६ वैशाख २०८१ बिहीबार
राजनीति

कोही दोहोर्‍याउने कोही बदला लिने दाउमा

दाङ – वाम गठबन्धनको ठूलो दलबलसहित बिहीबार उम्मेदवारी दर्ता गराएका माओवादी नेता कृष्णबहादुर महराले दाङबाट दोस्रोपटक जित्ने लक्ष्य राखेका छन् । पहिलो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट विजय भएका उनी अहिले दुई नम्बर (साविक ३) बाटै प्रतिनिधिसभा प्रवेशका लागि प्रतिस्पर्धामा छन् । २ नम्बर चुनावी क्षेत्रबाट महराले २०६४ को जितको इतिहास कायम गर्ने लक्ष्य लिइरहँदा कांग्र्रेसका राजु खनालले २०७० को आफ्नो सुखद परिणामलाई कायमै राख्ने रणनीतिमा लागेका छन् । यो क्षेत्रमा महराका प्रतिस्पर्धी खनाल हुन् । २०७० को संविधानसभा पछिल्लो निर्वाचनमा खनाल यसै क्षेत्रबाट निर्वाचित भएका थिए । यी दुवै नेता आफ्नो विगतको चुनावी जित दोहोर्‍याउने रणनीतिमा छन्। 

महरा र खनाल मात्रै हैन, यहाँका थुप्रै उम्मेदवारलाई पुरानो जितको शान कायम राख्ने चुनौती छ । तीमध्येका एक नेता हुन् शंकर पोखरेल । २०५१ को संसदीय निर्वाचनमा विजयी भएका पोखरेलले त्यसयता चुनावी जितको अनुभूती नै गर्न पाएका छैनन् । बिहीबार प्रदेशसभाका लागि उम्मेदवारी दिएका पोखरेलले २३ वर्ष अघिको जित दोहोर्‍याउने लक्ष्य लिएका छन् । उनी प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार बनेका छन् । प्रतिनिधिसभा सदस्यका लागि महरासँग टिकटको रस्साकस्सी गरेका पाखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रदेशसभा सदस्यमा थन्किएका थिए । २३ वर्ष अघिको जित दोहो¥याउने लक्ष्य मात्रै नभई पछिल्लो संविधानसभा निर्वाचन २०७० मा व्यहोर्नु परेको हारको बदला लिनु पोखरेलको अर्को लक्ष्य हो। संविधानसभाको पछिल्लो निर्वाचनमा क्षेत्र नम्बर ४ बाट कांग्रेसका बुद्धिराम भण्डारीसँग हारेका उनलाई यसपटक कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेले टक्कर दिने भएका छन्। 

यसैगरी मोहन वैद्यको समूहबाट अलग भएर पुनः माओवादीमै फर्किएका इन्द्रजित थारुलाई पार्टी पुनरागमनसँगै पुरानो जितको इतिहास दोहो¥याउने गतिलो अवसर छ । उनी क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभा सदस्यका लागि भिड्दै छन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा एक नम्बर क्षेत्रबाट चुनाव जितेका थारु माओवादी विभाजन पश्चात् चुनाव बहिस्कारको नीति बोकेर मोहन वैद्य समूहमा मिसिएका थिए । रामबहादुर थापा माओवादी पार्टीमा फर्किएपछि उनीसँगै माओवादी छिरेका थारु प्रदेश सभाका लागि उम्मेदवार चयन भएका हुन् । थारुसँग कांग्रेसका प्रदीप थापा प्रतिस्पर्धामा छन्। 

यसैगरी, संविधानसभाको पछिल्लो निर्वाचनमा तत्कालीन दुई नम्बर क्षेत्रबाट विजयी कांग्रेसकी शुसीला चौधरीलाई यसपटकको प्रतिनिधि सभा निर्वाचनमा एक नम्बर चुनावी क्षेत्रमा जनमत जुटाउनु पर्ने भएको छ । उनी पछिल्लो संविधानसभाको जितलाई चुनावी क्षेत्र १ मा दोहोर्‍याउने रणनीतिमा छिन् । उनीसँग बाम गठवन्धनका तर्फबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले प्रतिस्पर्धा गर्दैछन्।

तत्कालीन क्षेत्र नम्बर ५ बाट पछिल्लो संविधानसभा निर्वाचनमा शानदार जित हात पारेका कांग्रेसका दीपक गिरी पुनः जित हात पार्ने लक्ष्यमा छन् । साविकको ५ र अहिलेको ३ नम्बर क्षेत्रमा पुनः प्रतिनिधिसभा उम्मेदवार बनेका गिरी विगतको आफ्नो प्रभावलाई कायमै राख्ने रणनीतिमा छन् । पूर्व सिँचाइमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य गिरीको यो क्षेत्रमा राम्रो प्रभाव रहेकाले पनि उनलाई बाम गठवन्धनले रोक्न नसक्ने आँकलन भैरहेको छ ।  वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला सचिव हिराचन्द्र केसी गिरीसँग भिड्दै छन्। 

संविधानसभाको पछिल्लो निर्वाचनमा एमाले नेता शंकर पोखरेललाई पछि पारेर संविधानसभा प्रवेश गरेका कांग्रेसका बुद्धिराम भण्डारी प्रदेशसभा सदस्य बन्न उस्तै सुखद नतिजा दोहो¥याउने रणनीतिमा छन् । तत्कालीन क्षेत्र नम्बर ४ मा पोखरललाई हराएका भण्डारी यसपटक क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् । उनको एमालेका उत्तरकुमार ओलीसँग प्रतिस्पर्धा हुनेछ । भण्डारीले जित दोहोर्‍याउने लक्ष्य लिइरहँदा ओली भने हारको बदला लिने दाउमा छन् । उनी तत्कालीन क्षेत्र नम्बर ५ बाट दीपक गिरीसँग पछिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका थिए । यसैगरी एमालेका रेवतीरमण शर्माले पनि हारको बदला लिने कसरत थालेका छन् । अहिले प्रदेशसभा क्षेत्र नम्बर १ को (ख) मा उम्मेदवार बनेका शर्मा पछिल्लो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ पार्वती डिसी चौधरीसँग पराजित भएका थिए।  

