८ वैशाख २०८१ शनिबार
विचार

ओली सरकारका देन

हरेक संकटले अवसर पनि ल्याउँछ। 'जिउँदो हात्ती एक लाख मरे हात्ती दुई लाख' त्यसै भनिएको होइन। ओली सरकारले आफ्नो नौ महिने शासनकाल, जाँदाजाँदैको घडीमा समेत छाडेर गएका केही दूरगार्मी प्रभावभन्दा पनि त्यसको रक्षा र निरन्तरताको पक्षमा उभिएको सचेत जनमत एक उदाहरण हो। योबीचमा ठूला राजनीतिक दल र तिनका केही थान हर्ताकर्ता नेताको राजनीतिक डिप्रेसन र अरुको योग्यता, इमान, देशभक्ति, लोकप्रियता र महानायकीय भूमिकाप्रतिको जलन सतहमा आएको छ। भ्रमका धेरै पर्दा हटेका छन्। देश एकपटक 'ठूला भ्रम, सत्य साधारण' को सही लिकमा उभिएको छ। देशप्रति केही टाठाबाठाले लिएको ठेकेदारी तोडेर जनसमुदायको समुद्र आफँै उचालिनु र युवा पुस्ता राजनीतिप्रति आकर्षित हुनु ओली सरकारको पालामा देखिएका केही पृथक प्रकृतिका परिदृश्य हुन्। यो विगतका अन्य जस्तो सरदर सरकार रहेन किनकि यसले निम्न प्रकारका देन दिएको छ  :

राष्ट्रियताको पुनर्जागरण

ओलीको उदय हुनुअघिसम्म एमालेमा माधव नेपाल, मुलुकभर माओवादी, मधेसमा मधेसवादी र दक्षिण एसियामा मोदीको शक्ति र सेखी अपरिमित थियो। ओलीको महत्ता नै यी चार म अर्थात् माधव नेपाल, माओवादी, मघेसवादी र मोदी प्रशासनको सेखी चूर्ण  गर्नुमा छ। भारतमा सन् १९७२ तिर इन्दिरा गान्धीपछि शक्तिशाली प्रधान मन्त्रीका रूपमा नरेन्द्र मोदी आएपछि  पश्चिमा प्रभुहरु हौसिए। उनीहरुले वि्र्कमिया स्वेच्छाले रुसमा विलय भएको बदलामा नेपालमाथि सिक्किमीकरण वा पूर्वी पाकिस्तान शैलीको विभाजनको संकट थोपर्ने आदेश दिए। यस्तै कठिन मोडमा नेपालले ओलीलाई भेट्टायो। यसरी ओली आफ्नो युगका अमरसिह थापाका रूपमा उदाउनु र शिथिल भएको राष्ट्रियताको आन्दोलनलाई युवा पुस्ताको मन मस्तिष्कमा पुर्‍याउनु महत्वपूर्ण उपलब्धि हो। राजनीति फोहोरी खेल हो भनेर पन्छिने तटस्थ जनमत स्वाभिमान र समृद्धिको ओली डक्ट्रिनको पक्षमा उभिनु सानो उपलब्धि होइन। आफू छुट्टै नदेखिइकनै यो कृतकार्य जनताको साथ लिएर जनता जनार्दनको काखमा रहेर फत्ते गरिएको छ। युवा पुस्ता भ्रमित हुनु र उदासिन हुनु निष्ठाको राजनीतिका लागि घातक हुन्छ भने चेतना विस्तार हुनु अवसरवादका लागि गलपासो हुन्छ। अगामी दिनमा ओली र एमालेलाई जनमत र जनसमर्थनको सहकाल आउनेछ भने सत्तारुढ दाहाल–देउवा (दादे) गुटलाई जनसमर्थनको अनिकाल पर्नेछ। त्यसैले राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको यो उक्तिको  गुढ अर्थ रहेको छ–  ठूलो पंक्तिको सहानुभूति ओलीतिर आकर्षित भएको देखिन्छ। जुन उनी स्वयं र उनको पार्टीको पुँजी पनि हो। ओलीले जम्मा गरेको यो पुँजी अबको सत्ता गठबन्धनका लागि पहिलो चुनौती हो।

