coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता

उम्मेद्वारी दर्ता गराउन मुख्य निर्वाचन कार्यालय पुगेका पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङ । तस्बिर : भीम चापागार्इं

इलाम – आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरूले बिहीबार उत्साहपूर्ण रूपमा मनोनयनपत्र दर्ता गरिरहेका छन् । जिल्लामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन, नेपाली कांग्रेस, नयाँशक्ति पार्टी नेपाल, विवेशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतका उम्मेदवारले मनोनयनपत्र दर्ता गरिरहेका छन् । 

आफ्नो दलका नेताहरूको मनोनयनपत्र दर्ताका लागि नेता–कार्यकर्ता बाजागाजा र तामझामसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगिरहेका छन् । इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधिभातर्फ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मनोनयनपत्र दर्ता गराए । उनले वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् । दिँउसो साढे १२ बजेतिर काठमाडौंबाट आएका खनालले सदरमुकामस्थित पटाङ्गिनीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयनपत्र दर्ता गराए । उनको प्रस्तावकमा एमाले इलामका उपाध्यक्ष भक्त केसी र समर्थकमा नेकपा माओवादी केन्द्रका राजेन राई छन् । 

प्रतिनिधिसभाकै लागि क्षेत्र २ मा वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मनोनयनपत्र दर्ता गराए । उनको प्रस्तावकमा एमाले इलामका सचिव महेश बस्नेत तथा समर्थकमा माओवादी केन्द्रका नेता राम राई छन् । मनोनयनपत्र दर्ता गर्न खनाल र नेम्वाङ बिहीबार नै हेलिकप्टर लिएर गृहजिल्ला आएका थिए। 

प्रतिनिधिसभाकै लागि नेपाली कांग्रेसको तर्फबाट क्षेत्र १ मा भूपेन्द्र कट्टेल तथा क्षेत्र २ मा निवर्तमान सांसद केशव थापाले उम्मेदवारी दर्ता गराएका छन् । खनालका मुख्य प्रतिस्पर्धी नेकाका कट्टेल पहिलो पटक त्यस क्षेत्रबाट चुनाव लड्दैछन्। खनालले यही क्षेत्रबाट ४ पटक संसदीय चुनाव जितेका छन् भने एक पटक पराजित भएका छन् । मनोनयनपछि प्रतिक्रिया दिँदै खनालले आफ्नो उम्मेदवारी इलामवासी नागरिकको आवश्यकताअनुसार नै भएको बताए । ‘इलामे नागरिकले मलाई सधैं उहाँहरूको सेवा गर्ने अवसर दिनुभएको छ,’ उनले भने, ‘यो पटक पनि त्यही अवसर आएको छ, बाँचुञ्जेल इलामबासी र देशबासीको सेवामा लागिरहने छु ।’ 

उनले वाम गठबन्धनबाट विपक्षीहरू आत्तिएको बताउँदै बाहिर हल्ला भएजस्तो निरंकुश साम्यवाद देशमा लागू हुने सम्भावनै नरहेको बताए । ‘वाम गठबन्धनबारे जस्तो हल्ला बाहिर चलाइएको छ, त्यो विपक्षीहरूले छर्न खोजेको भ्रममात्रै हो,’ उनले भने, ‘कम्युनिस्टहरू ऐतिहासिक रूपमा देश र जनताको समृद्धि तथा स्वतन्त्रताका लागि एक भएका हुन् ।’ उनले वाम गठबन्धनबारे गलत हल्ला चलाउनु आकाशतिर फर्केर थुकेजस्तो मात्रै भएको प्रतिक्रिया दिए । 

त्यस अवसरमा नेम्बाङले अबको ५ वर्ष कम्युनिस्ट दलहरूले देशको नेतृत्व गर्ने दाबी गरे । ‘वाम एकता कुनै निरंकुशता र अधिनायकत्वका लागि हो भन्नु बुझाइको भ्रममात्रै हो,’ उनले भने, ‘हामीले नयाँ संविधानलाई जसरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भनेका छौं, त्यही लक्ष्यसाथ यो गठबन्धन स्वतन्त्रता र समृद्धिका लागि बनेको हो ।’ 

प्रदेशसभातर्फ वाम गठबन्धनबाट क्षेत्र १ को १ मा एमालेकी खिनु लङ्वा लिम्बू, कांग्रेसबाट देवेन्द्र राई, क्षेत्र १ को २ मा गठबन्धनबाट एमालेका काजीमान कागते र कांग्रेसबाट दुर्गाकुमार बरालले मनोनयन दर्ता गराए । क्षेत्र २ को १ मा गठबन्धनबाट एमालेका रामबहादुर राना, कांग्रेसबाट डम्बर खड्का तथा क्षेत्र २ को २ मा गठबन्धनबाट माओवादी केन्द्रका धिरेन शर्मा रमण र कांग्रेसका खगेन्द्र देवानले उम्मेदवारी दर्ता गराएका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयका अन्य दलहरू पनि उत्साहपूर्ण ढंगले उम्मेदवारी दर्ता गराइरहेका छन् ।

प्रकाशित: १६ कार्तिक २०७४ १०:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App