८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धनमा माओवादी पकड

दाङ – एमालेलाई साठी र माओवादीलाई चालीसका आधारमा भागबन्डा गर्ने सर्तमा बनेको वाम गठबन्धनले राप्तीमा आसन्न निर्वाचनमा एमालेको उपस्थिति कमजोर बनाइदिएको छ । राप्तीका ६ जिल्ला दाङ, सल्यान, रोल्पा, रुकुम पूर्वी र रुकुम पश्चिम तथा प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सिट माओवादीको भन्दा कम हुने भएको छ । 
कुल ८ निर्वाचन क्षेत्रमध्ये माओवादीले प्रतिनिधिसभाका ५ सिट पाउँदा राप्तीमा एमालेको २ छ भने राष्ट्रिय जनमोर्चाले बामगठवन्धनबाटै एक सिटमा उम्मेदवारी पाएको छ । यस्तै प्रदेशसभाका १६ सिटमध्ये माओवादीले ९ स्थानमा उम्मदवारी पाएको छ भने एमालेले ७ क्षेत्रमा मात्रै उम्मेदवारी पाएको छ।  

पहाडी तीन जिल्लामा एमाले उम्मेदवारी शून्य छ । पश्चिम रुकुममा प्रतिनिधिसभाका दुवै उम्मेदवार माओवादीकै छन् । यहाँको प्रदेश सभाका दुई क्षेत्र (क) मा राते कामी र (ख) मा  गोपाल शर्मा उम्मेदवार छन्। 

 दाङ, सल्यान, रोल्पा, रुकुम पूर्वी र रुकुम पश्चिम तथा प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सिट माओवादीको भन्दा कम हुने भएको छ । 

यसैगरी एउटा निर्वाचन क्षेत्र रहेको पूर्वी रुकुममा माओवादी नेत्री कमला रोका प्रतिनिधिसभा उम्मेदवार बन्दा प्रदेशका दुवै सिट माओवादीले नै पाएको छ । यहाँ प्रदेश (क) मा तेजबहादुर वली र (ख) मा पूर्णबहादुर घर्ती उम्म्मेदवार छन् ।
यसैगरी माओवादी नेता वर्षमान पुन प्रतिनिधिसभा उम्मेदवार बनेको रोल्पाको प्रदेशसभाको दुवै क्षेत्रमा माओवादीकै उम्मेदवार चयन भए । प्रदेशको (क)  कुलप्रसाद केसी र (ख) मा दीपेन्द्र पुन उम्मेदवार चुनिए। 

वामदेव गौतमको पुरानो निर्वाचन क्षेत्र प्युठानमा समेत एमालेले आफ्नो उपस्थिति  बलियो बनाउन सकेन । राष्ट्रिय जनमोर्चालाई वाम गठबन्धनमा समावेश गर्ने योजनाअनुसार एमाले र माओवादी राजमोलाई  प्रतिनिधिसभामा सिट छोडिदिन तयार भए । एकै निर्वाचन क्षेत्र रहेको प्युठानमा राजमोकी दुर्गा पौडेल गठबन्धनतर्फबाट प्रतिनिधिसभा उम्मेदवार हुन् । प्रदेशसभाका लागि भने एमालेले त्यहाँको एउटा क्षेत्र पाएको छ भने अर्को क्षेत्रमा माओवादीका उम्मेदवार चयन भएका छन् । प्युठानको प्रदेशसभा (क) मा एमालेका हरि रिजाल र (ख) मा  माओवादीका कृष्णध्वज खड्का उम्मेदवार छन्।

तीन निर्वाचन क्षेत्र रहेको दाङमा एमालेले प्रतिनिधिसभामा दुई सिट पाएको छ । यहाँको १ नम्बर क्षेत्रमा वाम गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरी उम्मेदवार बनेका छन् । ३ नम्बर क्षेत्रबाट हीराचन्द्र केसीलाई एमालेले उम्मेदवारी बनाएको छ। 