विकास र समृद्धिको सपना

कांग्रेस धनाढ्य र नवधनाढ्य वर्गको पार्टी हो। कुनै जमाना थियो सामन्ती राजतन्त्र र कम्युनिस्ट अधिनायकवादको विपक्षमा उभिएकै भरमा कांग्रेसी कनिकाको बजार भाउ आकासिन्थ्यो। अब परिस्थितिले मात्र लोकतन्त्रवादी जनमत कांग्रेसको पोल्टामा पर्न सम्भव छैन। हिजोसम्म धनी पिताका पुत्रहरु बिनामेहनतमै हाबी भए। प्रधान मन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेलको जोडाले राजनीतिमा विदेशी डिग्री अनिवार्य छैन तर जनताका जिग्री हुन भने अनिवार्य छ भन्ने सत्य स्थापित गरेको छ। फालाफाल चुनावी खर्चको बलमा कांग्रेसजन सत्ता र शक्तिमा काइझैँ जमेर बस्ने युग नरहन सक्छ। अब बिपीको झोला बोकेका भरमा वा गणेश्ामान सिंहलाई सघाएका भरमा राजनीतिक पेन्सन पाउने युग रहेन। आफू उभिएको भुइँभन्दा एक पाइला पर नहेर्ने, भविष्यभन्दा बढी भातको चिन्ता गर्ने मतलवी संस्कृतिमाथि धावा बोलेर सामूहिकता, सचेतना, सत्यतथ्य र तर्कमा आधारित सचेत हस्तक्षेप र बहसको संस्कृति हाबी हँुदै गएको छ। पृथ्वीनारायण शाह, बिपी कोइराला र मदन भण्डारी जस्ता स्वप्नदर्शी र लक्ष्यवर्ती महानायकका कथा सुनेको युवा पुस्तासामु एक जिउँदो उदाहरणका रूपमा उभ्याउन सक्नु ओलीको विशिष्ट देन हो।

एमाले परिचयपत्र नवीकरण

२०५१ सालपछि यस पटक एमाले जनजीविका, सामाजिक सुरक्षा, सामाजिक न्याय र विकाससँग सम्बन्धित योजना र आयोजना दिएर निखारसहित आएको छ। निम्छरो नेतृत्वका कारण मदन र मनमोहनको अनुपस्थितिको डेढ दशकमा एमालेको पहिचान नै संकटमा परेको थियो। एमाले पार्टी भाले न पोथी, उभयलिङ्गी पार्टी, जात न गोत्रको पार्टी, कित्ता स्पष्ट नभएको पार्टी जस्ता खिल्लीपूर्ण टिप्पणीको सुनामी ओलीको आगमनसँगै रोकिन गयो। एमालेलाई कित्ता स्पष्ट गर भनेर कराउने डा. बाबुराम भट्टराई स्वयं न मार्क्सवाद न पुँजीवादको उभयलिङ्गी जमात खडा गर्दैछन् भने एमालेलाई प्रतिक्रियावादीको मतियार भनी नथाक्ने प्रचण्ड विश्व साम्राज्यवादको दक्षिण शक्तिशाली तावेदारको इमान्दार नोकरका रूपमा उभिएका छन्। यो देशको भाग्य र भविष्य, विकास र समृद्धि, स्वाभिमान र देशभक्तिको एकमात्र धरोहरका रूपमा जनताले थाहा पाउने र पत्याउने गरी एमालेलाई उभ्याउनु ओली सरकारको महत्वपूर्ण देन हो।

बन्चरी बिँंडको बिस्कुन

एमालेको गति रोक्न माओवादी उपयोग भएको देखियो भने ओलीको गति रोक्न एमालेकै वरिष्ठ नेताहरुले आफूलाई रुख काट्न प्रयोग हुने बन्चरो बिँडको बिस्कुनका रूपमा उभ्याएको देखियो। बेलामौकामा एमालेको उपल्लो तहमा देखा पर्ने राजनीतिक डिप्रेसनबारे टिप्पणी गर्नेलाई हिजोसम्म गुटगत आग्रह, छुद्रता वा अराजकता भनेर हल्का ढंगले लिने गरिन्थ्यो। एमालेका जरा रेट्ने यो प्रवृत्ति कार्यकर्ताको अदालत र जनताको अदालतमा सर्वाङ्गरूपले उदांग हुने अवसर जुराइदिनु ओली सरकारको अर्को देन हो। पार्टीभित्रकै केही सहकर्मी सत्र सत्र वर्ष जेल बसे तर कथित खानदानी र सुसंस्कृत परिवारका भद्रपुरुषहरु भने आफ्नो पिताजीले साना ठूला दरबार एवं अञ्चलाधीशहरुलाई हारगुहार गरेपछि केही महिनामै जेल मुक्त भए। कानुनबमोजिम चल्नेछु र संविधान मान्नेछु भनेर कागज गरी कारागार मुक्त भएका तिनै कथित कुलका दीपकहरुलाई विगतका चार दशकमा एमालेको मियो मान्नुपर्ने दिन पनि आए। 'मरीच चाउरियो आफ्नै रागले' भनेझँै समयक्रममा एमालेका रोटी खाएर अरुको पेट बोक्नेे पात्र र प्रवृत्ति नांंगिएको छ। मयूरको प्वाँख सिउरिँदैमा काग मयूर हँुदैन। ओलीविरुद्धको अविश्वास प्रस्तावको प्रतिउत्तरका दौरानमा सन्दर्भबाहिर गएर वरिष्ठ नेताले मनमोहन अधिकारीको मानमर्दन गर्दै कांग्रेस माओवादीप्रति दर्शाएको भावभक्तिले निष्ठाको सगरमाथा र कुण्ठाको ट्याम्के डाँडोको उचाइ सतहमा आएको छ। ओलीको आरिस गर्ने पार्टीभित्रका प्रतिस्पर्धीहरुले कार्यकर्ताको अदालतसामु बाख्रीको गलाको लुर्को जस्तै औचित्यहीनताको कोटीमा आफूलाई उभ्याएका छन्। सिद्धान्तका गौदागर बनेर आफूलाई लिलामीमा राखेकाले हस्तीप्रतिको कार्यकर्ताको मोह भंग भएको छ। यो अपूर्व अवसर जुराउनु ओली सरकारको उल्लेखनीय देेन हो। अब कुनै पनि बहानाबाजी गरेर फेरि एमालेलाई उभयलिङ्गी दलदलमा फसाउने र पहिचान संकटमा पार्ने हर्कत सफल हुने छैन। कमजोर तन्तुको जिम्मा लगाएर पार्टीलाई फेरि अँध्यारो युगमा फसाउन हुन्न भन्ने चेतना जबर्जस्त ढंगले कार्यकर्ता पंक्तिमा पलाएको छ।

