coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन दलको घेरामा सिटौला

झापा – आफ्नो निर्वाचन क्षेत्रबाट सातौंपटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी  समीकरण उनैलाई पनि अत्याउने खालको छ। झापा निर्वाचन क्षेत्र नं ३ बाट उदाएर राष्ट्रिय राजनीतिमा छाइरहेका सिटौलाविरुद्ध यसपटक तीन दलको मोर्चाबन्दी छ। 

सिटौलाविरुद्ध एमाले, माओवादी र राप्रपाको संयुक्त मोर्चा बनेको छ । यो चुनौती स्वीकारेका सिटौलाले ‘गणतन्त्र प्राप्ति र शान्तिप्रक्रियामा आफूले निर्वाह गरेको भूमिका’ लाई मतदाताले अनुमोदन गर्ने आत्मविश्वास राखेका छन्। 

सातौंपटक चुनावी मैदानमा ओर्लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाका लागि यसपटकको चुनावी  समीकरण उनैलाई पनि अत्याउने खालको छ।

उम्मेदवारी दर्ता र त्यसपछिका हरेक अभिव्यक्तिमा उनले ‘गणतन्त्र’ को प्रखर वकालत गरिरहेका छन् । किनभने वाम गठबन्धनको समर्थनमा उनीविरुद्ध उम्मेदवार बनेका राप्रपा नेता राजेन्द्र लिङ्देन पार्टीका महामन्त्री मात्रै होइनन्, कट्टर राजावादी अभियन्ता पनि हुन् । त्यसैले सिटौला गणतन्त्र पक्षधरले आफूलाई समर्थन गर्ने विश्वासमा छन् । तर, मंसिर २१ मा हुने मतदानमा झापा–३ मा मौजुदा अवस्थाको गणित हाबी होला कि सिटौलाले अनुमान गरेभैं गणतन्त्रवादी वैचारिक रुझान निर्णायक होला ? यो प्रश्नको उत्तरले उनको राजनीतिक भविष्य धेरै हदसम्म प्रभावित पार्नेछ । ‘यो गठबन्धनले म आफंै पनि आश्चर्यचकित छु’, सिटौलाले भने, ‘यो के का लागि हो भन्नेमै अन्योल छ । तर, मतदाताले मैले गणतन्त्रका लागि गरेको संघर्षको मूल्यांकन गर्नेमा ढुक्क छु।’ 

नेपाली राजनीतिका चतुर खेलाडी मानिने सिटौलाको आत्मविश्वासलाई हल्लाइदिने ढंगको गणितीय समीकरण उनी सामु छ । असारमा सम्पन्न स्थानीय तह निर्वाचन सिटौलाका लागि सुखद् रहेन । तर, लिङ्देनका लागि भने पार्टीमा मात्रै नभई पूरै क्षेत्रमा पकड बलियो बनाउन सहयोग पुग्ने खालको नतिजा आयो । झापा–३ मा पर्ने कचनकबल गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा राप्रपाले जित्दा कांग्रेस कमजोर अवस्थामा दोस्रो बन्यो । सिटौलाकै गृहनगर भद्रपुरमा प्रमुख, उपप्रमुखसहित बहुमत स्थानमा एमालेले जित हात पार्दा उनकै दाहिने हात मानिने गणेश पोखरेल ठूलो मतान्तरले पछि परे । हल्दीबारी गाउँपालिकामा राप्रपाबाट  लिङ्देनकै सहोदर भाइ रविन्द्रले चुनाव जिते । यो क्षेत्रको बाह्रदसी गाउँपालिका मात्रै कांग्रेसको भागमा प¥यो । क्षेत्र पुनर्निर्धारणक्रममा यही क्षेत्रमा गाभिएको बिर्तामोडको १० नम्बर वडा एमालेले जितेको ठाउँ हो। 
 
