coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दाहालसँग भिड्दै पाण्डे

चितवन – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग वर्तमान सरकारका मन्त्री राप्रपा (प्रजातान्त्रिक)का नेता विक्रम पाण्डे चुनावी भिडन्तमा उत्रेका छन् । दुवै नेताले बिहीबार चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवारी दर्ता गराए । दाहाल वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाले उनलाई जिल्लामा एमालेको साथ रहने छ । त्यसैगरी पाण्डलाई नेपाली कांग्रेसको सहयोग हुनेछ।

चितवन क्षेत्र नं. ३ मा नेपाली कांग्रेस बलियो अवस्थामा भए पनि उसले आफ्नो उम्मेदवार नउठाएर पाण्डेलाई समर्थन गरेको छ । मनोनयनपत्र दर्ता गराउन नेपाली कांग्रेसले क्षेत्र नं. १ मा उम्मेदवार बनाएका राजेन्द्र बुर्लाकोटी र क्षेत्र नं. २ का उम्मेदवार शेषनाथ अधिकारीसहित पाण्डे पनि सँगै गएका थिए । पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा चितवनको तत्कालीन क्षेत्र नं. ५ बाट विजयी भएका थिए।

पाँचवटा निर्वाचन क्षेत्र रहेको चितवनमा अहिले तीनवटा छन् । पाण्डे विजयी भएको क्षेत्र नं. ५ र क्षेत्र नं. ४ मिसाएर तीन नम्बर क्षेत्र बनाइएको छ । चितवन क्षेत्र नं. ४ कांग्रेसको परम्परागत गढका रूपमा रहेको क्षेत्र हो । गत संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति सुशिल कोइरलाले निकटतम प्रतिद्वन्द्वीभन्दा अत्याधिक मत ल्याएर जितेका थिए।

कांग्रेसको पनि सहयोग रहेको हुँदा आफ्नो जित निश्चित भएको राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार पाण्डेले बताए । ‘मैले विकासको राजनीति गर्ने हो । सधै यही अजेन्डामा मत माग्दै आएको छु । यही मान्यताले अघिल्लो चुनाव जिते । चुनाव जितेर विकास पनि गरे । अब पनि जित्छु । कांग्रेस जस्तो ठूलो शक्तिको साथ रहेका कारण जित्दिन कि भन्ने कुनै आशंका मेरो मनमा छैन,’ पाण्डेले भने।

शान्तिपूर्ण राजनीतिमा आएको ११ वर्षपछि आफू चितवनबाट उठ्न थालेको बताउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूजित्ने नै बताउँछन् । ‘त्यसो त मलाई त चितवनमा नउठ घेराबन्दीमा पारेर हराउँछन्, सुरक्षित जिल्लामा जाउ भनेर धेरै ठाउँका साथीले नभनेका हैनन् । तर म यही आए,’ मनोनयन दर्ता गराएपछि भरतपुरमा भएको सभामा बोल्दै नेता दाहालले भने।

भूमिगतकालमा राजनीति सिकाउने र अाफूलाई जोगाउने धेरै व्यक्ति चितवनमै भएका कारण यहाँका जनतासँग आफ्नो भरोसा भएको दाहालले बताए । ‘म चितवन चुनाव जित्नकै लागि मात्रै आएको होइन । यहाँका जनातको भरोसा जितेर यहाँहरूको मतबाट अनुमोदित भएर मुलुकको समृद्धिको नेतृत्व गर्ने अभिलासा राखेर आएको हुँ । मेरो भरोसा यहाँहरूसँग छ,’ दाहालले भने ।

मनोनयनपछि आयोजित सभामा दाहालले स्थानीयलाई धेरैभन्दा धेरै सम्झने प्रयास गरे । त्यसो त स्थानीय तह निर्वाचनमा माओवादीले चितवनको भरतपुर महानगरपालिकामा मेयर÷उपमेयर पदमा नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको थियो । जसका कारण मेयर पद जित्न माओवादी सफल भयो । स्थानीय चुनावमा एमालेसँग माओवादीको ज्यादै तिक्ततापूर्ण सम्बन्ध थियो । 

