coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वास्थ्यका लागि पदयात्रा

शनिबार सार्वजनिक बिदा । स्कुल, कलेज, अफिस बन्द हुनाले सबै फुसर्दिला । बिहान कसैले बाधा नपुर्याओस्, अबेरसम्म सुत्न पाइयोस्, अधिकांशको यस्तै चाहना हुन्छ तर सबैलाई भने निन्द्रा प्यारो नहुँदोरहेछ । छुट्टिको दिन पनि शनिबार सबेरै साढे ५ बजेतिर धरानेहरु एक हुल धरान १ स्थित सिंहदेवी चोकमा जम्मा हुन्छन् । त्यसपछि उनीहरु जति भेला हुन्छन्, ठीक ६ बजे गन्तव्यतिर आफ्नो पाइला अघि बढाउछन् । कसैलाई पर्खने चलन छैन ।
यो दृश्य कुनै एक शनिबार मात्र होइन, प्रत्येक शनिबार बिहान सिंहदेवी चोकमा दोहोरिने दृश्य हो । फुर्सदको समयलाई सदुपयोग गर्दै स्वास्थ्यका लागि पदयात्रा (वाक फर हेल्थ) अभियान सुरु भएको छ । स्वस्थ जीवन रहने मुख्य उद्देश्य भए पनि ‘वाक फर हेल्थ’ आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पनि हो । स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले फाइदा पुग्ने भएकाले पछिल्लो समय धरानेमाझ पदयात्रा लोकप्रिय हुँदो छ । मिर्मिरेमै धरानमा मर्निङ वाक गर्ने चलन धेरैअघि देखिको हो । अचेल भने स्वस्थ रहन मात्र होइन, घुमफिरमा रमाउन पनि धरानेहरु पदयात्रामा जान्छन् । कोही साथीभाइ मिलेर नजिकैको गन्तव्यमा पुग्छन् भने कोही संस्थागत रुपमा सुरु भएको  हाइकिङ तथा पदायात्रा अभियानमा सामेल हुन्छन् ।
‘स्वच्छ धरान, स्वस्थ धरान’ नारा दिएर सेवक अभियान नामको स्वयंसेवी संस्थाले ‘वाक फर हेल्थ’ अभियान सुरु गरेको हो । गत भदौ ३१ गतेबाट पदयात्रा अभियान औपचारिक रुपमा सुरुवात गरिएको थियो । त्यसो त सेवक अभियानले यसअघिदेखि नै धरान आसपासका सम्भावना बोकेका पर्यटकीय गन्तव्यहरुमा पदयात्राको रुट खोजी गरिरहेको थियो । सेवक अभियन्ताहरुका अनुसार त्यसक्रममा ५१ वटा रुटको पहिचान भएको छ । हरेक शनिबार तिनै रुटमा पदयात्रा टोली जाने गर्छ । यसको विशेष नेतृत्वकर्ता हुन्, राजीव हलवाई । उनी र सेवक अभियानका सदस्यहरु सामाजिक सञ्जालमा र प्रत्यक्ष भेट भए जतिलाई शनिबार बिहान पदयात्रामा आउन अपिल गरिरहेका हुन्छन् ।
भदौ ३१ गते शनिबार बिहान । डेढ सयभन्दा बढी धराने सिंहदेवी चोकमा भेला भए । बालबालिका, युवा, पाका सबै उमेर समूहका थिए । धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बा, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष एवं हाडजोर्नी विशेषज्ञ डा. विक्रम श्रेष्ठ, मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्ती, समाजसेवी एवं रेडक्रसका केन्द्रीय सदस्य बासुदेव गौतम, पर्यटनकर्मी वासुदेव बराललगायत लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागिताले वाक फर हेल्थ अभियानको महŒव झल्काइरहेको थियो । पदयात्रीहरु सिहंदेवी चोकबाट उकालो ऐतिहासिक, धार्मिक क्षेत्र विजयपुरतिर उक्लियो । पदयात्रीहरुसँगै साइकले टोली पनि थिए । थोरै उकालो भए पनि यो बाटो पैदल यात्राको लागि उपयुक्त छ । विजयपुरबासीहरु धरान बजार आउजाउ गर्ने यो पुरानो बाटो हो ।