स्थानीय निर्वाचनमा प्रमुख पदमा प्राप्त मतअनुसार कांग्रेससँग अहिले २० हजार २२ मत छ । कांग्रेसविरुद्ध गठबन्धन बनाएका तीन दलको भागमा भने ३८ हजार ३ सय ३ मत छ । जसमा एमालेको १५ हजार ५ सय ६२, राप्रपाको १३ हजार ७ सय ५० र माओवादी केन्द्रको ८ हजार ९ सय ९१ मत छ । यो मत कांग्रेसको भन्दा १८ हजार २ सय ८१ बढी हो । यही गणित हेरेरै राप्रपा उम्मेदवार लिङ्देन भन्छन्, ‘यसपटक सिटौलालाई हराउने मेरो पुरानो धोको पूरा हुनेभयो।’ 

२०५६ को आम निर्वाचनमा यही क्षेत्रबाट चुनाव लडेका सिटौलाले एमाले उम्मेदवारलाई हराएर विजयी बन्दा राप्रपाका  लिङ्देनले तीन सय हाराहारी मत मात्रै पाएका थिए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा आइपुग्दा सिटौलाको निकटतम प्रतिस्पर्धी लिङ्देन नै बनेका थिए । आफ्नो लगातारको प्रगति र सिटौलालाई भइरहेको लगातारको क्षतिले लिङ्देन उत्साही बनेका छन् । उनको यसपटकको मुख्य नारा चाहिँ राजनीतिक भन्दा पनि विकासे छ । ‘झापा ३ का जनताले कालोपत्रे सडक हेर्न जानुपरे बिर्तामोड पुग्नुपर्ने, अहिले पनि टुकी बाल्नुपर्ने अवस्था कसले ल्यायो ?’ उनले भने ‘यो क्षेत्रको प्रगतिको अवरोध यसपटक ढल्नेछ ।’ 
२०४८ यताका सबै चुनाव लडेका सिटौला इतिहासमै सबैभन्दा ठूलो असुरक्षाको भयमा छन् । त्यसबेलाको झापा–१ (हाल ३) मा पहिलोपटक चुनावी प्रतिस्पर्धा गरेका उनले प्रतिस्पर्धा गरेका ६ वटा चुनावमध्ये तीन वटामा जित र तीनमा हारको सामना गरेका छन् । ०४८ मा चुनाव हारेका उनले २०५० को उपनिर्वाचन जिते। 

५१ को मध्यावधिमा पराजित सिटौला ०५६ मा विजेता बन्दा ०६४ को पहिलो संविधानसभामा माओवादीबाट पराजित भए । २०७० मा विजेता बनेका उनको चुनावी यात्राले एउटामा जित अर्कोमा हारको संयोग देखाउँदै आएको छ । यो संयोग दोहोरियो भने यसपटक उनको भागमा हारको जोखिम देखिन्छ। 

१ लाख १४ हजार ५ सय ८६ मतदाता रहेको यो क्षेत्रमा चलेका केही हल्ला र वाम गठबन्धनभित्रको असन्तुष्टिलाई कांग्रेसले आफ्नो जितको अर्को कारणका रुपमा व्याख्या गरिरहेको छ। 

झापा ३ मा लिङ्देनलाई सघाउने एमाले–माओवादी नेताको निर्णयले वाम गठन्धनभित्रै तीव्र असन्तुष्टि जन्माएको छ । संविधानमा उल्लिखित ‘समाजवाद प्राप्तिका लागि’ भन्दै गरिएको वाम गठबन्धनमा हिन्दूवादी राप्रपा समेट्ने काम ‘गलत र आश्चर्यजनक’ भएको भन्दै  वाम गठबन्धनका कार्यकर्ताले असन्तोष प्रकट गरेका हुन् । यसको असर बिहीबारको उम्मेद्वारी दर्ता क्रममै देखियो ।  लिङ्देनको उम्मेदवारी दर्ता क्रममा  प्रस्तावक र समर्थकमा वाम गठबन्धनबाट एक–एक जना बस्ने जिल्ला तहका नेताबीच भएको सहमति कार्यान्वयन भएन । माओवादीले  लिङदेनको समर्थक र प्रस्तावक बस्न इन्कार ग¥यो ।  एमाले र माओवादीका नेता गठबन्धनका सबै उम्मेदवारको समर्थक–प्रस्तावक बसे । तर, राप्रपा हकमा त्यसो हुन सकेन । ‘नेताले गरेको निर्णय गलत थियो, त्यही कुरा जनाउन हामी समर्थक नबसेका हौं’, माओवादीका प्रदेश सभा सचिवालयका एक  नेताले भने, ‘वाम गठबन्धनमा हिन्दुवादी राप्रपाको प्रवेश ज्यादै अस्वाभाविक भयो।’ 

