coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

नाइके फरार निर्दाेष हिरासतमा

काठमाडौं– लुटिएको दाबी गरिएको १८ किलो र ८८ किलो सुन तस्करीको सञ्जाल एकै भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । भदौ १९ गते क्षेत्रपाटीमा फेला परेको गाडीमा बरामद भएको ८८ किलो सुन र नागार्जुनको आदेश्वर मन्दिरनजिकै हत्या गरिएका गगन तामाङको समूह एकै भएको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा खुलेको हो।

महाशाखाले १९ गते क्षेत्रपाटीमा बा १७ च ६४२७ नम्बरको गाडी नियन्त्रणमा लिएर तलासी लिँदा ८८ किलो सुन फेला परेको थियो । प्रारम्भमा तीन चालकलाई नियन्त्रणमा लिएर प्रहरी अनुसन्धानमा जुटेका बेला असोज ६ मा ढुंगाखानीमा हत्या गरी फालेको अवस्थामा एक युवाको शव फेला पर्‍यो । अनुसन्धानमा सो शव रसुवा पार्वतीकुण्डका गगनको भएको खुल्यो।

८८ किलो र १८ किलो सुन तस्करीलाई सँगै जोडेर अनुसन्धान गर्दा मुख्य कारोबारी चिनियाँ नागरिक नै रहेको खुलेको छ

प्रहरीले सुन तस्करी र हत्याको घटनालाई छुट्टाछुट्टै रूपमा अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा सविना थोकर जोडिइन् । उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा गगन उनको प्रेमी भएको र सुनको विवादमा उनको हत्या भएको खुलेपछि २६ मा महाशाखाले हत्यामा संलग्न रहेको अभियोगमा रसुवाका लाक्पा ग्याल्जेन, छिरिङ तामाङ, प्रकाश शाक्य र  लाक्पा तामाङलाई पक्राउ गरेको थियो।

अनुसन्धानमा गगन रसुवा हुँदै तस्करी हुने सुन काठमाडौंसम्म ओसार्ने भरिया रहेको र उनले मोटरसाइकलमा रसुवाबाट बोकेर ल्याएको १८ किलो सुनमध्ये ६ किलो लुटिएको भन्दै ढाँटेको आवेगमा उनीहरूले प्रेमिकाको प्रयोग गरेर हत्या गरेको खुल्यो।

गगनको हत्याका कारण तस्करीको सुनको विवाद रहेको र तस्करीको बाटो रसुवा नै भएको खुलेपछि महाशाखाले सो घटनालाई समेत ८८ किलो सुनसँग जोडेर अनुसन्धान गर्दा हत्या अभियोगमा पक्राउ परेकामध्ये लाक्पा ८८ किलो सुनमा समेत संलग्न देखिए। 

लाक्पाको बयानमा अन्य २ चिनियाँ नागरिकसँगै रसुवा केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङको नामसमेत जोडिएपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाउँदा केरुङ हुँदै भइरहेको सुन तस्करीको नेपालतर्फका मुख्य नाइके उनी रहेको खुलेको थियो।

प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार नै शुक्रबार काठमाडौं जिल्ला अदालतमा जिल्ला न्यायधिवक्ताको कार्यालय कमाठमाडौंले ८८ किलो सुनमा १४ जनालाई अभियुक्त तोक्दै मुद्दा दायर गरेको छ । अभियुक्तमध्ये एक गगन हत्यामा पक्राउ परेका ग्याल्जेन छन् । उनी हत्या अभियोगमा पूर्पक्षका लागि थुनामा छन्।

हत्या अनुसन्धान प्रतिवेदनअनुसार दुई चिनियाँ नागरिकसँग मिलेर मानबहादुर र लाक्पा ग्यालेन्जले नेपाल भित्रिएको १८ किलो सुन काठमाडौं पठाउन गगनलाई जिम्मेवारी दिएको  र उनले गणेश हिमालबाट स्याब्रुबेसीको बाटो हुँदै काठमाडौं आएपछि सम्पर्कविहीन भएका थिए।