जनताको राजनीति

इतिहासका वास्तविक निर्माता जनता हुन्। यो सत्यलाई भारदारी प्रवृत्तिले कुल्चँदै आएको छ। कथित कुशल माझीको खोजी भारदारी अहंकारको उपज हो। अरुका झुटा प्रशंसामा रमाउने, जिउदो छँदा माड नदिनेले मरेपछि खाँड दिउँला भनेको पत्याएर अरुको हातको कठपुतली बन्न तत्पर भइहाल्ने कमजोर नेतृत्वका कारण विगतमा एमाले हण्डर र ठक्करको भागेदार बनेको थियो। हिरो युग होइन, जनताको सामूहिक पहल र हस्तक्षेपमा विश्वास गर्नु जबजको अर्काे संस्करण ओली डक्ट्रिनको सार हो। ‘इतिहासको रथलाई कसैले पनि पछाडि फर्काउन सक्ने छैन। राजनीतिमा  खासै रुचि नभएको युवा पुस्ता आज मुलुकमा राजनीतिक स्थायित्व, समृद्धि र राष्ट्रिय हितका निम्ति जसरी स्वस्फूर्तरूपमा चलायमान भएको छ– मुलुकको भविष्य त्यसैले सुरक्षित गर्छ भन्नेमा म विश्वस्त छु’– ओलीको यो कथन अब आउने युगमा मूल प्रवृत्ति हुन गइरहेको जनताको राजनीतिको चुरो हो। ‘इतिहासको यस कालखण्डमा को कुन स्थानमा उभिनेछ, जनताले हेक्का राख्ने नै छन्। आवधिक निर्वाचनको बेला जनताको इजलासमा यी सबै विषयको छिनोफानो सार्वभौम जनताले गर्ने नै छन्।’ कुनै पनि शक्तिकेन्द्र जनताको परीक्षणको विषय हुनेमा विश्वास राख्ने यो कथनमा जनताप्रतिको ओलीको असीम श्रद्धा र भरोसा झल्कन्छ।

निष्कर्ष

नेपालमा सर्वोपरि जनता जनार्दन हुन्। परावलम्वी बिल्लीहरुले विगतमा दरबार र अहिले दिल्लीलाई आफ्नो भाग्य विधाता ठान्ने गल्ती गर्दै आए। भाटहरुको सातो उडाउने गरी सचेत संगठित र आन्दोलित जनमतको उभार आएको छ। शानका साथ बाँच्ने र शानका साथ मर्ने तर कसैको टाङ नछिर्ने ओली अडान अब युवा पुस्ताका लागि आदर्श बनेको छ। नेपाल र नेपालीको वर्तमान संकटग्रस्त भए पनि भविष्य उज्यालो छ। खुकुरीमा कुभिण्डो ठोकिए पनि र कुभिण्डोमा खुकुरी ठोकिए पनि आखिर काटिने कुभिण्डो नै भएजस्तै पछिल्लो राजनीतिक घटनाक्रमलेे  एमालेसँग  मिल्दा पनि आफ्नो अस्तित्व नदेख्ने शक्ति भिड्दा र मोर्चाबन्दी गर्दा पनि मरुभूमीकरणको अभिसापले ग्रस्त हुनेमा कुनै शंका छैन।   

प्रकाशित: १८ श्रावण २०७३ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App