६ वैशाख २०८१ बिहीबार
अन्य

वाह अन्नपूर्ण !

नवराज राउत
विगतको सम्झनु पर्‍यो भने मनमा रंगीन चित्र आउँदैनन्, श्यामश्वेत चित्र आउँछन् । किनभने ती बेलाका फोटो तथा भिडियो श्यामश्वेत हुन्थे । जब रंगीन युगको सुरुवात भयो तब चित्र, दृश्य, कल्पना सबै रंगीन हुन थाले । हामी श्यामश्वेत कल्पनामा हुर्कियौं । अहिलेको पुस्ता रंगीन मात्र होइन, हाइ डेफिनेसनको कल्पनामा हुर्कंदै छन्, यथार्थभन्दा धेरै नजिक।

संसारलाई हेर्ने एउटा ऐना हो, फोटो । प्रविधिसँगै फोटोग्राफी पनि विकसित हुँदैछ । गतिशिल संसारका क्षणलाई फोटोले कैद गर्छ र वर्तमानलाई विगत बनाउँदै इतिहासको पाटो बनाउँछ । मानवीय प्रयासमा कालजयी हुने लोभले गरिने स–साना कार्यहरू लुकेको हुँदा हुन् शायद । यस्तै लोभमा हामी पनि अन्नपूर्ण बेस क्याम्प घुम्न हान्नियौं । यात्रामा मबाहेक अजय गुरुङ, विजय गुरुङ, राजीव थापा, दिपक गुरुङ थिए । भिन्न क्षेत्रका हामी युवाको एउटा कुरामा समानता थियो–नेपालका डाँडाकाँडा घुम्ने । त्यो पनि उमेरमै।

हिमालबाट रसाएको पानीको कलकल, शिरैमाथि अन्नपूर्ण । अहो आनन्दको पराकाष्ठा ! 

हाम्रो पहिलो बास घान्द्रुकको तल्लो भेग स्याउलीमा भयो । त्यहाँसम्म गाडीमै गइयो । बिहान नास्ता गरेर पैदल यात्रा थालियो । आकाशै छोलाजस्ता माछापुच्छ्रे र अन्नपूर्ण हिमशिखर हेर्दै जाँदा रात बस्न छोम्रोङ पुग्ने सहमति भयो । कतै उकालो, कतै तेर्सो र कतै घुमाउरा बाटोहुँदै न्यु ब्रिजको सानो बजार पुग्यौं।

जब न्यु ब्रिज पुग्यौैं तब पारिपट्टि अजंगको पहाड हामीलाई स्वागत गर्न उभिएकोे पायौं । मध्यान्नको घाम, भर्खर खाएको खाजा र थाकिसकेको ज्यान । साहित्यकार डा. तारानाथ शर्मा लिखित दश कक्षाको पुस्तक महेन्द्र मालाको निबन्ध याद आयो– घनघस्याको उकालो । बरु त्यो चढ्न सजिलो होला तर यहाँ त के हो के हो ?

तीन रातको बासपछि अन्नपूर्ण फेदीमा पुग्ने योजना, पहिलो दिनमै हार मान्ने कुरा भएन । कहिले उसलाई जिस्क्याउँदै, कहिले उसलाई उल्ल्याउँदै त कहिले यात्रुहरूसँग बातमार्दै उकालो लाग्यौं । बल्लबल्ल थुम्काइलो बजार झिनु (१७८०मिटर) पुगियो । त्यहाँ ७१ वर्षीय जर्मन चिकित्सक भेटिए । उनको उमेरले हामीलाई हौसला दियो । भन्दै थिए, ‘घडि नहेर न त पुग्नुपर्ने ठाउँका बारे नै सोच । निरन्तरको हिँडिराख । हिँडाइको मजा लिउ ।’ 

उनले सुझाए– पाइला र सासको गति मिलाउँदै धैर्यपूर्वक हिँड्ने हो, छिटो गन्तव्यमा पुग्न हतारिने होइन ।
झिनुबाट उकालो लाग्दा पानी पर्न थाल्यो । जतिजति पहाड चढिँदै गयो उतिउति परपरका दृश्य देखिन थाले । हिँड्दै गर्दा धित मरुन्जेल फोटो पनि खिचियो । चार बजेतिर छोम्रोङ पुग्यौं । खाजा खाइयो । थकान त भनिसाध्य थिएन । थकान मेट्न अघिल्लो दिन खाए जस्तै मुस्ताङ कफी खाइयो । रक्सिलाई तताएर कफी मिसाएपछि मुस्ताङ कफी बन्दो रहेछ ! 
बिहान उठ्दा माछापुच्छे« र अन्नपूर्ण छ्यांग थिए । हत्तपत्त क्यामेरा झिकेर अघाउन्जी फोटा खिच्यौं । यति परबाट हेर्दा त यस्तो आनन्द छ, झन् हिमालको फैदैमा पुग्दा के होला, हामी सबैको उत्साह अकासियो।

