८ वैशाख २०८१ शनिबार
अन्य

ए, नानीको आँखामा कोठी रैच !

निष्प्रभ सजी 

‘बा, भाइको आँखाको कालो दाग झन् बढ्दै गैच,’ दिदीले बालाई कोट्याउन नछाडेपछि, बाले मलाई बोलाउनुभयो, ‘खोइ यता आइज ।’ 
दिदीले बाले भन्न नपाउँदै टिभीछेउमा रहेको टर्च लाइट लिएर आई । जाडो थियो, चाँडै अँध्यारो हुन्थ्यो । बाले कोटको गोजीबाट चस्मा निकालेर टर्च लाइटको उज्यालोमा मेरो आँखालाई गहिरिएर हेर्नुभयो, ‘हो त झन् बढेच !’ अघि दिदीले भन्दासम्म त मलाई केहीझैँ लागेको थिएन । बाले पनि घोरिएर चासो देखाएपछि मलाई अलि डर लाग्न थाल्यो, म रातो भएँ। 

दिदीले मलाई रिस उठेका बेला पहिलेदेखि नै गिजाउँथी, ‘तेरो आँखामा कालो दाग छ, अब बढ्दै गएर सबै आँखा कालो हुन्च !’ 

म चार कक्षामा पढ्थेँ । केही दिनअघि स्कुलमा पनि देउता सरले मेरो आँखामा घोरिएर हेर्नुभयो र भन्नुभयो, ‘आँखामा दाग छ त, डाक्टरलाई देखाउनुपर्ने हो कि !’ मलाई देउता सर निकै मनपथ्र्यो । 

बाले मेरो आँखामा हेरेपछि मैले देउता सरका कुरा सम्झेँ । र बालाई भनेँ, ‘बा, देउता सरले नि डाक्टरलाई देखा भन्नुभइच।’

मैले अरु केही सोध्न नपाउँदै बाले भन्नुभयो, ‘भोलि बलराम काकालाई देखाम्ला ।’ 
दिदी पनि राती भई र मेरो नजिकै आई । मलाई मनमनै आफ्नै आँखा सम्झेर डर लाग्यो, दिदीतिर फर्किएँ, दिदीले रुँलाजस्तै गरेर भनी, ‘मैले त यत्तिकै गिजाको बाबु !’ 

हामी खाना खाई सुत्यौँ । आमासँग कुरा गर्न पनि पाइनँ, आमा खेतालासँग मिलेर बौरको खेतका लागि दिनभरि मोल बोक्न हिँड्नुभएको थियो । म पनि साँझपख गैह्रीमा केटाहरुसँग टालाको बल खेल्दाखेल्दै थाकेको थिएँ । बिहान एकैचोटि झ्यालबाट घाम छिरेपछि ब्युँझिएँ । बलराम काकाको मेडिकल ठ्याक्कै चोकपारि थियो । दिदीले गएर हेरीकन आइसकिछ । कानमै आएर फुकी, ‘बाबु, काकाको सटर खुल्यो ।’ 

म पनि बालाई लिएर गइहालेँ । काकाले पनि बाले हिजो बेलुका हेरेजस्तै टर्च बालेरै हेरँे । अहिले त उज्यालो छ, किन टर्च चाहियो ! काकालाई भन्न मन लागेको थियो तर केही बोलिनँ । काकाले टर्च घुमाउँदै निकैबेर लगाएर हेरे । 
‘दागले आँखाको नानीलाई छुनै आँटेको छ । छोयो भने खतरा पनि हुन सक्छ, एकचोटि गण्डकी हस्पिटलमा देखाउनुस्।’ 

मैले दिदीलाई दाह्रे भनेर गिजाउँथेँ । दिदीको दाहिनेतिरको एउटा दाँत अलिकति मेरैजस्तै उछिट्टएको थियो, तर पोहोर साल नै दाँत झिकेर बाले दिदीको दाँत राम्रो बनाउनुभएको थियो । तर म दिदीलाई गिजाइरहन्थेँ । अनि दिदीले ‘खोई बाबु इँ गर् त’ भन्दै मलाई नै गिजाउँथी । मेरो दाँत मिलाउन बाले कसरत गर्नुभएन । मेरो दाँत उछिट्टिएकै थियो। 


लौ मेरो सातो गयो । दिदीले हामी घर नपुग्दै आमालाई गएर भनिसकिछ । आमा पनि आत्तिनुभयो । हामी बिहानको खाना खाएर पोखरातिर झर्न लाग्यौँ । बाले कारखानाको सामान लिन गोरखपुर जाँदा त्यतैबाट ल्याएको एउटा ठूलो एटलस साइकल थियो घरमा । साइकल निकाल्दै बाले सोध्नुभयो, ‘डन्डीमा बस्छस् कि पछाडि ?’ मैले ‘पछाडि’ भनेँ । मलाई सधैँ अगाडि डन्डीमा बस्न मनपथ्र्यो तर आज पछाडि भनेको सुन्दा बाले किन भनेर सोध्नुभयो । 

‘डन्डीले ह्याँ दुख्छ,’ मैले दायाँ हात जाँघमा लगेर देखाएँ । दिदी, आमा, बा सबै एकैचोटि हाँसे । मलाई यिनीहरुले गिजाए भन्ठानेर मैले रिस दिदीतिर पोख्न थालेँ, ‘हाँस्छेस् दाह्रे ।’ 