उल्लासमय उम्मेदवारी दर्ता   
तीन निर्वाचन क्षेत्र रहेको दाङमा दलहरूले उल्लास मनाउँदै उम्मेदवारी दर्ता गराएका छन्। मुख्यतः वामपन्थी गठबन्धन र नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गराए । प्रदेशसभाका लागि एक नम्बर निर्वाचन क्षेत्रबाट वामपन्थी गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराए भने कांग्रेसका पूर्व सांसद सुशीला चौधरीले उम्मेदवारी दर्ता गराएकी छन्। 

यसैगरी दुई नम्बर क्षेत्रमा प्रतिनिधिसभाका लागि माओवादी नेता कृष्णबहादुर महराले वामपन्थी गठबन्धनबाट उम्मेदवारी दर्ता गराए भने कांग्रेसका तर्फबाट राजु खनालले उम्मेदवारी दर्ता गराए । यसैगरी क्षेत्र नम्बर ३ मा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरी र एमालेबाट जिल्ला सचिव हीराचन्द्र केसीले उम्मदेवारी दर्ता गराए। 

कोमल वली ‘बागी’
राप्रपा परित्याग गरी एमाले प्रवेश गरेकी गायिका कोमल वली बाम गठवन्धनको बागी उम्मेदवार बनेकी छिन् । उनले क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन्। आफूलाई उम्मेदवार नबनाइएपछि ओलीले बागी उम्मेदवारी हालेको प्रतिक्रिया दिइन् । ‘ममाथि भएको अपमान मैले सहन सकिन,’ उनले भनिन्, ‘त्यसैले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएकी छु ।’ उनलाई प्रतिनिधिसभा वा प्रदेशसभामा प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी बनाउने एमालेमा चर्चा चलेको थियो । उनलाई उम्मेदवार बनाउने सर्तमै एमाले नेता शंकर पोखरेलले पार्टी प्रवेश गराएका थिए । तर अन्तिम चरणमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बन्न बाध्य भएको उनले बताइन् । ‘मलाई प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार पनि भनियो, प्रदेशसभाको उम्मेदवार पनि भनियो, अनि समानुपातिक उम्मेदवार बनाउने पनि भनियो,’ ओलीले भनिन्, ‘तर आश्वासन देखाएर ठूलो जालझेल गरियो ।’ उनले पार्टीले आफूलाई कारबाही गरे पनि भोग्न तयार रहेको बताइन् । ‘मलाई पार्टीले कारबाही ग¥यो भने पनि स्वीकार्य छ,’ उनले भनिन्, ‘म अपमान सहेर बस्दिन ।’ पत्रकारिताबाट औपचारिकरूपमा बिदा लिई राप्रपाको राजनीतिमा लागेको कोमल उक्त पार्टीको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचितसमेत भएकी थिइन । त्यसको केही समयपछि कोमल एमाले प्रवेश गरेकी थिइन् । एमाले नेतृ कोमल पार्टीका आधिकारिक उम्मेदवार हीराचन्द्र केसीको बागी बनेकी छिन्। 

पूर्व सांसद ओली पनि ‘बागी’   
यसैगरी दाङ क्षेत्र नम्बर ३ को (क) मा प्रदेशसभाका लागि पूर्व सांसद तथा माओवादी नेता कुवेर ओलीले बागी उम्मेदवारी हालेका छन् । यो क्षेत्रमा माओवादीकै जगप्रसाद शर्मा आधिकारिक उम्मेदवार तय भएका छन् । ओलीले वाम गठबन्धन बिरुद्ध बिहीबार स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । ओली २०६४ को पहिलो संविधानसभा निर्वाचनमा निर्वाचित सभासद् हुन् । टिकट वितरणमा पार्टीले अन्तिम समयमा धोका दिएको भन्दै ओली बागी उम्मेदवार बनेका हुन्।

कांग्रेसका ७ पूर्व सांसद उम्मेदवार   
पछिल्लो संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका आठ सांसद मध्ये सातजना पुनः उम्मेदवार चुनिएका छन् । क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी सुशीला चौधरी २०७० मा निर्वाचित सांसद हुन् । यसैगरी उक्त निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित पार्वती डिसी चौधरी प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवार चयन भएकी छिन् । त्यसबेलाकी समानुपातिक सांसद एवं कांग्रेस नेता खुमबहादुर खड्काकी पत्नी शिला खड्का पनि यसपटक पुनः समानुपातिक उम्मेदवारको सूचीमा छिन् । यसैगरी क्षेत्र नम्बर २ मा २०७० मा क्षेत्र नम्बर ३ मा निर्वाचित राजु खनाल प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् भने क्षेत्र नम्बर ५ बाट निर्वाचित दीपक गिरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । क्षेत्र नम्बर ४ बाट निर्वाचित बुद्धिराम भण्डारी अहिले प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को २ बाट उम्मेदवार बनेका छन् । यसैगरी पछिल्लो संविधानसभा निर्वाचनका समानुपातिक सांसद तथा हालका श्रमराज्यमन्त्री डिल्ली चौधरी प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ को (क) बाट उम्मेदवार बनेका छन्। 

प्रकाशित: १७ कार्तिक २०७४ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App