विजयपुर चोकमा पुग्दा त वडा १४ का अध्यक्ष कृष्ण भटराई र स्थानीयबासी स्वागत गर्न तम्तयार । एउटा टेबुलमा एक कार्टुन स्याउ र मिनरल पानी पनि । आतिथ्यमा सबैलाई एउटा स्याउ र पानी दिए । विजयपुरबासीको न्यानो आतिथ्य पाएपछि प्रमुख तारा सुब्बा चोकबाट फर्किए भने पदयात्री टोली बुढासुब्बा मन्दिर उत्तरबाट सेउतीमाथिको झोलुगे पुलतिर लाग्यो । चिकित्सकहरुका अनुसार दैनिक आधा घण्टा हिँड्नु स्वास्थ्यका लागि लाभदायी हुन्छ । तर यसरी हिँड्दा पसिना चुहिनुपर्छ वा मुटुको चाल सामान्यभन्दा अधिक बढ्नुपर्ने हुन्छ । पदयात्रामा यो स्वाभाविक हुन्छ । तर, पदयात्रामा निरन्तर हिड्ने र पसिना चुहाउने मात्र हुदैन । पदयात्री प्राकृतिसँग नजिकिन्छन्, र रमाउछन् । प्रकृतिपे्रमीहरु नै हुन्छन्, पदयात्रीहरु । डाँडा काँडा, ग्रामिण भेग, हरियाली, खोला एवं नदीहरुसँग साक्षात्कार हुन्छ । यात्राको क्रममा नयाँ र पुराना साथी भेटिन्छन्, बन्छन् । रमाइलो अनि ज्ञानगुनका कुराहरु, अनुभवहरु साटासाट गर्दै हिड्छन् । पदयात्रीहरुले प्रकृति र समाजलाई बुझ्ने अवसर पनि पाउछन् ।
झोलुंगे पुल पार गरेपछि किरात गाउँ पुगिन्छ । पहिला सेउती पारी पाँचकन्या गाविस थियो, अहिले धरान उपमहानगर भइसकेको छ । शहरको कोलाहल, भिडभाड भन्दा पर ग्रामिण परिवेशमा पुग्दाको आनन्द बेग्लै हुन्छ । स्वच्छ हावा, मनोरम प्राकृतिक दृष्य । मन पुलकित हुन्छ । हिड्दाको थकान महसुस नै हुदैन । जीवनमै पहिलो पटक पदयात्रामा हिडेकी उपप्रमुख मञ्जु भण्डारी सुवेदी असाध्यै उत्साहित थिइन् । ‘म पहिलो पटक पदयात्रा गएको, एकदम रमाइलो भयो । स्वास्थ्यलाई पनि फाइदा भयो र आफ्नै ठाउँमा पर्यटकीय सम्भाव्यता बोकेको रुट पनि देखियो,’ उनले भनिन्, ‘स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर पदयात्रालाई विकास गर्नुपर्छ ।’
यो पदयात्राको अन्य भन्दा अलग किसिमको पनि छ । पदयात्री सबै जना बेला बेला जोडले गलल हाँस्छन् । पदयात्रीहरु यसलाई लाफिङ थेरापी भन्ने गरेका छन् । खुलेर हाँस्दा शरीरलाई नै फाइदा पुग्ने मनोचिकित्सकहरुको भनाई छ । पदयात्रीहरु कसैलाई स्वागत गर्न वा धन्यवाद दिन ताली पड्काउदैनन्, त्यसको साटो गलल हाँसिदिन्छन् । त्यसबेला पदयात्राको महौल हाँसोमय बन्छ, कोही पनि चुप लागेर बस्न सक्दैनन् । हास्दै पदयात्राको अनुभवले अलग अनुभूति दिलाउछ ।
प्रत्येक साता पदयात्रामा स्वास्थ्य, पोषण, पर्यटन र वातावरणसँग सम्बन्धित विज्ञ एक जना विज्ञलाई पनि आमन्त्रण गरिएको हुन्छ । पदयात्राको क्रममा बीचमा एक पटक एप्पल ब्रेक हुने गरेको छ । पदयात्रीहरुले एप्पल(स्याऊ) र पानी आफैले बोकेका हुन्छन् । ब्रेक हुदा पदयात्रीहरु स्याउ खान्छन्, पानी पिउछन् । यात्रामा सामेल विज्ञले आफ्नो बिषयको ज्ञान, अनुभवबारे १० मिनेट कुरा राख्छन् । ‘पदयात्रामा सकभर जंग फुड खान दिदैनौं, एप्पल र पानी मात्र बोक्छौं,’अभियन्ता राजिव हलवाई भन्छन्,‘स्वास्थ्य र पर्यटनलाई सँगै अघि बढाउन खोज्दैछौं ।’
