८ वैशाख २०८१ शनिबार
समाज

कीर्तिपुरको दमकल काठमाडौंलाई

काठमाडौं- कीर्तिपुर नगरपालिकाले आफ्नो नाममा रहेको दमकल जुद्ध बारुण यन्त्र काठमाडौंलाई दिने भएको छ। नगरपालिकाले सोमबार एक कार्यक्रम गरी जुद्ध बारुणयन्त्रलाई हस्तान्तरण गर्न लागेको छ। नगरपालिकाले केही वर्ष अघि दमकल खरिद गरे पनि सञ्चालन नगरी थन्क्याएर राखिरहेको थियो। 'अनेक अनुरोध र लामो समयको प्रयासपछि नगरपालिकाले बारुण यन्त्रलाई दमकल दिन लागेको हो,' बारुण यन्त्र काठमाडौंका प्रमुख किशोर भट्टराईले भने, 'बारुण यन्त्रसँग भएका दमकलहरु विग्रदै गएकाले अहिले एउटा मात्रै चल्ने सक्ने अवस्थामा छ।' भट्टराईका अनुसार स्थानीय स्वायत्त :  शासन ऐनले प्रत्येक नगरपालिकामा एउटा दमकल हुनुपर्ने प्रावधान अनुसार किर्तिपुर नगरपालिकाले केही वर्ष पहिले खरिद गरेता पनि सञ्चालन गर्न जनशक्ति  नभएपछि थन्काएर राखेको थियो। 

स्थानीय स्वायत्तः शासनले व्यवस्था गरेको ऐन अनुसार नगरपालिकाले दमकल किन्दा ९० प्रतिशत बजेट स्थानीय बिकास मन्त्रालयले व्यवस्था गर्दछ। १० प्रतिशत बजेट नगरपालिकाले हाले पुग्छ। तर नगरपालिकाले भने दमकल किनेर सञ्चालन गर्न सकिरहेका छैनन्।

बारुण यन्त्रसँग एउटा मात्र दमकल

काठमाडौंभित्र आगो लागेमा नियन्त्रणका लागि काठमाडौं महानगरपालिका (कामपा)बाट सञ्चालित जुद्ध बारुण यन्त्र दमकल लिएर पुग्ने गर्दछ। तर बारुण यन्त्रसँगै अहिले भने चल्न सक्ने अवस्थामा एउटा मात्र दमकल रहेको भट्टराईले जनाए। 'बारुण यन्त्रसँग अहिले साना ठूला गरी ६ वटा दमकल छन् तर चल्न सक्ने अवस्थामा भने एउटा मात्र छ,' उनले भने, 'एकै पटकमा दुई ठाँउमा आगलागी भयो भने चाहिँ समस्या हुन्छ।' उसो बारुण यन्त्रले काठमाडौंमा हुने आगलागीमा आवश्यकता अनुसार भक्तपुर र ललितपुरमा रहेका दमकल पनि प्रयोग गर्दै आएको छ। उपत्यकामा हुने जामको कारणले गर्दा भक्तपुर तथा ललितपुरका दमकल आउँदा भने समय लाग्छ। बारुण यन्त्रसँग भएका ६ वटा दमकल मध्ये पाँच वटा विग्रिएर बसेका छन। 'मेसिनरी सामग्री कुनबेला विग्रिन्छ थाहै हुँदैन। सोमबार किर्तिपुरले दिएपछि भने केही राहत पुग्नेछ।'

बिग्रिएका दमकल किन बन्दैनन्?

दमकल विग्रिएर महिनौं थन्किएर एउटा मात्र दमकल रहँदा पनि बनाउन चासो देखाइएको छैन। भट्टराईले दमकल विग्रिएमा बनाउने अधिकार आफूसँग नभएकाले काम हुन नसकेको कारण देखाए। 'दमकल बिग्रिएमा मैले फाईल उठाएर महानगर पठाउने हो,' उनले भने, 'महानगरको लामो प्रक्रियाको कारण काम छिटो हुन सकेको छैन।' दमकल बिग्रिएमा बारुण यन्त्रले फाईल उठाएर महानगरको विपद शाखामा पठाउने गर्दछ। विपद शाखाले हेरेपछि बजेट शाखा हुँदै मेकानिकलमा जान महिनौं लाग्ने गरेको उनले बताए। फाईल अड्किरहने हुनाले पनि दमकल बन्न नसकेको उनले सुनाए।

'एउटा दमकलको भल्बो बिग्रिएर असोजमै महानगरले बनाउने भनेर लगेको उक्त दमकल बन्न सकेको छैन,' भट्टराईले भने, 'अरु दमकलको पनि फाइल त अगाडि बढेको छ तर कहिले काम हुन्छ टुंगो छैन।'

यता महानगरले भने दमकलको बिग्रिएको सामान सजिलै नपाईएकाले तुरुन्तै बनाउन नसकिएको बतायो। 'दमकलको सामान सजिलै पाइन्न,' महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले भने, 'विदेशमा पनि सामान अर्डर गरेर मात्रै पाईने हुँदा बनाउन ढिला भएको हो।'

वर्षातको समय शुरु भएकाले अब भने दमकल एउटा मात्रै रहँदा पनि डराउनुपर्ने अवस्था नरहेको र किर्तिपुरले दिएपछि दुईवटा हुने तथा आर्मी पुलिससँग पनि  सहकार्य गरेर काम गरिरहेकाले विपदको बेला समस्या नहुने तामाङको ठहर छ।

महानगरले दमकल खरिद गर्ने योजना पनि बनाएको छ तर दमकल खरिदको लागि पनि लामो प्रक्रिया रहेकाले तत्कालै नहुने उनले बताए। उसो त दमकल किनेर राख्ने ठाउँको समेत अभाव रहेको उनले जनाए।

यता वारुण यन्त्रको नाममा अमेरिकाको एक संस्थाले ८ वटा दमकल तथा विभिन्न विपद व्यवस्थापनका सामग्री दिन लागेको भट्टराईले जनाए। आउँदो मंसिरसम्ममा अमेरिकाबाट दमकल आउने पनि भट्टराईले दावी गरे। १९९४ सालमा स्थापना भएको वारुण यन्त्र हालसम्म न्यूरोडमा मात्रै रहेर सञ्चालन भएको छ। महानगरले अब भने चावहिल, कोटेश्वर, बल्खु र कंलकी गरेर चार ठाउँमा  शाखा विस्तार गर्ने तयारी समेत गरिरहेको छ।

प्रकाशित: ६ असार २०७३ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App