coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

एक दशकमा प्रतिव्यक्ति आय पाँच लाख पुर्‍याउने (घोषणापत्रको पूर्ण पाठसहित)

काठमाडौं— नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले  १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ का लागि तयार पारिएको वाम गठबन्धनको घोषणापत्रले दशकभित्र २० हजार मेगावाट विद्युत् उत्पादन गर्दै मुलुकलाई यही शताब्दीमा समुन्नत राष्ट्र बनाउने घोषणा गरेको छ। 

गठबन्धनले पाँच वर्षभित्रमा खाद्यान्न निर्यात गर्ने महत्वाकांक्षी योजना पनि अघि सारेको छ। हाल मुलुकको वैदेशिक व्यापारको अवस्था भने निराशाजनक छ। गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा नौ खर्ब नौ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षमा नौ खर्ब ८४ अर्ब ६ करोड ७८ लाख रुपैयाँको आयात हुँदा निर्यात जम्मा ७४ अर्ब ७१ करोड २६ लाख रुपैयाँ थियो। 

उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म चार र ६ लेनका राजमार्ग निर्माण गर्ने र हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म दुई र चार लेनका राजमार्ग निर्माण गर्ने घोषणा वाम गठबन्धनको छ। 

‘घर–घरमा बिजुली: जन–जनमा सेयर’ जस्तो लोकप्रिय नारा अघि सार्दै १० वर्षमा जल, जैविक, सौर्य, वायु, फोहर प्रशोधन र अन्य वैकल्पिक माध्यमबाट २० हजार मेगावाट विद्युत् उत्पादन गर्ने घोषणा समेत वाम गठबन्धनको छ। उसले बिजुलीबाट वञ्चित घरपरिवारमा दुई वर्षभित्र बिजुली उपलब्ध गराउने र आगामी तीन वर्षमा सिंगो नेपाललाई विद्युतीकरणमा लगिने  वाचा गरेको छ। 

त्यसैगरी, यसअघि एमालेले घोषणा गरेको पानी जहाज चलाउने योजनालाई वाम गठबन्धनले पनि निरन्तरता दिएको छ। भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गर्दै प्रशान्त र हिन्द महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालन गर्ने घोषणा गरेको छ। 

‘आगामी तीन वर्षमा काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारी साधन मात्र उपयोग गर्ने कार्ययोजना लागू गरिने छ,’ घोषणपत्रमा भनिएको छ। आगामी पाँच वर्षमा सबै उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र र सडकमा चौबीसै घन्टा पर्याप्त विद्युत् उपलब्ध गराउने घोषणा पनि गठबन्धनले गरेको छ।

त्यसैगरी, पूर्वाधारतर्फ काठमाडौं–तराई द्रुत मार्ग चार पर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र आठ र ६ लेनमा स्तरोन्नति गर्ने जनाएको छ। उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म चार र ६ लेनका राजमार्ग निर्माण गर्ने र हिमाली जिल्लाका सदरमुकामदेखि नेपाल–चीन सिमानासम्म दुई र चार लेनका राजमार्ग निर्माण गर्ने घोषणा वाम गठबन्धनको छ। 

आगामी १० वर्षभित्र सम्पन्न हुने गरी जलमार्ग, पदमार्ग, केबलकार तथा घोडेटो र गोरेटो बाटोे निर्माण, विस्तार एवं स्तरोन्नतिका वृहत् परियोजना सञ्चालन गर्ने जनाएको छ। पर्यटनको विकासका लागि ताप्लेजुङदेखि दार्चुलासम्म जोड्ने गरी ‘हिमाली पर्यटकीय पदमार्ग’ निर्माण गर्ने योजना गठबन्धनको छ।

त्यसैगरी, वाम गठबन्धनले आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरुमा रेल सञ्चालन गर्ने र काठमाडौं लगायत अन्य मुख्य सहरमा मेट्रो र मोनोरेल चलाउने जनाएको छ । राजधानी काठमाडौंलाई छिमेकी मुलुकसँग रेलमार्ग सञ्जालसँग तथा राजधानीलाई सबै प्रादेशिक केन्द्रसँग द्रुतमार्गद्वारा जोडिने उसले बताएको छ। 

दुई वर्षभित्रमा भैरहवा र तीन वर्षभित्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने योजना उसको छ । आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल र तीन वर्षभित्र अत्याधुनिक प्रविधिमा धरहरा पुनःनिर्माणको घोषणा गरिएको छ । कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गर्ने बुँदा पनि घोषणपत्रमा छ । आगामी १० वर्षमा ५० लाख पर्यटक भित्र्याउने योजना वाम गठबन्धनको छ । हाल मुलुकमा वार्षिक झन्डै ८ लाख पर्यटक आउने गरेका छन्। 

त्यसैगरी, दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न तथा माछा, मासु, अण्डा र दूधमा आत्मनिर्भर बनाउने घोषणा वाम गठबन्धनले गरेको छ ।  पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने र सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गर्ने घोषणा पनि छ।

सम्पूर्ण कृषिभूमिमा सुपरजोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गर्ने प्रतिबद्धता जनाउँदै कृषि फार्महरुमा डेरी, पोल्ट्री, पशुपन्छी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन र बीउ सुरक्षा कार्यक्रम लागू गर्ने योजना घोषणापत्रमा छ। मुलुकको अर्को प्रमुख दल नेपाली कांग्रेसले कात्तिक १३ गते नै प्रतिनिधिसभा र प्रदेशसभा लक्षित आफ्नो घोषणापत्र जारी गरिसकेको छ।

घोषणापत्रको पूर्ण पाठ

प्रकाशित: १७ कार्तिक २०७४ ०८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App