coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

त्रिभुवन विमानस्थल दिनहुँ अस्तव्यस्त

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – आन्तरिक यात्रुसँगै विदेशी पर्यटकको चाप बढेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान व्यवस्थापन अस्तव्यस्त भएको छ । यसको प्रत्यक्ष असर आन्तरिक यात्रुमाथि परेको छ। 

विमानस्थल कार्यालयले उडान व्यवस्थापन मिलाउन नसकेपछि पछिल्ला केही दिनदेखि सम्बद्ध गन्तव्य पुग्नुपर्ने यात्रुले दुःख पाइरहेका छन् । विमानस्थल व्यवस्थापनका अधिकारी आफैं भन्छन्– केही दिनयता दिनहुँ न्यूनतम आधा घन्टादेखि अधिकतम दुई घन्टासम्म उडान ढिला (डिले) भइरहेका छन्।

विमानस्थलबाट बुधबार विभिन्न आन्तरिक गन्तव्यका लागि हुनुपर्ने अधिकांश आन्तरिक उडान एकदेखि डेढ घन्टासम्म डिले भए । ‘उडान चाप व्यवस्थापन गर्न साह्रै गाह्रो भइरहेको छ,’ त्रिभुवन विमानस्थल सञ्चालन निर्देशक तथा प्रवक्ता प्रेमनाथ ठाकुरले बुधबार नागरिकसँग भने, ‘आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ उडान संख्या थपिएको थपियै छन् भने आन्तरिक जहाजको संख्या पनि बढिरहको छ । यसबाट चाप बढ्नु स्वाभाविक हो।’

त्यसैगरी अन्तर्राष्ट्रिय टर्मिनलबाट जहाजसम्म र जहाजबाट टर्मिनलसम्म यात्रुका सामान (लगेज) लैजाने र ल्याउने चारवटा ‘ब्यागेज बेल्ट’ मध्ये तीनमात्र सञ्चालनमा रहेको विमानस्थलले जनाएको छ । एउटा बेल्ट भन्सार कार्यालयले कर्मचारी नभएका कारण सञ्चालन गर्न नसकिएको भन्दै आएको छ । जसका कारण अन्तर्राष्ट्रिय उडानतर्फ पनि यात्रुले सास्ती बेहोर्दै आएका छन्। 

‘त्यसमाथि हामीसँग एउटामात्र धावनमार्ग छ, र अप्रोच पनि एकातिर मात्र छ,’ प्रवक्ता ठाकुरले भने, ‘नौवटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक जहाज पार्किङ बेबाट जहाजको चाप धान्न मुश्किल भएको धेरै भइसक्यो । यसको मार यात्रुमाथि परिरहेको छ । हामी सकेसम्म यात्रुलाई सास्ती नहोस् भनेरै काम गरिरहेका छौं।’

भैरहवामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सकेसम्म चाँडै पूरा गर्न सकिएन भने त्रिभुवन विमानस्थलको चाप कम गर्न नसकिने उनले बताए । केही दिनयताको यात्रु चाप अझै डेढ महिनासम्म जारी रहने उनको भनाइ छ। 
‘अहिले पर्यटन याम भएका कारण विभिन्न आन्तरिक गन्तव्य जाने विदेशी यात्रुको संख्या बढिरहेका छ,’ उनले भने, ‘लुक्लाका लागि मात्रै विभिन्न वायुसेवा कम्पनीले दैनिक ४० वटासम्म उडान गरिरहेका छन् । त्यसबाहेक माउन्टेन फ्लाइट, अन्य गन्तव्यका उडान तालिका छँदैछ।’

विमानस्थलले आफ्नो क्षमताभन्दा झन्डै दोब्बर जहाज उडान–अवतरण थेग्नुपरेपछि त्यसको प्रत्यक्ष असर यात्रुमाथि परिरहेको छ । नियमित उडान तालिकाअनुसार गन्तव्य जानुपर्ने जहाजको चाप विमानस्थल कार्यालयले व्यवस्थापन गर्न नसक्नु र सँगैसँगै मौसम खराब भइदिँदा घन्टौंसम्म यात्रु विमानस्थलमै अड्किन थालेका छन्। 