एमाले उम्मेदवार देवी ज्ञवालीले मेयर पद जित्ने निश्चित जस्तै भएपछि मतपत्र च्यातेर र मतपत्र च्यातिएको वडा नं. १९ मा फेरि चुनाव गराई माओवादीलाई जिताइएको थियो । सो घटनापछि माओवादी र एमालेको सम्बन्धन झनै बिग्रेको थियो । तर, बिहीबार मनोनयन दर्तापछि भरतपुरमा आयोजित सभामा भरतपुरकी मेयर रेनु दाहाल सहभागी हुँदा सो कार्यक्रमको सञ्चालन एमालेका मेयर पदका पूर्व प्रत्यासी देवी ज्ञवालीले गरेका थिए।

एमालेको तिक्ततापूर्ण समबन्धलाई सुमधुर बनाउँदै लैजान दाहालले कोशिस सुरु गरेका छन् । उम्मेदवारी दर्ताको अघिल्लो साँझ बुधबार एमाले र माओवादीको पार्टी एकीकरणका लागि जिल्लामा संयोजन समिति निर्माण गरेको घोषणा गरे । कार्याकर्तालाई चुनावसम्मका लागि मात्रै गठबन्धन बनेको हैन भन्ने सन्देश उनीहरूले दिन खोजेका छन्। 

आँकडामा दाहाल सुरक्षित  

दाहालले भदौ २३ मै चितवनबाट उठ्ने घोषणा गरेका थिए । असोज १० गते उनले क्षेत्र नं. ३ बाट उठ्ने जानकारी दिए । चितवनका अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा माओवादी केन्द्रको मत बढी छ । तर यही क्षेत्रमा नेपाली कांग्रेस पनि बलियो छ ।

चितवन क्षेत्र नं. ३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये ६, ८, ९, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७ र २८ नम्बर गरी कुल १९ ओटा वडा तथा माडी नगरपालिका पर्छ । भरतपुरमा माओवादीले स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेर मेयर नै जितेको थियो । वडाहरूमा काग्रेससँग तालमेल थिएन । तर भरतपुरका तीनवटा वडा माओवादीले जितेको छ। 

माडीमा पनि माओवादीले मेयर नै जितेको छ । चितवनका अन्य दुई क्षेत्रमा सामान्य मत भए पनि यो क्षेत्रमा राप्रपाको समेत राम्रै मत छ । क्षेत्र नं. ३ मा रहेका स्थानीय निकायका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मत गन्दा सवैभन्दा धेरै मत कांग्रेसको छ।

नेपाली कांग्रेसका वडाध्यक्षहरूले पाएको कुल मत २६ हजार नौं सय २३ छ । एमाले कांग्रेसको पछिपछि छ । उसले २५ हजार सात सय ४७ मत पाएको छ । माओवादीका वडाध्यक्षहरूले पाएको कुलमत १८ हजार एक सय ४ छ । राप्रपाले पाएको मत आठ हजार तीन सय ४३ हो । वामपन्थी गठबन्धनको मत जोड्दा ४३ हजार आठ सय ५१ हुन्छ । कांग्रेस र राप्रपाको कुल मत ३५ हजार दुई सय ६६ पुग्छ । वामपन्थी गठबन्धन आठ हजार पाँच सय ७४ मतले अगाडि छ।

स्थानीय निर्वाचनको आँकडा हेर्दा  दाहाल सुरक्षित देखिन्छन् । चितवन क्षेत्र नं. ३ मा कुल मतदाता संख्या एक लाख २५ हजार आठ सय २३ छ । स्थानीय निर्वाचनपछि यो क्षेत्रमा सात हजार आठ सय ९१ मतदाता थपिएका छन्। 

स्थानीय तह निर्वाचनमा भरतपुरमा कांग्रेसका उम्मेदवारले मेयर पदमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडामा मत हालेका थिए । अहिले क्षेत्र नं. ३ मा पर्ने भरतपुरका वडाका कांग्रेस मतदाताले हलो चुनाव चिन्हमा मत हाल्नु पर्ने अवस्था आएको छ। 

प्रकाशित: १७ कार्तिक २०७४ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App