एमालेको अर्को कमजोरी  हेभिवेट नेताहरू
यहाँबाट ‘ब्याक’ भएका छन् । दाङमा पार्टी नेता शंकर पोख्रेलसमेत प्रतिनिधिसभाको उम्मेदवार बन्न वञ्चित भएका छन्। यहाँको दुई नम्बर क्षेत्रमा पोख्रेललाई पछि पार्दै माओवादीका कृष्णबहादुर महराले बाजी मारेका छन् । पोख्रेलले यसै क्षेत्रमा आफ्नो चुनावी अभियान व्यापक बनाएका थिए । प्रतिनिधिसभाको उम्मेदवार रेसबाट बाहिरिएका पोख्रेल प्रदेशसभामा थन्किएका छन् । उनले केही दिनअघि काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूले नचाहँदानचाहँदै पनि प्रदेशमा चित्त बुझाउन बाध्य भएको बताएका थिए । प्रदेशसभाका लागि कुल ६ निर्वाचन क्षेत्रमध्ये एमालेले दाङमा चार सिट पाएको छ भने माओवादीले दुई सिट फुत्काएको छ । १ नम्बर क्षेत्रमा एमाले र माओवादीले प्रदेशसभाका लागि एकएक सिट पाएका छन् । वामगठबन्धनका तर्फबाट प्रदेशसभाका लागि १ को (क) मा माओवादीका इन्द्रजित थारू उम्मेदवार बनेका छन् । उनि पहिलो संविधानसभामा यही क्षेत्रबाट निर्वाचित भएका थिए । यसैगरी (ख) क्षेत्रमा एमालेका रेवतीरमण शर्मा उम्मेदवार बनेका छन् । उनी पछिल्लो संविधानसभा निर्वाचनमा १ नम्बर क्षेत्रबाट पराजित भएका थिए । 
२ मा प्रतिनिधिसभाका लागि माओवादी नेता महरालाई स्वीकारेको एमालेले प्रदेशसभामा दुईवटै सिट पाएको छ।

महरासँग पछि हटेका शंकर पोख्रेल यस क्षेत्रको (क) बाट प्रदेशसभा उम्मेदवार बनेका छन् भने (ख) क्षेत्रमा अमरबहादुर डाँगीलाई वाम गठबन्धनले उम्मेदवार चयन गरेको छ ।  यसैगरी ३ नम्बर क्षेत्रमा पनि एमाले र माओवादीले प्रदेशसभाका एकएक सिट बाँडेका छन् । ३ को (क) मा माओवादीका जगप्रसाद शर्मा र (ख) मा एमालेका उत्तरकुमार ओली उम्मेदवार चुनिएका छन् । ओली पछिल्लो संविधानसभा निर्वाचनमा कांग्रेस नेता दीपक गिरीससँग तत्कालीन क्षेत्र नम्बर ५ मा पराजित भएका थिए। 

एमालेका सचेतक गोकुल घर्तीको जिल्ला रोल्पामा पनि एमाले स्विप भएको छ । गोकुल एमालेबाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस भएका थिए । तर भागबन्डा मिलाउँदा एमाले प्रदेशसभा उम्मेदवारीबाटै वञ्चित भएको छ। 
सल्यानमा पनि एमालेले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेदवारी सुरक्षित राख्न सकेन । माओवादी नेता तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेतले प्रतिधिधिसभाको उम्मेदवारीका लागि बाजी मारेका छन् । एमाले नेता प्रकाश ज्वाला रहेको जिल्लामा प्रतिनिधिसभाका लागि देखिएको माओवादी प्रभावलाई एमालेका नेताहरूले अस्वाभाविक महसुस गरेका छन् । प्रतिनिधिसभाका लागि माओवादीलाई सिट छोडिदिएको एमालेले प्रदेशका लागि भने दुवै सिट आफूले पाएको छ । प्रदेशसभा (क) मा एमालेका गुलाबजंग शाह र (ख) मा प्रकाश ज्वाला भिडेका छन्। 

प्रकाशित: २० कार्तिक २०७४ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App