त्रिभुवन विमानस्थलका अनुसार दैनिक अधिकतम ३ सयसम्म उडान–अवतरण क्षमता विमानस्थलको छ । तर, केही दिनअघि ५ सयभन्दा बढी उडान–अवतरण हुन पुगेको थियो जसलाई व्यवस्थापन गर्न विमानस्थललाई हम्मे भएको थियो । ६ वर्षअघि एकै दिन ४ सय ३६ उडान–अवतरण भएको रेकर्ड विमानस्थलसँग छ। 

काठमाडौं उपत्यका वरिपरि हुस्सु लागेपछि त्रिभुवन विमानस्थलको उडान–अवतरण प्रभावित हुन पुगेको ठाकुरले जानकारी दिए । मौसम खराब हुन जाँदा ‘भिजुअल फ्लाइट रुल’ (भिएफआर) उडान बन्द गरी ‘इन्स्ट्रुमेन्टल फ्लाइट रुल’ (आइएफआर) उडान गर्नुपरेपछि बिहानैदेखि अधिकांश उडान डिले हुने गरेको विमानस्थलले जनाएको छ । 
वायुसेवा कम्पनीहरू भने समयअनुसार विमानस्थल सुधार र विस्तार नगर्ने व्यवस्थापनकै कारण वायुसेवा र यात्रुले दुःख पाएको दाबी गर्छन् । ‘विमानस्थल अत्यन्तै साँघुरो भइसकेको छ । अधिकतम दुई सय उडान–अवतरण क्षमता भएको विमानस्थलमा दिनहुँ पाँच सय उडान–अवतरण हुन थालेको छ,’ एक वायुसेवाका उच्च अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, ‘समयमा काम नगर्नु भनेकै अव्यवस्थित व्यवस्थापन हो।’

उनका अनुसार पछिल्लो पटक यती एयरलाइन्सले ७२ सिट क्षमतायुक्त दुईथान ‘एटिआर७२–५००’, बुद्ध एयरले ७२ सिटे एकथान एटिआर७२–५००, श्री एयरलाइन्सले ५० सिटे ‘सिआरजे–२००’ दुईथान र ७० सिटे एकथान सिआरजे–७०० तथा समिट एयरले १९ सिटे एकथान ‘एलइटी४१०’ सिरिजको जहाज थपेका छन्। 

अब यतीसँग सात, बुद्धसँग नौ, श्रीसँग तीन, तारासँग सात, सिम्रिक एयरसँग दुई, समिटसँग तीन गरी करिब तीन दर्जन जहाज छन् जसले नियमित तालिकाअनुसार काठमाडौंबाट व्यावसायिक उडान गरिरहेका छन् । अहिले प्रमुख पर्यटक मौसम भएका कारण काठमाडौंबाट लुक्ला, पोखरा र भरतपुर जाने पर्यटक बढेका छन्। 

मुलुकभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित उडान केही कम गर्न सम्बद्ध वायुसेवालाई आग्रह गरे पनि कसैले घटाइसकेका भने छैनन्।

‘सबै वायुसेवा कम्पनीका एक–एक ठूला जहाजलाई पोखरा, भैरहवा, नेपालगन्ज वा विराटनगर विमानस्थलमा आधार गर्न आग्रह गरेका छौं,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘यति गर्न सके त्रिभुवन विमानस्थलमा चाप कम गर्न सकिन्थ्यो।’

वायुसेवा कम्पनीका अनुसार मौसम खराब भएपछि जबर्जस्ती जहाज उडाउन मिल्दैन । बाध्य भएर मौसम खुल्ने पर्खाइमा बस्नुपर्छ । जब मौसम खुल्छ, त्यसपछि बल्ल उडान गर्नुपर्छ । यसका कारण बिहानदेखिको उडानचाप विस्तारै धकेलिँदै दिउँसो र रातिसम्म पुग्ने गर्छ । खराब मौसमका कारण जहाज डिले हुँदा यात्रुलाई मात्र नभई वायुसेवालाई पनि समस्या परिरहेको छ।  

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App