मैले दिदीलाई दाह्रे भनेर गिजाउँथेँ । दिदीको दाहिनेतिरको एउटा दाँत अलिकति मेरैजस्तै उछिट्टएको थियो, तर पोहोर साल नै दाँत झिकेर बाले दिदीको दाँत राम्रो बनाउनुभएको थियो । तर म दिदीलाई गिजाइरहन्थेँ । अनि दिदीले ‘खोई बाबु इँ गर् त’ भन्दै मलाई नै गिजाउँथी । मेरो दाँत मिलाउन बाले कसरत गर्नुभएन । मेरो दाँत उछिट्टिएकै थियो । 

हेम्जाबाट पोखरा जाँदा तल्लो हेम्जा, तिब्बतीयन क्याम्प र याम्दीको ओरालो गरी तीनवटा ठाडै ओराला छन् । झर्दा साइकलको पाइडल पुल नकटुन्जेलसम्म घुमाउनैपर्दैनथ्यो । चिसो हावा खाँदै बा र म साइकलमा बजार झदैँ थियौँ । आमाले मलाई सजिलो होस् भनेर पछाडि पनि गम्छा ओछ्याइदिनुभएको थियो । म घरी दाँयातिरका घर हेर्दै घरी देब्रेतिरको सेती गण्डकी हेर्दै आफ्नै तालमा बसिरहेको थिएँ । सापकोटा चोकको ओरालो झर्नेबित्तिकै बडरेमा एउटा केटाले बाटो काटेपछि, बाले साइकलमा ह्वात्त ब्रेक लगाउन परेछ । मेरो ध्यान भने अन्तै भएकाले झुक्किएर मेरो दाहिने खुट्टो साइकलको पछाडिको पाङ्ग्रोमा प¥यो, र नराम्रोसँग लछारियो । मैले आत्तिएर सन्तुलन गुमाएँ, पिचमा बजारिएँ । बाले साइकल रोकेर मलाई उठाउनुभयो । मेरो खुट्टामा मन्द रूपमा रगत बग्दै थियो । बासँग कटनको रुमाल रहेछ । बाले मजाले कस्नुभयो र केही हुँदैन भन्दै मलाई यसपालि अगाडि डन्डीमा राख्नुभयो । बासँग डराएर म चुपचाप डन्डीमा बसेँ । बाले डन्डीमा पहिले गम्छा बेर्नुभएको थियो । लालटिन बजारको उकालोमा बाले साइकल उकाल्न सक्नुभएन र डो¥याउनुभयो । म झर्न खोज्दा पनि मेरो खुट्टा दुख्छ भन्दै मलाई साइकलमै घिसार्नुभयो । हरिचोकबाट बिन्दवासिनी जाने ठाडै उकालोमा पनि मलाई साइकलमै बसालेर साइकल घिसार्नुभयो । त्यसपछि भने बाटो सम्म थियो, अलिकति राहत भयो, हामी केही छिनमै अस्पताल पुग्यौँ । बाले काउन्टरमा टिकट काट्नुभयो । अस्पतालको गन्ध ह्वास्सै नाकमा आइहाल्यो । बाले डाक्टरलाई पर्खुन्जेल मलाई समोसा किनेर ल्याइदिनुभयो । म समोसा खाँदै बासँग डाक्टरको पालो कुरेर बसेँ । हाम्रो पालो आयो । मेरो खुट्टामा रगतले भिजेको रुमाल देख्नेबित्तिकैे कसरी यस्तो भयो, कतिखेर भयो भनेर डाक्टरले बालाई प्रश्न गरे । 

‘ल बाबुलाई टिटानसको सुई लगाउनुपर्छ,’ लौ मेरो सातो गयो । 
मलाई सानो बेडमा सुताएर कम्मरमुनिको दाहिने कुनोतिर दुख्ने गरी घोँचे र सुई निकालेपछि अलिकति कपास दिएर सुई घोचेकै ठाउँमा अँठ्याइराख्न भने ।  मैले जाँघेमाथि सारेर केहीबेरसम्म अँठ्याएँ । डाक्टरले घाउमा पट्टी बाँधिदिए । त्यसपछि हामी निस्कियौँ । 

अस्पतालको मेनगेटमा पुगेपछि बाले सम्झनुभयो, हामीले आँखाको दागबारे त सोध्नै बिर्सेछौँ । 
बा र म फेरि लाइनमा बस्यौँ । पालो आएपछि बाले हामी खास आँखाको दाग देखाउन आएको भनेपछि, डाक्टर मेरो आँखा हेर्दै मुसुक्क हाँसे । 

‘यो त कोठी मात्रै हो, केही डराउनुपर्दैन !’ 
यसपालि हामी पनि हाँस्यौँ । यति भएपछि म निकै खुसी भएँ, मेरो आँखा दिदीले भनेजस्तै कालो नहुने भयो । हामी अस्पतालको बगैँचामा पुग्यौँ । बा साइकल लिन जानुभयो, म त्यही कुरेर बसेँ । छेउमा एउटी हजुरआमा रहिछन् । मेरो खुट्टाको ब्यान्डेज देखेपछि उनले पनि माया देखाइन् । उनको घर लामाचौर रहेछ । कुरा गर्दै जाँदा उनका आँखा पनि मेरा आँखामा गएर अडिए । अनि भनिन्, ‘ए, नानीको आँखामा कोठी रैच, भाग्यमानी रैचौ, राम्री दुलही पाउँछौ ।’ 
उनले एक सुर्कीमै कुरा सकिन् । मनमनै सोचेँ, बलराम काकाले मेडिकलमा बिहानै यही भन्दिएको भए ! 

प्रकाशित: १८ कार्तिक २०७४ ०७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App