमा प्रवेश गरेर मन्त्री पनि बने। 

उनीहरू एमालेमा प्रवेश गरेपछि जहिल्यै बिजुक्छेले संसद्मा अन्य विषयसँगै तिनलाई कारबाही हुनुपर्ने माग गर्थे । उनको आवाज संसद्मा सुनिने कुरा थिएन । तैपनि ‘बुर्जुवा’ संसद्मा सबैभन्दा जिम्मेवार संसद्वादी नेताका रूपमा उनले आफूलाई प्रस्तुत गर्ने गरेको देखिन्थ्यो । संसद्मा बोल्दा पनि उनी र उनका सांसद तयारीसहित प्रस्तुत भएका देखिन्थे। 

त्रिशंकु संसद्कालमा उनलाई फकाउन प्रमुख नेताहरू उनको भक्तपुरस्थित दलको कार्यालयमा भेट्न पुगिरहन्थे । त्यतिबेला रातिराति बैठक बस्ने भएका कारण हामी पनि उनको कार्यालयमा हुने निर्णयको प्रतीक्षामा रहन्थ्यौँ । मध्यरात कटेपछि सकिने बैठकका दुईटा उद्धरण लिएर फर्कँदा पनि त्यसैले निकै अर्थ राख्थ्यो।

नेताहरूले जति फकाउन खोजे पनि उनको निर्णय भने जहिल्यै आश्चर्यजनक हुन्थ्यो । निर्णय लोकप्रिय वा अलोकप्रिय जस्तो भए पनि नेमकिपाले आफ्नो अडान राखिरहन्थ्यो ।

नेताहरूले जति फकाउन खोजे पनि उनको निर्णय भने जहिल्यै आश्चर्यजनक हुन्थ्यो । निर्णय लोकप्रिय वा अलोकप्रिय जस्तो भए पनि नेमकिपाले आफ्नो अडान राखिरहन्थ्यो । वास्तवमा पछिल्ला वर्षहरूमा राजनीति गर्नेहरूले अडान छाडेपछि विकृति बढ्न थालेको हो । ठूलो दलले सरकार चलाउने र अरुले प्रतिपक्षमा बस्ने संसदीय शासन व्यवस्थाको मान्य सिद्धान्तविपरीत सबैजनाले सत्तापक्षको व्यवहार गर्ने र भागबन्डामा रमाउने गरेको देखिएको छ। 

अझ पछिल्ला वर्षमा व्यापारी राजनीतिका लागि इच्छुक र राजनीतिक व्यक्ति व्यापारमा इच्छुक देखिन थालेका छन् । राजनीतिमा प्रवेश गरेपछि व्यापारीले आफ्ना अजेन्डा त्यसमार्फत् लागु गराउन सक्ने भए । माननीय भएपछि व्यापारीले सत्ताका संरचनामा हैकम पनि चलाउन सजिलो हुने भयो । सोझो हिसाबले व्यापार मात्र गर्छु भन्नेलाई अहिलेको पद्धतिभित्र असजिलो भइसकेको छ। 

त्यसैगरी राजनीति भनेको अहिले बिनाजोखिमको व्यवसाय बन्न पुगेको छ । अन्य व्यवसायमा घाटाको जोखिम हुन्छ । राजनीतिसँगै व्यापार गरेपछि राजनीतिमात्र होइन अवकासको जीवन पनि सुखमय हुन्छ भन्ने मान्यता पलाएको छ । अझ मनी, मसल र माफियाको प्रयोग व्यापक हुन थालेको छ। 

बिजुक्छेको दलका नेताले केही लाख रुपियाँ खर्च गरी निर्वाचन जितिरहेका छन् । तर त्यही अवस्था अन्य ठाउँका उम्मेदवारका लागि छैन । त्यही भएर अहिले माफियागिरी, डनगिरी गर्नेहरूलाई सबैजसो दलले मौका दिएका छन् । दलहरूले स्थानीय स्रोत साधनको दोहन गर्ने, गिट्टी÷बालुवा बेच्ने आदि व्यक्तिलाई सहर्ष निर्वाचनमा मौका दिनुको कारण पनि यही हो। 