चिनियाँ तस्करले सुन तोकिएको स्थानमा नपुगेपछि खोजी सुरु गर्दा बल्ल गगन सम्पर्कमा आएका थिए । सम्पर्कमा आएका गगनले सबै सुन लुटिएको दाबी गरे पनि पछि १२ किलो सुन फिर्ता गरे तर ६ किलो सुन फिर्ता गर्न सकेनन् । 
काठमाडौंमा लुकेर बसेका उनलाई खोज्नेक्रममा तस्कर समूहले उनको प्रेमिकाको सम्पर्कमा रहेको जानकारी पाएर उनैलाई प्रयोग गरी भेट्न बोलाई धारिलो हतियारले हानेर हत्या गरी फालेका थिए । ‘प्रारम्भमा छुट्टाछुट्टै घटना देखिएपछि अनुसन्धानमा दुवै घटना एकअर्कासँग जोडियो,’ महाशाखा प्रमुख एसएसपी दिवस लोहनीले नागरिकसँग भने, ‘अनुसन्धानमा दुवै घटना जोडिएपछि हत्या अभियोगमा पक्राउ परेका एकजना ८८ किलो सुनमा समेत अभियुक्त देखिएका छन्।’

मुख्य कारोबारी चिनियाँ नागरिक नै
८८ किलो र १८ किलो सुन तस्करीलाई सँगै जोडेर अनुसन्धान गर्दा मुख्य कारोबारी चिनियाँ नागरिक नै रहेको खुलेको छ । नेपालतर्फका नाइकेमा रसुवामा व्यापारीको आवरणमा रहेका नेपाली नागरिक देखिएको छ। 

८८ किलो सुन तस्करीमा तीन चिनियाँ नागरिकको नाम खुलेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार तीनैजना चिनियाँ नागरिक मुख्य अभियुक्त छन् । हत्यामा समेत दुई चिनियाँ नागरिक अभियुक्त छन्।

अदालतमा दर्ता भएको अभियोगपत्रअनुसार चिनियाँ नागरिक झोङ होङ ल्याङ, याङ वेन विङ र उनका पति पान विई मिङ सुन तस्करीका मुख्य अभियुक्त हुन् । याङ र पान ठमेलमा काठमाडौं वन होटल चलाएर बसेका थिए। 

सुन बोकेर ल्याएको गाडीसँग उनको सम्बन्ध देखिएपछि अनुसन्धान अगाडि बढाउँदा उनीहरु दुवै फुत्किए । चिनियाँ नागरिक झोङको नाम प्रहरीले यसअगाडि खुलाएको थिएन । यी तीनैजना फरार छन्।

चिनियाँ नागरिकसँगै अभियोगपत्रमा हिस्से स्याङबा, ल्याक्पा ग्याल्जेन तामाङ, रबिश्या ट्रेडर्सका सत्यनारायण अग्रवाल, रञ्जना कम्प्लेक्समा रहेको कार्यविनायक सुनचाँदी पसलका गणेश दत्त बडु, ओटुमा सुनचाँदीका गहना बनाउने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचाँदी पसल सञ्चालक शुभरत्न शाक्यलाई अभियुक्त बनाइएको छ । हिस्से केरुङ व्यापार संघका अध्यक्ष मानबहादुरका भाइ हुन्। 

चालक मनोज अधिकारी, दाम्पा तामाङ र दिलीप खड्कासमेत अभियुक्त बनाइए पनि उनीहरू सुन तस्करीबारे जानकार नदेखिएको अभियोगपत्रमा उल्लेख छ।

४६ करोड बिगो, पाँच वर्ष कैद माग
प्रहरीले पक्राउ परेका सबैमाथि संगठित अपराध ऐनअन्र्तगत अनुसन्धान गरेको थियो । ऐनअनुसार २ महिना हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ । अनुसन्धानका लागि हिरासतमा राख्न पाउने समय कटेपछि उनीहरूविरुद्ध मुद्दा दायर भएको हो।

अभियोगपत्रमा २०७४ भदौ १९ मा बरामद भएको ८८ किलो सुनको त्यही दिनको बजार मूल्यअनुसार ४६ करोड ५६ हजार मूल्य निकालेर सोहीअनुसार बिगो माग गरिएको छ । चिनिया नागरिकसँग मिलेर संगठित रूपमा सुन तस्करी गर्ने गरेको दाबीसहित उनीहरूविरुद्ध ५ वर्ष कैद सजाय माग गरिएको छ ।

प्रकाशित: १८ कार्तिक २०७४ ०२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App