coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नयाँ मतदाता निर्णायक

ताप्लेजुङ – एक क्षेत्र रहेको प्रतिनिधिसभामा ८ तथा २ क्षेत्र रहेको प्रदेशसभामा १५ जना उम्मेदवार रहे पनि पहाडी जिल्ला ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा भने वाम र लोकतान्त्रिक शक्तिबीच नै हुने देखिएको छ । तर यसका लागि थपिएका नयाँ मतदाता निर्णायक देखिन्छन् ।

प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई चुनावी मैदानमा छन् । शीर्ष पार्टीका पदाधिकारी नै उम्मेदवार रहने उनीमात्र एक हुन् । उनका प्रतिस्पर्धीमा कांग्रेसका केशवप्रसाद दाहाल र राष्ट्रिय जनमुक्ति पार्टीका आइत मावो छन् । 

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन बनाएर फुङलिङ नगरपालिकाको मेयरमा उठे पनि एमाले उम्मेदवार छत्रपति प्याकुरेलसँग पराजित कांग्रेस उम्मेदवार दाहालका लागि अहिलेको निर्वाचन ठीक उल्टो छ । मेयरमा उठ्दा उनी माओवादीको साथमा थिए । अहिलेको चुनावमा माओवादी केन्द्र उनीविरुद्धमा छ । 

७८ हजार ३ सय ९७ मतदाता रहेको ताप्लेजुङमा गएको स्थानीय तहको चुनाव पछि ७ हजार ६ सय १८ जना मतदाता थपिएका छन् । २०७० सालको संविधानसभा निर्वाचनभन्दा १९ हजार ५ सय ८८ मतदाता थपिएको ताप्लेजुङमा प्रतिनिधिसभामा एमाले–माओवादी गठबन्धनसँगै कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्रवादी (राष्ट्रवादी), राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नयाँ शक्ति पार्टी र मंगोल नेस्नल अर्गनाइजेसनका उम्मेदवार प्रतिस्पर्धामा छन् । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं १ मा ३२ हजार ९ सय ५० मतदाता रहेको यहाँको क्षेत्र नं २ मा २५ हजार ८ सय ५९ मतदाता थिए । अहिले यी क्षेत्रको मतदाता संख्या क्रमश ४३ हजार ५३६ र ३४ हजार ८६१ पुगेको छ ।

२०७० मा संसदीय क्षेत्र रहेका २ स्थान अहिले प्रदेशसभाका लागि कायम भएका छन् । यसरी हेर्दा क्षेत्र नं १ मा २०७० सालभन्दा अहिलेको निर्वाचनका लागि १० हजार ५८६ जना तथा क्षेत्र नं २ मा ९ हजार २ जना मतदाता थपिएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा यहाँका दुवै क्षेत्रमा विजयी एमालेले क्षेत्र नं १ मा ७ हजार ४३४ र क्षेत्र नं २ मा ७ हजार ३४ मत गरी कुल १४ हजार ४६८ मत पाएको थियो । दुवै क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी रहेको कांग्रेसले क्षेत्र नं १ मा ७ हजार २९५ तथा क्षेत्र नं २ मा ४ हजार ८७४ मत गरी १२ हजार १६९ मत पाएको थियो।

त्यसबेलाको निर्वाचनमा दुवै क्षेत्रमा तेस्रो प्रतिस्पर्धी रहेको माओवादी केन्द्रले क्षेत्र नं १ मा ६ हजार २७९ र क्षेत्र नं २ मा ४ हजार ५५७ मत गरी कुल १० हजार ८३६ मत पाएको थियो। 

गएको स्थानीय तहको निर्वाचनमा नगरपालिकासहित ४ वटा स्थानीय तहमा कांग्रेस र माओवादी, एउटामा कांग्रेस र राप्रपा, एउटामा एमाले र संघीय लिम्बुवान मञ्च तथा एउटामा माओवादी केन्द्र र लिम्बुवान मञ्चबीच चुनावी तालमेल भएको थियो। 

परिणाम भने नगरपालिकासहितका ५ स्थानीय तहको प्रमुख पद तथा ५ उपप्रमुखमा एमाले, ४ प्रमुख र २ उपप्रमुखमा कांग्रेस तथा २ उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए। 

प्रदेशसभा १ (क) मा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङ र कांग्रेसबाट जिल्ला सभापति लीलादेवी बोखिमसहित ७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । १ (ख) मा एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादी केन्द्रका सचिवालय सदस्य टंक आङबुहाङ र नेपाली कांग्रेसका महासमिति सदस्य तथा जिल्ला विकास समितिका पूर्वसभापति दीपेन्द्र सेन्दाङसहित ८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

 

प्रकाशित: २० कार्तिक २०७४ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App