८ वैशाख २०८१ शनिबार
राजनीति

फोरमले खर्च नदिने, राजपा वर्गीकरण गर्दै

काठमाडौं – संघीय फोरम र राष्ट्रिय जनता पार्टी नेपालले चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको गुनासो गरेका छन्। 
राजपाले प्रत्यक्षतर्फ चुनाव लडेका नेतालाई  केन्द्रबाट आर्थिक सहयोग गर्न क, ख र ग गरी तीन श्रेणीमा वर्गीकरण गर्ने भएको छ । सो दलका अनुसार क श्रेणीमा  परेका उम्मेदवार विजय सुनिश्चित भएका, ख श्रेणीमा परेका उम्मेदवार प्रतिस्पर्धामा रहेका र ग श्रेणीमा परेका उम्मेदवार पार्टीको उपस्थिति  देखाउन मात्र चुनाव लडेका उम्मेदवार हुनेछन्।
२ नम्बर प्रदेशमा उम्मेदवारी दिएका सबै उम्मेदवार क श्रेणीमा पर्ने भएका छन् । राजपाले प्रतिनिधिसभाका लागि २ नम्बर प्रदेशमा १५ सहित देशभर ६१ जना उम्मेदवार उठाएको छ । प्रदेशसभामा १ सय २२ उम्मेदवार छन्।   

पार्टी प्रवक्ता सन्तोष मेहताले भने, ‘न्यूनतमदेखि अधिकतम कति सहयोग कसरी गर्न सकिन्छ, छलफल भइरहेको छ,’ उनले भने । कात्तिकभित्रै सबै उम्मेदवारलाई आर्थिक सहयोग गर्ने तयारी भएको पनि उनले बताए । राजपा अध्यक्ष मण्डलका सदस्यहरूले चुनावमा पार्टीलाई आर्थिक सहयोग गर्न देशका प्रतिष्ठित व्यवसायी, उद्यमी, व्यापारीसँग आग्रह गरेको पनि मेहताले  जानकारी गराए । उनले भने, ‘उहाँहरूले कति सहयोग गर्नुहुन्छ, त्यही आधारमा हामीले उम्मेदवारलाई सहयोग गर्छौं ।’

राजपाका कोषाध्यक्ष कवीन्द्र ठाकुरले भने राजपा सरकारमा नगएकाले आर्थिक संकट परेको बताए । उनले भने, ‘व्यापारी व्यवसायीले पनि ठूला पार्टीलाई मात्र दिन्छन् । साना पार्टीलाई वास्ता गर्दैनन् ।’ पार्टीको आर्थिक अवस्थाबारेमा आफूलाई केही  जानकारी नभएको उनले बताए। 

यस्तै संघीय फोरमका नेताले यस वर्ष चुनाव लड्न पार्टीलाई आर्थिक संकट परेको बताएका छन् । फोरमका कोषाध्यक्ष विजय यादवले भने, ‘केन्द्रमा पार्टीलाई ठूलो संकट परेको छ । संकटकै कारण चुनाव लड्न उम्मेदवारलाई आर्थिक सहयोग गर्न सक्ने स्थितिमा छैनौं ।’

संघीय फोरमले टिकट बाँड्ने बेलामै उम्मेदवारलाई केन्द्रबाट आर्थिक सहयोग गर्न नसकिने जनाएको थियो । पार्टीका कोषाध्यक्ष तथा आर्थिक विभागका प्रमुख विजय यादवले भने, ‘हामीले कार्यक्रम गरेरै पार्टीका उम्मेदवारलाई टिकट दिँदा तपाईंहरूलाई केन्द्रबाट आर्थिक सहयोग गर्न सक्दैनौं, आफ्नो खर्च आफैं जुटाउनुहोला भनेका छौं।’ 

पार्टीका क्रियाशील सदस्य तथा केन्द्रीय सदस्यबाट उठेको शुल्क केन्द्रमा पार्टी कार्यालय सञ्चालन गर्नमै सकिने उनले बताए । उनका अनुसार संघीय फोरमका क्रियाशील सदस्य देशभर ८० हजार छन् भने केन्द्रीय समिति २ सय ११ सदस्यीय छ । क्रियाशील सदस्यले वर्षमा ६० रुपैयाँ र केन्द्रीय सदस्यले प्रतिमहिना न्यूनतम एक सय रुपैयाँदेखि अधिकतमा जति पनि बुझाउन सक्ने पार्टीको प्रावधान छ । कोषाध्यक्ष यादवले केन्द्रीय कार्यालय सञ्चालन गर्न प्रत्येक महिना करिब साढे दुई लाख खर्च हुने बताए।

 

प्रकाशित: २० कार्तिक २०७४ ०१:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App