८ वैशाख २०८१ शनिबार
खेल

इभ्रामाथि प्रतिबन्ध

मार्सेल– युरोपेली फुटबल संघ युइएफएको अनुसन्धान कमिटीले शुक्रबार मार्सेलका भेट्रान रक्षक प्याट्रिक इभ्रामाथि एक खेलको प्रतिबन्ध लगाउँदै तत्काल उनीमाथि छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।

इभ्रा बिहीबार युरोपा लिगअन्तर्गत समूह ‘आई’ को भिक्टोरिया डी ग्युमारेजसँगको खेलअघि आफ्नै क्लबका एक समथर्मकमाथि ‘लात्ती’ हानेपछि रातो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएका थिए।

युइएफएले इभ्राले खेलभावनाविपरीत कार्य गरेकाले उनीमाथि अनुशासनको कारबाहीका लागि छानबिन सुरु गरिएको बताएको छ।

‘खेलमा रातो कार्डको दर्शन गरेपछि खेलाडीले स्वतः अर्को एक खेल गुमाउँछ । अनुशासन कमिटीको नोभेम्बर १० मा बस्ने अर्को बैठकले उनीमाथिको कारबाहीका बारेमा अन्तिम निर्णय लिनेछ,’ युइएफएले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
युइएफएले समर्थकले अराजक व्यवहार गरेको भन्दै दुवै क्लबमाथि जरिवानाको सजाय सुनाएको छ । तर जरिवाना रकमका बारे केही खुलाइएको छैन।

मार्सेलले पनि इभ्रामाथि छानबिन गर्ने जनाएको छ ।
‘समर्थकले जस्तो व्यवहार गरे पनि व्यावसायिक खेलाडीले आफ्नो रिसलाई नियन्त्रणमा लिनुपर्छ,’ मार्सेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जारी सिजन क्षमताअनुसारको प्रदर्शन गर्न नसकेका इभ्रालाई समर्थकको एक हूलले गिज्याएको थियो।

प्रकाशित: १८ कार्तिक २०७४ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App