बिहान ८ बजेतिर बाटो लागियो । छोम्रो«ङदेखि तल खोलासम्म बाटो त पूरै सिंढी रहेछ । कहिल्यै नसकिने । बाटो त राम्रा थिए तर ओर्लंदा खुट्टा कामेर हैरान । बल्लबल्ल खोला तरेर उकालो लागियो । केही बेरमा विशाल पहाडको तल्लो भागमा रहेको सुनुवा पुगियो । तल्लो सुनुवाबाट छड्के उकालो लाग्दै माथ्लो सुनुवा । त्यहाँबाट अन्नपूर्ण संरक्षण क्षेत्र सुरु हुने रहेछ।

जंगल सुरु भएपछि हामीलाई झिंगाले स्वागत गरे । कसरी यत्रो विधि झिंगा ! अचम्मित भयौं । ‘राम्रो मान्छे देखेर आएको होला,’ हामी मध्ये एउटाले भन्यो । एक लहर हाँसो फैलियो । यात्रा जारी राख्यौं । गफ रोकिएर शान्त हुँदा जंगलतिरबाट एकनासे किर... किर... किराका आवाज आइह्यो। 

जंगल सकेर केही बेर हिँडेपछि बेम्बो पुग्यौं । खाेंचको बेम्बो वरिपरि झरना थिए । त्यस्तो दृश्य सिनेमाका ऐनिमेटड चित्रमा मात्र देखेका थियौं । आँखै अगाडि देख्दा चकित भयौं । त्यो क्षेत्रमा पुग्दा हामी आनन्दको चरममा थियौं । त्यो दृश्य र त्यो भाव  शब्दमा उतार्न सकिन्न।

बेम्बोपछि पुगियो दोभान । दोभानबाट बेलुका साँझ पर्दा हामी हिमालय पुग्यौं । बाटोदेखि परेको पानीले निथ्रुकै भएका थियौं । थपमा थकान छँदै थियो । त्यहाँदेखि चिसो पनि बढ्न थालेको थियो । तात्तातो भात खाएर ओछ्यान तताइयो । भोलिपल्ट सिमसिमे पानीमा बाटो लाग्यौं । त्यहाँबाट देउराली पुगियो । दुई तीन होटल भएको देउराली पुग्दा अग्लो पहाडमा झरना देखियो । फोटो खिच्न क्यामरा नसोझ्याउँदै कुहिरोले ड्याम्मै ढाक्यो । शायद केही दृश्य आँखाका लागि मात्र हुन्छन् । स्मरणमा राख्न । चित्त बुझाएँ। 

देउरालीपछि सुरु भएको उकालोले गाह्रो पार्दै माछापुछे« बेस क्याप पु¥यायो । त्यहाँ खाजा खाएर अन्नपूर्ण बेस क्याम्प लाग्यौं । जतिजति उकालो लाग्दै गयो आनन्द पनि बढ्दै गयो । ठाउ–ठाउँका फोटो खिच्दै बेस क्याम्प पुगियो । लक्ष्यमा आइपुगेको खुशीमा मन आनन्दित भयो । हिमालबाट रसाएको पानीको कलकल, शिरैमाथि अन्नपूर्ण । अहो आनन्दको पराकाष्ठा! 

मौसमले साथ दिइरहेको थिएन । बादलुको घुम्टोमा हिमालले सौन्दर्य लुकाइरहेको थियो । मौसम खुले जस्तो हुन्थ्यो तर फेरि बादल लागिहाल्थ्यो । एकछिन त्यतै रमाएर माछापुछे« बेस क्याप फर्कियौं । फर्किंदै गर्दा ताराका बीचमा रातीको माछापुच्छ«को फोटो खिच्न भ्यायौं । अर्को अद्वितिय र अविष्मरणीय अनुभव लियौं। 

भोलिपल्ट ४ बजे अन्नपूर्ण बेस क्याम्प उक्लने लक्ष्य लिएर सुत्यौ । हिमाल खुल्यो कि भनेर राति एक बजे र तीन बजे दुई पटक बाहिर गएर हेरें तर हिमाल बादलभित्रै लुकिरह्यो । ५ बजेतिर हिमाल खुलेजस्तो भयो । स्याँस्याँ र फ्याँफ्याँ गर्दै उकालो लाग्यौं । माछापुच्छ«ेको शिरबाट उदाएको सूर्यको सौन्दर्य अहो ! 

हाम्रो यात्रा सफल भयो । नमरी स्वर्ग देखिन्न भन्छन् । जिउँदैमा स्वर्ग देख्ने हो भने अन्नपूर्ण फेदिको यात्रा गरे हुने रहेछ । के अन्नपूर्ण फेदी स्वर्ग होइन र ?

 

प्रकाशित: १८ कार्तिक २०७४ ०६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App