coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दोहोरो सुविधा लिन्छन् महानगरका प्रहरी

काठमाडौं- काठमाडौं महानगरपालिकाका ६० जना नगर प्रहरीले दोहोरो सुविधा उपभोग गरिरहेको फेला परेको छ। सबै ६० जना नेपाली सेना र नेपाल प्रहरीबाट अवकासप्राप्त हुन्। उनीहरूले नियमित रुपमा पेन्सन बुझ्नुका साथै महानगरबाट तलब र अन्य सुविधा लिइरहेको खुलासा महानगर स्रोतले गरेको छ।

सरकारबाट पेन्सन लिइरहेका व्यक्ति फेरि सरकारी वा सार्वजनिक लाभको पदमा नियुक्त भए पेन्सन रकम वा कार्यरत संस्थाको तलबसुविधामध्ये एउटा मात्र लिनुपर्ने व्यवस्था छ। गत माघ ८ को मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन नपाउने निर्णय गरेको थियो।

सरकारले सामान्य प्रशासन मन्त्रालयमार्फत् स्थानीय विकास मन्त्रालय हुँदै महानगरमा दोहोरो सुविधा लिइरहेका व्यक्ति भए नभएको र  भए नामावली पठाउन गत माघमै पत्र पठाएको थियो। तर महानगरले भने दोहोरो सुविधा लिइरहेका व्यक्तिको नामावली मन्त्रालयमा नपठाएर संरक्षण गरिरहेको पाइएको हो।

महानगर स्रोतका अनुसार अहिले ६० जना महानगर कर्मचारीले दोहोरो सुविधा उपभोग गरिरहेका छन्। तीमध्ये १७ जना महानगरमा २०५८ सालदेखि महानगरपालिका सहरी सुव्यवस्था विभागअन्तर्गतको नगर प्रहरी महाशाखामा नगर प्रहरी पदमा स्थायी कर्मचारी हुन्। त्यसैगरी ४३ जना पेन्सन लिइरहेकाहरू महाशाखाको नगर प्रहरीमा २०६१ सालदेखि करारमा कार्यरत छन्। नगर प्रहरी महाशाखामा कार्यरत यी सबै नगर प्रहरी नेपाली सेना तथा नेपाल प्रहरीबाट अवकासप्राप्त कर्मचारी हुन्। उनीहरू सबैले नियमित रुपमा पेन्सन लिइरहेका छन्। १ वर्षे करारमा नियुक्त यी नगर प्रहरीको करार वर्षेनी नविकरण हुने गरेको छ।

महानगरले भने ६० जना करारमा नियुक्त गरेको भए पनि अहिले ५० जना मात्र कार्यरत रहेको जनाएको छ। 'हामीले नगर प्रहरीको लागि अनुभवप्राप्त हुने भएकाले अवकासप्राप्त व्यक्तिको आवेदन मागेका थियौं,' महानगर प्रशासन महाशाखा प्रमुख हरि कुँवरले भने, 'त्यसबेला ६० जना करारमा नियुक्त गरे पनि केहीले बीचमा छाडेका छन्। अहिले करिब ५० जना कर्मचारी मात्र करारमा छन्।' कुँवरका अनुसार यस्तो निर्णय हुनुअघि नै पेन्सन लिइरहेका व्यक्तिको हकमा के हुने भनि महानगरले सम्बन्धित मन्त्रालयमा सोधी पत्र पठाएको छ।

स्थानीय निकाय मन्त्रालयले भने महानगरबाट दोहोरो सुविधासम्बन्धी कुनै पत्र नआएको बताएको छ। 'महानगरले पठाएको बेहोराको पत्र मन्त्रालयमा आएको छैन,' स्थानीय विकास मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले नागरिकसँग भने, 'सरकारले बनाएको कानुन नमान्ने कुरै हुँदैन्। कसैले दोहोरो सुविधा लिइरहेको भए हामी छानबिन गरी कारबाही गर्छौं।'

महानगरमा अहिले करार र स्थायी दुवै गरी १ सय ६० जना नगर प्रहरी कार्यरत छन्। यसैगरी गत असार २७ मा महानगरको पदपूर्ति समितिले ९० जना स्थायी नगर प्रहरी नियुक्त गर्ने निर्णय गरेको छ।

करारको साटो स्थायी नगर प्रहरी नियुक्ति गर्ने निर्णयको विरोध दोहोरो सुविधा लिइरहेका करारका प्रहरीले गरेका छन्। 'स्थायी प्रहरीका लागि आवेदन मागेपछि करारमा रहेकाले रोजीरोटी खोसिने भन्दै विरोध गरिरहेका छन्,' महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, 'उनीहरू पहिल्यै पेन्सन लिइरहेका भएकाले रोजीरोटी खोसिने भन्ने हुँदैन। त्यसमाथि हामीले उनीहरूलाई उमेर तथा शैक्षिक योग्यताको बन्देज नराखी प्र्रतिस्पर्धामा जाने वा एक महिनाको पारिश्रमिक लिएर जाने विकल्प दिएका छौं।' कतिपय करारका नगर प्रहरी पेन्सनप्राप्त नभएर सेना र प्रहरी छाडेर भागेकाहरू छन्।

अहिले नगर प्रहरीमा कार्यरत करार र स्थायी दुवै ४५/५० वर्ष नाघिसकेका रहेको महानगर स्रोतले बताएको छ। उमेरका हदम्याद नाघिसकेका नगर प्रहरी भएकै कारण उनीहरू प्रभावकारी रुपमा काम गर्नुको साटो जसरी भए पनि कमाउनतिर लागेको स्रोतले दाबी गर्‍यो। जोसिला र जाँगरिला लाखौं युवा बेरोजगार हुँदाहुँदै पेन्सन पाकेका वृद्धलाई अवसर दिएर महानगरले आफ्नो खुट्टामा आफैंले बन्चरो हानेको दाबी पनि स्रोतले गर्‍यो।

प्रकाशित: १८ श्रावण २०७३ ०३:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App