काठमाडौं – एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभामा हुने चुनाव खर्च जुटाउन विदेशमा रहेका शुभेच्छुकहरूसँग रकम संकलन गर्ने भएको छ । खर्च व्यवस्थापन गर्न माधवकुमार नेपालको नेतृत्वमा गठित समितिले चुनाव खर्चका लागि आन्तरिक स्रोत परिचालन गर्ने योजना बनाएको छ, जसमा विदेशमा बस्ने नेपाली प्रमुख स्रोतका रूपमा रहेका छन् ।
‘देशभित्र कार्यकर्ता तथा समर्थकबाट एक सय रुपैयाँ र विदेशमा रहेका नेपालीबाट एक सय अमेरिकी डलरदेखि एक हजार अमेरिकी डलर उठाउने योजना छ,’ समिति सदस्य सुरेन्द्र पाण्डेले नागरिकसँग भने, ‘चुनावखर्चका लागि पार्टी कार्यकर्ता र शुभेच्छुकहरूसँगै रकम संकलन गर्ने योजनामा छौं।’
नेपाल नेतृत्वमा रहेको समितिमा उपाध्यक्ष वामदेव गौतम, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटीका सदस्य पाण्डे सदस्य छन् । पौडेल र पाण्डे पूर्वअर्थमन्त्री हुन्।
एमालेले विदेशमा रहेका नेपालीसँग रकम संकलन गर्न त्यहाँ रहेका पार्टी कमिटी परिचालन गरेको छ । विदेशमा रहेका पार्टी सदस्यबाट एक हजार अमेरिकी डलर उठाउने योजना पार्टीको छ । ‘वैदेशिक रोजगारीका लागि गएका पार्टी सदस्यसँग एक सय र व्यापार व्यवसाय गरेर बसेका सदस्यसँग एक हजार अमेरिकी डलर सहयोग उठाउने योजना छ,’ पाण्डेले नागरिकसँग भने।
तीन वर्षअघि भएको नवौं महाधिवेशनमा एमालेका २ लाख ५६ हजार संगठित सदस्य थिए । तीमध्ये १० हजारभन्दा बढी विदेशमा छन्।
‘पहिलो विश्वमा रहेका पार्टीको शुभेच्छुकबाट आर्थिक सहयोगको अपेक्षा गरेका छौं । पार्टीको चुनाव खर्चको प्रमुख स्रोत पनि यही हो,’ एमाले युरोप इन्चार्ज रामकुमारी झाँक्रीले भनिन्, ‘वैदेशिक रोजगारीमा गएका शुभेच्छुकलाई रकमभन्दा पनि नेपालको चुनावमा पार्टीका पक्षमा शुभेच्छा सन्देश प्रवाह गर्ने गरी परिचालन गरिनेछ ।’ झाँक्रीले यसबाट विदेशमा रहेका नेपाली चुनावसँग जोडिने बताइन्।
चुनावका लागि एमालेले अमेरिकाबाट ६ करोड र युरोपबाट ४ करोड रुपैयाँ उठाउने लक्ष्य राखेकोे छ । त्यसैगरी जापान, दक्षिण कोरिया, हङकङबाट कम्तीमा एकएक करोड उठाइने भएको छ।
खाडीका ८ देश, अमेरिकाका २२ राज्य र युरोपका २२ देशमा एमालेको कमिटी छ । खाडी क्षेत्रमा पनि एमाले जिल्ला कमिटी हैसियतका कमिटी छन्।
प्रवासी नेपाली मञ्चका रूपमा सक्रिय एमाले कमिटी विश्वका विभिन्न देशमा छन् । बेलायत एमालेका करिब १ हजार २ सय पार्टी सदस्य छन् । पार्टीले २ सय संगठित सदस्य रहेका देशमा जिल्ला कमिटीसरहको मान्यता दिएको छ ।
एमालेले प्रत्येक चुनावमा बढ्दै गएको खर्चअनुसार उम्मेदवारलाई नगद उपलब्ध गराउँदै आएको छ । पार्टीले प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो संसदीय चुनावमा एक उम्मेदवारलाई ५ हजार रुपैयाँ दिएको थियो । २०५१ को मध्यावधि निर्वाचनमा २० हजार र २०५६ सालको आमनिर्वाचनमा ५० हजार रुपैयाँ दिइएको थियो । एमालेले पहिलो संविधानसभा निर्वाचनमा एकजना उम्मेदवारलाई एक लाख रुपैयाँ र दोस्रो संविधानसभा चुनावमा २ लाख रुपैयाँ उपलब्ध गराएको थियो।
‘अहिलेसम्म पैसा उठेको छैन । बास्केटमा जति जम्मा हुन्छ, उम्मेदवारहरूलाई दामासाही रूपमा बाँड्नेछौं,’ पाण्डेले भने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई पार्टीका तर्फबाट थोरै रकम भए पनि सहयोग हुन्छ । कमिटीका सबै पदाधिकारी आआफ्नो चुनावी अभियानमा भएकाले अहिले बैठक बस्न सकेको छैन।’
निर्वाचन आयोगले खर्चको सीमा तोके पनि पछिल्लो समयमा खर्च ह्वात्तै बढेको छ । पार्टीले उपलब्ध गराउने रकम निकै न्यून हुने भन्दै उम्मेदवार आफैंले खर्चको व्यवस्थापन गर्दै आएका छन् । कतिपय नेता खर्च व्यवस्थापन गर्न नसक्दा उम्मेदवार बन्नबाट वञ्चित भएका छन् । एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बिबिसीसँगको अन्तर्वार्तामा खर्चका जोहो गर्न नसक्ने भएकाले आफू उम्मेदवार नबनेको बताएका छन् । उपाध्यक्ष ज्ञवाली प्रत्यक्षतर्फ चुनाव नलड्ने एमालेका एक्ला पदाधिकारी हुन्।
निर्वाचन आयोगले प्रतिउम्मेदवार प्रतिनिधिसभातर्फ २५ लाख र प्रदेशसभामा लागि १५ लाख रुपैयाँ खर्चको सीमा तोकेको छ ।
प्रकाशित: २० कार्तिक २०७४ ०२:०५ सोमबार