coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

काठमाडौं २३औं मित्रवत् सहर

नवराज अधिकारी
काठमाडौं- नेपालको संस्कृति र परम्पराले भन्छ– पाहुनाहरु देवता हुन् । नेपालीले अतिथिप्रति दर्शाउने व्यवहार पनि ‘अतिथि देवो भवः’ को सनातन मान्यताभन्दा फरक छैन । र, त अतिथिलाई न्यानो स्वागत गर्ने मामिलामा हाम्रो राजधानी काठमाडौं संसारका सयौं सहरहरुलाई उछिन्न सफल भएको छ ।
होलिडे वेबसाइट ट्राभलबर्डले गरेको वर्गीकरणमा काठमाडौं पर्यटक न्यानो स्वागत गर्ने सहरहरुको सूचीमा २३ औं नम्बरमा परेको छ । ट्राभलबर्डले संसारका पाँच सयवटा ठूला पर्यटकीय गन्तव्य सहरहरुको विश्लेषण गरेर नयाँ सूची प्रकाशित गरेको हो । उसको वर्गीकरणमा सिंगापुर पहिलो नम्बरमा छ, जहाँ चुइङगम चपाउन पाइँदैन र मेट्रोमा खान तथा पिउन मनाही छ । यो नियम उल्लंघन गरे ठूलो जरिवाना तिर्नुपर्छ ।
कठोर नियमका बाबजुद एसियाको सिंगापुरले ‘संसारकै मस्ट वेलकमिङ सिटी’ अर्थात ज्यादै मित्रवत् सहरको उपाधि पाउनुलाई त्यहाँको सुरक्षित वातावरण, अत्याधुनिक विमानस्थल र दिल खोलेर पर्यटकको स्वागत गर्ने तथा पर्यटक आउँदा रमाउनेस्थानीय बानीको हात छ ।
ट्राभलबर्डले आगन्तुकप्रतिको स्नेह र मित्रवत् व्यवहार, स्वागतको अनुभूति गराउने प्रवेश बिन्दु, पर्यटक आउँदा स्थानीयबासीमा छाउने खुसी, सुरक्षा, दिल खोलेर गरिने स्वागत, अंग्रेजी भाषाको निपूणता जस्ता पक्षको विश्लेषण गरेर सूची तयार पारेको जनाएको छ । सबैभन्दा बढी मित्रवत् एक सय सहरको सूची तयार गर्ने क्रममा ट्राभलबर्डले १५ हजारभन्दा बढी ट्राभल पत्रकारसँग कुराकानी गरेको बेलायती अखबार द टेलिग्राफको अनलाइन संस्करणमा उल्लेख छ ।
सिंगापुर, काठमाडौं जस्ता सहर वर्गीकरणको अग्रपंक्तिमा आएको यो घटनाले पर्यटकको नजरमा पर्न उत्तरआधुनिक र अति स्वतन्त्र अमेरिकाको न्यु ओल्र्यान्स, उत्तेजक पहिरनका युवती देख्न पाइने जर्मनीको बर्लिनरस्टकहोम जस्तो मिलनसार ठाउँ नचाहिने कुरा पुुष्टि गरेको टेलिग्राफले लेखेको छ ।
कुन सहर कति नम्बरमा ?
१. सिंगापुर, सिंगापुर
२. स्टकहोम, स्विडेन
३. हेलसिन्की, फिनल्यान्ड
४. सान फ्रान्सिस्को, अमेरिका
५. रोटरड्याम, नेदरल्यान्ड
६. लिब्सन, पोर्चुगल
७. टोक्यो, जापान
८. ओस्लो, नर्वे
९. जुरिच, स्विजरल्यान्ड
१०. ओल्र्यान्डो, अमेरिका
काठमाडौंले दक्षिण एसियाका सबै सहरलाई उछिनेको छ । पर्यटन व्यवसायकै भरमा विश्वमा नाम कमाएको मकाउ, पछिल्लो समय हवाई ट्रान्जिट हब बन्दै गएको सुविधासम्पन्न कतारको दोहा, बेलायतको लन्डन जस्ता सहरलाई पनि उछिनेको छ । क्यासिनो हब मानिने मकाउ सूचीको ३२ नम्बरमा छ । लन्डन र दोहा क्रमशः २९ र ३० नम्बरमा छन् । छिमेकी भारतको नयाँ दिल्ली ६२ नम्बरमा परेको छ भने उत्तरको छिमेकी चीनको राजधानी सहर बेइजिङ ४४ नम्बरमा छ । सूचीको सयौं नम्बरमा हंगेरीको बुडापेस्ट सहर छ ।
‘सूची तयार गर्ने क्रममा हामीले युएन–डब्लुटिओबाट लिइएका संसारभरका पाँच सय पर्यटकीय गन्तव्यको विश्लेषण ग¥यौं,’ ट्राभलबर्डले भनेको छ, ‘पर्यटकले गरेको स्वागतको अनुभूति, मैत्रीपूर्ण विमानस्थल र रेल्वे स्टेसन, पर्यटक देख्दा स्थानीयबासीमा आउने खुसी, अतिथिको स्वागतमा देखाउने उदारता र अंग्रेजी भाषाको निपूणताको आधारमा सहरहरु छानिएका थिए ।’
यसका अलावा संस्थाले १५ हजारभन्दा बढी ट्राभल पत्रकारलाई प्रत्येक सहरहरु कति मैत्रीवत् छन् भनेर अनुभव सेयर गर्न भनेको थियो । पर्यटक आगमनबाट स्थानीय जनजीवनमा परेका नकारात्मक वा सकारात्मक असरको पनि विश्लेषण गरिएको ट्राभलबर्डले जनाएको छ ।
यस्ता सकारात्मक प्रचार र परिणामले पर्यटक आगमन सुधार्न मद्दत गर्ने सम्बद्ध व्यवसायी बताउँछन् । ‘बन्द, हडतालको पर्याय, झुर प्रवेश बिन्दु (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) भनेर चिनिने काठमाडौंको छवि सुधार्न यो सूचीले निकै मद्दत गर्छ,’ पर्यटन व्यवसायी बसन्त अधिकारीले भने । मुलुक राजनीतिक संकमणको अवस्थाबाट लगभग बाहिर निस्किसकेकाले झिना–मसिना कमी, कमजोरी सुधार्ने सानो प्रयासले पनि पर्यटक आगमन बढाउन ठूलो भूमिका खेल्ने उनको बुझाइ छ ।
नेपालमा पर्यटक आगमन क्रमशः सुधारिइरहेको बेला ट्राभलबर्डको सूची सार्वजनिक भएको छ । केही दिनअघि संसारै विश्वासिलो मानिने गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको लोन्ली प्लानेटले सन् २०१७ का नेपालका उत्कृष्ट पदयात्रा मार्गको सूची सार्वजनिक गरेको थियो ।
यो वर्षको पहिलो ६ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढेर चार लाख ७६ हजार पुगेको थियो । यो वर्ष नेपाल आउने पर्यटक संख्या १० लाख नाघ्ने अनुमान छ ।

प्रकाशित: १६ कार्तिक २०७४ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App