बिजुक्छेको दलले भक्तपुरमा जितिकन कम्तीमा त्यहाँ आफ्नो पद्धति बसाएको छ । नगर सफा भएको छ । नगरभित्र शैक्षिक पूर्वाधारलाई मौका दिइएको छ । भक्तपुर नगरपालिकाभित्र हुने जति काम काठमाडौंमा किन हुन सक्दैन ? भक्तपुरसँग भन्दा बढ्ता स्रोत काठमाडौं महानगरपालिकामा पनि छ । यहाँ हुन नसक्नुको कारण नेतृत्वको असफलता हो। 

एउटा सानो दल भएर पनि नेमकिपाले विचारको झिल्कोजस्तो गरी प्रभाव पार्न सक्छ भने ठूला दलका नेताहरूमा त्यस्तै इच्छाशक्ति हुने हो भने नेपाल बदलिन समय लाग्दैन । तर त्यसका लागि सैद्धान्तिक स्पष्टता, लोकतान्त्रिक व्यवहार र भ्रष्टाचार नगर्ने छवि हुनु आवश्यक छ । त्यतिमात्र होइन, सम्भावना भएका आफ्नो दलका युवा नेतालाई अघि सार्ने हो भने पनि अहिलेका धेरै समस्याको समाधान फेला पर्ने थियो। 

१९९६ फागुन २६ मा जन्मेका बिजुक्छेले मुलुकको राजनीतिमा पार्दै आएको प्रभावको मूल्यांकन अवश्य हुनेछ । २०४६ सालमा प्रजातन्त्र नआएको भए उनी शायदै यसरी सक्रिय हुन पाउने थिए । २०४५ सालको भूकम्पछि राहत वितरणको विषयमा भएको विवादले कर्णप्रसाद ह्योजुको हत्या भएपछि जेल परेका उनी जनआन्दोलन सफल भएपछि मात्र आफ्नो २० महिना लामो जेल जीवनबाट मुक्त भएका थिए।


२०३१ माघ १० मा तत्कालीन कम्युनिस्ट नेता पुष्पलालसँग विवाद भई नेमकिपा स्थापना गरेका उनी अविच्छिन्न त्यसको नेतृत्वमा छन् । लाग्छ, उनी अब त्यसको विस्तार र नेतृत्व हस्तान्तरणका निम्ति पनि क्रियाशील छन् । उनले आफ्नो राजनीतिक विस्तारका लागि जिल्ला जाने योजना शायद यसैका निम्ति बनाएका हुन्। 

साहित्यमा हरिबहादुर श्रेष्ठको नामले समेत चिनिएका नेता बिजुक्छे धेरै अर्थमा आफ्ना अभिव्यक्तिलाई सूत्रबद्ध गर्न सिपालु छन् । निरन्तर अध्ययन, चिन्तन र व्यवहारले मात्र यो तहको उचाइ हासिल गर्न सकिन्छ । राजधानी काठमाडौंमा छोटेमोटे नेताले समेत राज्यको सुरक्षा लिएर हिँडेका देखिन्छ । जनताका बीचमा हुर्केका नेतालाई राज्यको सुरक्षाभन्दा जनताको माया बढ्ता सुरक्षित हुन्छ । यो पाटो पनि अन्य नेताले सिके निकै राम्रो हुन्थ्यो। 

बिजुक्छे राजनीतिमा मात्र होइन, सर्वसाधारणका ससाना विषय समाधान गर्न पनि तयार हुन्छन् । कुनै बेला प्रज्ञा प्रतिष्ठानमा रहेका प्राज्ञहरूलाई हटाएर कांग्रेस, एमालेलगायतका दलले आफ्ना कार्यकर्ता राख्ने तयारीलाई संसदीय समितिबाटै तुहाइदिएका थिए । जिन्दगीभरि साहित्य सेवा गर्नेहरूलाई राज्यले केही सहयोग गरिरहे फरक पर्दैन भन्ने उनको मान्यता त्यहाँ रह्यो। 

कुनै पनि समस्या पर्नेले उनलाई गुहार्नासाथ दौडिहाल्छन् । भन्छन्, ‘दमकलजस्तो साथीहरूले बोलाए गइहालिन्छ ।’ हुनलाई बिजुक्छे उत्तर कोरियाली कम्युनिस्ट पार्टीले जस्तै ‘जुछे विचारधारा’ मान्छन् । तर नेतृत्व हस्तान्तरणमा भने उनले मुलुकका लोकतान्त्रिक भनिने सबैजसो दललाई पछि पारेका छन् । 

प्रकाशित: २० कार्तिक २०७४ ०३:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App