६ वैशाख २०८१ बिहीबार
राजनीति

सुनसरी ४ का फोरम उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता, काँग्रेसलाई सघाउने

बहालवाला अर्थमन्त्री एवं काँग्रेस उम्मेदवार ज्ञानेन्द्र कार्की

इटहरी—सुनसरी क्षेत्र नं. ४ मा संघीय समाजवादी फोरम नेपालले नेपाली काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्कीलाईं सघाउने भएको छ। फोरम नेपालका प्रतिनिधिसभाका उम्मेदवार मनोजकुमार यादवले आइतबार उम्मेदवारी फिर्ता लिएर कार्कीलाई सघाउने भएका हुन्।

आन्दोलन मार्फत मधेस मुद्दालाई स्थापित गरेर राजनीतिक आधारशीला खडा गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानसभा निर्वाचनमा जितेको निर्वाचन क्षेत्रमा पर्ने यसमा अब काँग्रेसलाईं सघाउने केन्द्रीय सदस्य पदम अधिकारीले बताए। काँग्रेसले प्रतिनिधिसभा क्षेत्र नं. १ का फोरम नेपालका बरिष्ठ नेता अशोक राईंलाई सघाएपछि क्षेत्र नं. ४ मा काँग्रेसलाईं सघाएको हो।

यसअघि यसअघिको दुई दलबीचको सहमतिअनुसार, क्षेत्र नं. ४ ‘ख’ मा पनि फोरम नेपालका तर्फबाट उम्मेदवारी फिर्ता लिने निर्णय भएको थियो। तर फिर्ता नभएपछि अब स्वच्छ प्रतिस्पर्धा हुने भएको छ।

यसअघि सुनसरीको क्षेत्र नं. ५ मा पर्ने यो क्षेत्रमा ०४८ सालको आम निर्वाचन, ०५१ सालको मध्यावधि निर्वाचनमा काँग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले दुई पटकसम्म जिते पनि संविधानसभा पहिलो तथा दोस्रो निर्वाचनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जितेका थिए। यसपटक उनी यो क्षेत्रबाट चुनाब लडेनन् ।

क्षेत्र नं. ४ मा अहिले बराह नगरपालिकाको वडा नं. ६ देखि ११ सम्मका वडा, रामधुनीको वडा नं. ४, कोशी गाउँपालिका पुरै, हरिनगरा गाउँपालिकाको वडा नं. १, २, ४, ५, ६ र ७ पर्छन् । यस्तै, भोक्राहा गाउँपालिका पुरै र इनरुवा नगरपालिकाको वडा नं. ३, ४ र ८ क्षेत्र नं. ४ मा गाभिएका छन्।

फोरम नेपालले उम्मेदवारी फिर्ता लिएसँगै अब क्षेत्र नं. ४ मा काँग्रेसका नेता वाहालवाला अर्थमन्त्री कार्की र बाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ। यी दुवै नेता पहिलोपटक आमने सामने हुँदैछन्।

२०५६ सालको संसदीय निर्वाचन र ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कार्की भोजपुरबाट झिनो मतान्तरले हारेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा उनी समानुपातिकमा बसे। अहिले उनी काँग्रेसको भावनात्मक सम्बन्ध जोडिएको स्थानबाट चुनाब लड्दैछन्। श्रेष्ठ एक वर्षअघि राप्रपा नेपालबाट एमालेमा प्रवेश गरेका हुन्।

क्षेत्र नं. ४ मा प्रदेशसभामा ‘क’ मा बाम गठबन्धनबाट एमालेका जगदीस कुसियत, काँग्रेसका रेवतीरमण दुलाल र संघीय समाजवादी फोरम नेपालका हरि गोविन्द यादवबीच त्रिपक्षीय प्रतिष्पर्धा हुदैछ। यस्तै ४ ‘ख’ मा बाम गठबन्धनबाट माओवादीका वाहालवाला राज्य मन्त्री जाकिर हुसैन, काँग्रेसका महम्मद ताहिर मियाँ र संघीय समाजवादी फोरम नेपालका मनोजकुमार यादवबीच प्रतिष्पर्धा हुदैछ ।  यो क्षेत्रमा एक लाख ११ हजार ४९० छन् । यसमा पुरुष ५९ हजार २४५ र महिला ५२ हजार २४५ छन् ।

अाठ जनाद्वारा उम्मेदवारी फिर्ता
सुनसरी जिल्लाबाट आठ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र नंं. ४ बाट संघीय समाजवादी फोरम नेपालका मनोज यादवसँगै प्रदेशसभा ४ ‘ख’ बाट नेपाली जनता दलकी ममताकुमारी मेहताले उम्मेदवारी फिर्ता लिएकी छन् । यस्तै, क्षेत्र नं. १ ‘क’ बाट काँग्रेसका बागी उम्मेदवार मदन ढकालले फिर्ता लिए । उनले काँग्रेसका किशोर राईंबिरुद्द उम्मेदवारी दिएका थिए।

क्षेत्र नं. १ ‘ख’ मा मुख्य मन्त्रीका दाबेदार एमालेका सचिब भिम आचार्यबिरुद्द उम्मेदवारी दिएका बरुण राईले पनि फिर्ता लिए । एमाले जिल्ला कार्यबाहक अध्यक्ष रमेश बस्नेतले राई निर्वाचन कार्यालयमा सँगै लिएर उम्मेदवारी फिर्ता लिन लगाएका हुन् । क्षेत्र नं. २ मा नेपाली जनता दलकै तर्फबाट प्रतिनिधीसभाका उम्मेदवार बिनोदकुमार साहले उम्मेदवारी फिर्ता लिए।

अर्का स्वतन्त्र उम्मेदवार देवनारायण सुतिहारले फिर्ता लिए । निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट नेपाली काँग्रेसको उम्मेदवार कुमार थापाबिरुद्ध बागी दिएका महेषप्रसाद बास्तोलाले फिर्ता लिए। यस्तै, प्रतिनिधीसभाबाट स्वतन्त्र उम्मेदवार साजनकुमार ऋषिदेवले फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। आठ जनाले उम्मेदवारी फिर्ता लिएपछि अब प्रतिनिधीसभाका चारवटा निर्वाचन क्षेत्रमा ५२ जना र आठवटा प्रदेशसभाका लागि ९३ जना उम्मेदवार कायम भएका छन्।

प्रकाशित: १९ कार्तिक २०७४ १२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App