७ वैशाख २०८१ शुक्रबार
राजनीति

कास्की–१ मा बहालवाल मन्त्री र पूर्वमन्त्री भिड्दै

काठमाडौं – आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कास्की क्षेत्र नम्बर एकमा बहालवाला मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बहालवाला कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा र पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रतिनिधि सभाको निर्वाचनका लागि  मनोनयन दर्ता गराएका हुन् । 

थापा नेपाली कांग्रेसका उम्मेदवार हुन भने एमालेबाट स्वास्थ्यमन्त्री भएका अधिकारीलाई वाम गठबन्धनको साथ छ । २०६४ सालमा सम्पन्न पहिलो संविधान सभाको निर्वाचनमा माओवादी नेता देव गरुङसँग पराजित भएका थिए भने २०७० को दोस्रो संविधान सभाको निर्वाचनमा भने एमालेका मानबहादुर जिसीलाई पराजीत गर्दै संविधान सभा सदस्यमा निर्वाचित भएका थिए। 

त्यसैगरी २०६४ मा माओवादी नेता गुरुङसँग पराजित भएका अधिकारी २०७० मा समानुपातिक सदस्य बनेका थिए । उनी तत्कालिन स्वः सुशील कोइरालको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए । 

थापा र अधिकारीको प्रतिस्पर्धा निकै पेचिलो हुने देखिएको छ । कास्की–१ नेपाली कांग्रेसका लागि अनुकुल क्षेत्र मानिन्छ । २०६४ सालमा यस क्षेत्रमा अत्याधिक बहुमतसाथ विजयी भएको माओवादी २०७० मा कांग्रेससँग पराजित  भएको थियो । एमालेले निरन्तर ०६४ र ०७० मा पराजय व्यहोर्नु परेको थियो । 

तर, गत वैशाख ३१ गते सम्पन्न स्थानीय निर्वाचनमा भने माओवादीसँग गठबन्धन गरेको नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई पाखा लगाउँदै एमालेले जित हात पारेको थियो । अधिकारीलाई माओवादीको पनि साथ रहेको छ । अधिकारी नेपाल सरकारका पूर्वमन्त्री भएका कारण पनि केही प्रभाव पर्न सक्ने देखिएको छ । अधिकारीले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । तर, उनले भनेजस्तै बहालवाला मन्त्रीसँग भिड्न सहज भने देखिदैन । 
कास्कीमा थापाको पनि छुट्टै प्रभाव छ । उनी सरकारमा भएका कारण पनि मतदातमा थप प्रभाव पर्न सक्छ । वर्तमान मन्त्री भएकै कारण पनि चुनावी अभियानमा जाँदा थापालाई प्रचारप्रसार गर्न सकारात्मक हुने देखिन्छ । 

मतदाताले स्थानीय निर्वाचनमाजस्तो व्यक्ति विशेष र निश्चित मुद्दा विशेष भन्दा पनि राष्ट्रिय एजेण्डा र विकास निमार्णका योजनासँगै पार्टीको सिद्धान्त हेरेर मत दिने गर्छन । कास्कीमा प्रतिनिधि सभामा माओवादीले एक सिट पनि नपाएकोले माओवादीका आकांक्षीहरू केही असन्तुष्ट छन् । कास्की क्षेत्र नम्बर एकबाट देव गुरुङ सर्वसम्मत सिफारिस भएका थिए । तर, प्रतिनिधि सभा माओवादीको भागमा नपरेपछि उनी समानुपातिकमा समेटिएका हुन् ।

यसैगरी प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं २ बाट वाम गठबन्धनका रवीन्द्र अधिकारी र काँग्रेसका देवराज चालिसेले उम्मेदवारी दर्ता गर्नुभएको छ । प्रदेश सभातर्फ (क) बाट वाम गठबन्धनका राजकाजी गुरुङ र (ख) बाट कृष्ण थापा तथा काँग्रेसबाट (क) मा गुरु बराल र (ख) बाट विन्दु कुमार थापाले उम्मेदवारी दर्ता गरेका छन् । 

त्यसैगरी सोही क्षेत्रमा राष्ट्रिय जनमोर्चाका तर्पmबाट प्रतिनिधिसभाका लागि दानकुमारी खत्री र प्रदेश (क) बाट टीकाराम अधिकारी र (ख) बाट गणेश अधिकारीले मनोनयन दर्ता गराएका छन् । 

विवेकशील साझा पार्टीका तर्फबाट प्रदेश सभा (क)मा चिरन्जीवी बराल र (ख) बाट नरेश शंकर पालिखेले स्वतन्त्र उम्मेदावरी दिएका छन् । 

यसैगरी प्रतिनिधि सभातर्फ क्षेत्र नं ३ मा काँग्रेसबाट शुक्रराज शर्मा, वाम गठबन्धनबाट एमालेका जगतबहादुर सुनार विश्वकर्मा, संघीय समाजवादी फोरम नेपालका डिलबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका हिमलाल गौतम, नयाँ शक्ति पार्टी नेपालका नारायणप्रसाद भण्डारी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (वैद्य) समूहका भोजराज त्रिपाठी, विवेकशील साझा पार्टीका मिलन अधिकारी, नेपाल दलित पार्टीका दुर्गाबहादुर कामी सुनार, जनसमाजवादी पार्टीका रमेश बसेल र स्वतन्त्र दुर्गादत्त तिमिल्सिनाले मनोनयन दर्ता गराए। 

प्रदेश सभातर्फ (क) मा काँग्रेसकी शारदा पौडेल, वाम गठबन्धनवाट माओवादी केन्द्रका रामजी बराल, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चीनबहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोक्का, नयाँ शक्ति पार्टी नेपालका देवीप्रसाद सुवेदी, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, नेपाल दलित पार्टीका कृष्णबहादुर दमै र जनसमाजवादी पार्टीका गोरे दमैले उम्मेदवारी दर्ता गराएका छन् । 

(ख) मा काँग्रेसका सिकन्दर गुरुङ, वाम गठबन्धनबाट एमालेका राजीव पहारी, राप्रपाका धनमाया कोइराला, संघीय समाजवादी फोरमका तुलबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका विष्णु पुरी, नयाँ शक्ति पार्टी नेपालका नेत्रप्रसाद चापागाईं, विवेकशील साझा पार्टीका गुरुप्रसाद बराल र नेपाल दलित पार्टीकी कमला विकले मनोनयन दर्ता गराए। 

प्रकाशित: १७ कार्तिक २०७४ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App