coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

तिहारमा शरीर पूजा

रेणु त्वानाबासु
तिहारमा नेवार समुदायको पनि एक विशेष दिन हुन्छ, त्यो हो म्हः पूजा । नेवारीमा म्हः पूजाको अर्थ शरीर पूजा गर्नु हो । नेवारीमा म्हको अर्थ शरीर हो । तिहारमा लक्ष्मी पूजाको भोलिपल्ट म्हः पूजा गरिन्छ । म्हः पूजाको दिन परिवारका सबै सदस्यहरुले अनिवार्य नुहाउनु पर्ने चलन छ । त्यस दिन आफ्नो शरीरको पूजा गर्ने भएकाले शरीरलाई सफा राख्नुपर्छ भन्ने मान्यता छ ।
संस्कृतिविद् ओम धौभडेल आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी म्ह पूजा गरिएको बताउँछन् । शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष हो । मानव शरीरभित्र भगवान रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर, बुझेर आफ्नो उद्धार गर्न आफैँ अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्वको विकास भएको मान्यता छ ।
किम्वदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास धौभडेल गर्छन् ।
पूजाको विधि
प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको महिला मुलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको अण्डा सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीर पूजा गरिएको हो । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्व मुख पारेर एक÷एक वटा मण्डल बनाइन्छ । मण्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा लगाएर मण्डल तयार पार्ने गर्छ । यो मण्डल सबैको एउटै हुँदैन ।
अर्का संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगका अनुसार जुनबेला मान्छे रिस, राग, द्वेष र प्रतिशोधको भावनाले ग्रस्त भएको हुन्छ, त्यो बेला मान्छे दुष्ट अर्थात राक्षसको रूपमा प्रस्तुत भएको हुन्छ । मान्छे जब दया, माया, करूणा र स्नेह तथा रिस, राग, द्वेष र प्रतिशोधका भावनाहरूलाई आफ्नो काबुमा राखेर मानवीय भावनाअनुरूप कार्य गरिरहेको हुन्छ । त्यो बेला मान्छे मान्छेहरूमाझ असल मान्छे भएर प्रस्तुत भइरहेको हुन्छ । यसकारण मान्छेले आफूमा निहित मानवीय सद्गुणलाई सधैं आफूमा जोगाइराख्न मान्छे भित्र रहेको चेतनालाई राक्षसी प्रवृत्तिमा ढल्कन नदिन प्रत्येक वर्ष म्हः पूजा गरिने ग्वंग बताउँछन् ।
नेवारी समुदायले म्हः पूजा गर्दा प्रत्येक सदस्यको अगाडि एउटा मण्डल हुन्छ । मण्डलमा बालिएका विशेष प्रकारको बत्ती राखेर प्रकाशमय गरिएको हुन्छ । मण्डल मान्छेको स्थुल शरीरको प्रतीक हो । मण्डलको बीचमा पाँच वटा साना साना गोलाकार मण्डल बनाइएका हुन्छन । यी साना साना गोलाकार मण्डलहरू पञ्च तत्वका प्रतीक हुन्– पृथ्वी, जल, वायु, तेज र आकाश । अर्थात् मान्छेको शरीर पञ्च तत्वको मिश्रणबाट बनेको हुन्छ । यी सबै तत्व आफैँमा शक्तिमान छन् । यस्ता शक्तिमान पञ्चतत्व मिलेर शरीरमा चेतनतत्वको सृष्टि भएको हुन्छ । जब शरीरको चेतनतत्वले शरीर छाड्छ, शरीर मुर्दामा परिणत हुन्छ । जबसम्म शरीर रहन्छ, चेतन तत्वमार्फत समाजको भलाइका खातिर उत्प्रेरणा गरिरहन नेवार समुदायले म्हः पूजाको प्रचलन चलाएका हुन् ।
म्हः पूजा कहिलेदेखि सुरू भयो खोजको विषय हो तर म्हः पूजाले जसरी आफुलाई चिनेर समाजको हितको कार्य गर्न पवित्र सन्देश दिइरहेको हुन्छ, त्यो अनुकरणीय छ ।

 

प्रकाशित: १९ कार्तिक २०७४ ०५:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App