किरात बस्तीबाट पदयात्रीहरु ग्रामिण बाटो हुदै चर्चित अग्र्यानिक गाउँ वसन्तटर पुग्यो । अग्र्यानिक खेतीका अभियन्ता एवं युवा कृषक कृष्ण राईको फर्म अवलोकन भयो । कतिले त त्यहाँबाट अग्र्यानिक तरकारी किनेर लगे । धरानको भानुचोकबाट करिब ४ किलोमिटर पुर्वमा अवस्थित उनको फर्ममा घुम्दै जान्छन्, र ताजा तरकारी किनेर लैजान्छन् । अग्र्यानिक खेती गरेर नै वसन्तटारका कृष्णले मात्र होइन, अन्यले पनि आफ्नो आर्थिक अवस्था उकास्दै गइरहेका छन् । कृषक राईसँग केहीबेर कुराकानी गर्दा थाह भयो, स्थानीय पनि ८ किलोमिटरको पर्यटकीय रिंग रोड बनाउने प्रयासमा छन् । ट्रयाक रेडी छ, मात्र स्तरोन्नती गरिदिए पुग्छ । सेउती र बोक्सी खोलामा पुलको खाँचो छ । गाउँलेको सपना पुरा भए कृर्षि र पर्यटनको विकास भएर धरान एवं साविक पाँचकन्याको कायापलट हुने गाउँलेहरुको अपेक्षा छ । ‘धरान आउने पर्यटकहरु पिण्डेश्वर, दन्तकाली र बुढासुब्बा पुगेकै हुन्छन्, उनीहरुलाई सेउती खेला तारेर किरात गाउँ, वसन्तटारतिर ल्याउने वातावरण तयार गर्नुपर्छ,’राई भन्छन्,‘वसन्तटार सिरानमा सिद्धकाली देवी मन्दिर छ, वसन्तटार, पत्रांगबारीको पाँचकन्या मन्दिर, देवीगाउँमा कुलुङ जातिको पितृथलो तोसखाम हुदै झोटापाटाबाट बगरकोट निस्कने रुट छ । यसलाई रिंगरोड बनाएर कृर्षि र पर्यटनको विकास गर्नुपर्छ ।’

राजिव हलवाई, संयोजक सेवक अभियान
 प्रत्येक शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म पदयात्रा गइरहेका छौं । यो समय विद्यार्थी, गृहणी सबैको लागि उपयुक्त हुन्छ । धरानको प्राकृतिक सौन्दर्य भएको ठाउँमा धरानेहरुलाई पुर्याउने र धरान घुम्न आउने पर्यटकहरुलाई पनि ती गन्तव्यमा पुर्याउन सकौं भन्ने हाम्रो लक्ष्य हो । स्वास्थ्यलाई त त्यसै पनि फाइदा पुगिहाल्छ । धरानेहरुमा वाकिङ कल्चर छ भन्ने पनि देखिन्छ । हामी सकभर यात्राभर जंक फुड चै खान दिदैनौं ।

मञ्जु भण्डारी सुवेदी, उपप्रमुख धरान उपमहानगरपालिका
 कहिले कही मर्निङ वक गएकी थिएँ, यसरी सामुहिकरुपमा पदयात्रामा हिडेको पहिलो पटक हो । अहिले त जनप्रतिनिधि पनि भएकी छुँ, यसरी फिल्डमा हिड्दा आफ्नो ठाउँको बारेमा अध्ययन, अवलोकन गर्ने मौका पनि पाए । अब हामीले भाषण गर्ने मात्र होइन, फिल्डै उत्रिने हो र काम गरेर देखाउने हो । पर्यटकीय सम्भावना बोकेको रुट रहेछ, यसको विकास र प्रर्वद्धन कसरी गर्न सकिन्छ, उपमहानगरले सक्दो सहयोग गर्नेछ । पदयात्रालाई स्वास्थ्य जीवन र पर्यटनसँग जोडेर शुरु भएको यो अभियान निरन्तर चल्नुपर्छ ।

प्रकाशित: १८ कार्तिक २०७४ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App