यसअघि एमाले र माओवादीबीच जिल्लामा प्रतिनिधिसभाका पाँच  र प्रदेशका १० सिट बाँडफाँड हुने सहमति भइसकेको थियो । राप्रपा कांग्रेससँग तालमेलमा सहभागी थियो ।  वाम गठबन्धनबाट एमालेका पुष्प पोखरेल उम्मेदवार हुने तय थियो । महासचिव ईश्वर पोखरेलका भाइसमेत रहेका पूर्व सांसद पोखरेललाई टिकट दिन दाजु नै लागेका थिए । उता लोकतान्त्रिक गठबनधनमा चाहिँ  लिङदेन प्रत्यक्षमा र सिटौला समानुपातिकमा रहने सहमति थियो । तर, अन्तिम समयमा  सिटौलाले समानुपातिकमा बस्न अस्वीकार गर्दै  झापा ३ मा उम्मेदवारी दिने निर्णय लिएपछि राप्रपाले ‘प्रदेश १ मा कांग्रेससँग गठबन्धन टुटेको’ घोषणा गर्‍यो । लगत्तै राप्रपाले वाम गठबन्धनसँग झापा ३ मा आफूलाई सघाए मेची अञ्चलभरि गठबन्धनलाई सघाउने प्रस्ताव पनि राख्यो ।  प्रस्तावले गठबन्धन लोभियो । उम्मेदवारी दर्ताको अघिल्लो दिन एमाले र माओवादी नेताले राप्रपा उम्मेदवारलाई सघाउने निर्णय लिए । लगत्तै एमाले र माओवादीका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत तीव्र असन्तोष प्रकट गरे। 

‘गिरिजाप्रसादले कोइरलाले माले, मसाले र मण्डले एकै हुन् भन्थे’, माओवादी केन्द्र झापाका प्रभावशाली नेता हिक्मत घिमिरेले फेसबुक स्टाटसमा लेखे, ‘आज प्रमाणित नै भयो ।’ राप्रपालाई गठबन्धनमा सहभागी गराएको विरोधमा एमालेभित्र पनि ठूलै हलचल आएको छ । उम्मेदवारका रुपमा चर्चामा रहेका नेता पुष्प पोखरेल र उनका समर्थक बिहीबार उम्मेदवारी दर्ताक्रममा उपस्थित भएनन् । ५१ को मध्यावधि निर्वाचनमा सिटौलालाई हराएका पोखरेल पक्षधर अहिले असन्तुष्ट छन् । असन्तुष्ट मत आफ्नो पक्षमा पार्ने कसरतमा सिटौला छन्  भने गठबन्धनको मत सुरक्षित नगरे सिटौला हाबी हुने त्रासमा गठबन्धनका दल छन् । उम्मेदवार र दलभित्रको यही आश र त्रासले झापा ३ रोचक भिडन्तको थलो बनेको छ । एकातिर राजावादी उम्मेदवारको समर्थनमा एमाले–माओवादीको गठबन्धन, अर्कातिर सिटौला नेतृत्वमा कांग्रेसको एकल प्यानलबीचको प्रतिस्पर्धा चाखलाग्दो हुने देखिएको छ। 

प्रकाशित: १८ कार्तिक २०७४ ०१:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App