coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मतदाता शिक्षा प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

फाइल फोटो

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको निर्वाचन आयुक्तहरूसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्नेगरी वातावरण बनाउनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।’

प्रधानमन्त्रीले निर्वाचनका लागि सरकारका तर्फबाट आवश्यक सबै सहयोग २४ सैं घण्टा उपलब्ध गराउन आफू तयार रहेको पनि प्रतिबद्धता जनाएका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनमा प्रधानमन्त्रीको सुरुदेखिको प्रतिबद्धताकै कारण तोकिएको समयमा चुनाव सम्पन्न हुने भएको भन्दै धन्यवाद दिएका थिए । ‘प्रधानमन्त्रीज्यूकै प्रतिबद्धताका कारण स्थानीय चुनाव सम्पन्न भयो र प्रदेश र प्रतिनिधिसभा चुनाव सम्पन्न हुने भएको हो,’ यादवले भने, ‘म निर्वाचन आयोगको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु ।’

आयोगका अन्य पदाधिकारीले पनि प्रधानमन्त्रीले चुनावलाई अर्जुनदृष्टि बनाएकै कारण तोकिएको मितिमा चुनाव सम्पन्न हुने निश्चित भएको भन्दै सरकारका तर्फबाट पूर्ण सहयोग पाएको धारणा राखेका थिए । प्रधानमन्त्री देउवाले बोलाएको उक्त बैठकमा प्रमुख आयुक्त यादव, आयुक्तहरू ईश्वरी पौडेल, इला शर्मा, सुधीरकुमार शाह  र निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा सहभागी थिए। 

प्रकाशित: १८ कार्तिक २०७४ ०२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App