७ वैशाख २०८१ शुक्रबार
राजनीति

सामाजिक सञ्जालमा चुनाव प्रचार

धादिङ- फेसबुक होस् या ट्विटर चुनावी अभियानले निकै रंगिएका छन् । राजनीतिक दलका नेताकार्यकर्ताले सचिवालय नै बनाएर यस्ता सामाजिक सञ्जालमार्फत चुनावी अभियान तीव्र पारेका छन् । साता÷महिनामा पनि एउटा स्टाटस अपडेट नहुने फेसबुक वालमा अहिले घन्टैपिच्छे चुनावी अभियानको फोटा र स्टाटस देख्न पाइन्छ ।  
‘मलाई पूर्ण विश्वास छ, फेरि पनि जनताको प्रतिनिधि भएर काम गर्ने अवसर मिल्नेछ । स्पष्ट, पारदर्शी र ठोस निर्णयका लागि सदैव तयार छु र रहने प्रतिबद्धता छ,’ फेसबुकमा धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार दिलमान पाख्रिनले राखेको स्टाटस हो यो । कानुन राज्यमन्त्रीसमेत रहेका उनले फेसबुकमा कानुन राज्यमन्त्री दिलमान पाख्रिन नाम राखेर मतदातासँग भोट मागेका छन् ।
उनी मात्र होइन प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार भूमि त्रिपाठीको फेसबुकको वाल पनि रंगीन छ । उनको वालमा ‘सामाजिक एकता र आर्थिक समृद्धिको आधार, नेकपा एमालेको नेतृत्वमा स्थिर र बलियो सरकार’ देख्न सकिन्छ । उनका समर्थक तथा कार्यकर्ताले फेसबुकमा फोटो राखेर भोट मागेका छन् । उनी भन्छन्, ‘अहिले हरेकको हातमा मोबाइल, फेसबुक अकाउन्ट छ, त्यसको सकारात्मक उपयोग त गर्नैप¥यो ।’
धादिङमा मंसिर १० गते हुने निर्वाचनमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी ६ क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ । सबै क्षेत्रमा यी दुवै गठबन्धनका गरी १२ जना उम्मेदवारको फेसबुक वाल रंगीन बनेको छ । समर्थकले उम्मेदवारको नामको पछाडि जिताऔं अभियान लेखेर सामाजिक सञ्जालमा प्रचार गरेका छन् । उम्मेदवारहरुको प्रोफाइल चुनावी नाराले रंगीचंगी बनेका छन् भने उनीहरूले इतिहासदेखि भाबी योजनासम्म सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
प्रदेश नं २(२) बाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता जगत सिम्खडा पनि सामाजिक सञ्जालमा निकै व्यस्त देखिन्छन् । उनले जनताका घरघरमा, टोलटोलमा गएर भोट मागिरहेका तस्बिर, चुनावी कार्यक्रम, आमसभाका तस्बिर आफ्नो फेसबुकमा पोस्ट गर्ने गरेका छन् । उनी भन्छन,  ‘शान्ति र समृद्धिका लागि हामीलाई भोट दिन नभुल्नु होला ।’ युवा पुस्ताले सामाजिक सञ्जाल बढी चलाउने भएकाले पनि भोट माग्न सामाजिक सञ्जाल रोज्नेको संख्या बढी देखिएको हो । ‘प्रविधिको विकाससँगै सबैको हातमा मोबाइल, ल्यापटपको सुविधाका कारण भोट माग्ने शैली पनि परिवर्तन भएको छ,’ उनले भने ।
‘बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल बिक्दैन’ भन्ने भनाइलाई उम्मेदवारले चरितार्थ गरेका छन् । आफूले गरेका क्रियाकलाप आफैंल प्रचार गरेका छन् ।
आजभोलि चुनावी अभियानमा सामाजिक सञ्जालको अधिकतम प्रयोग कर्ता बढेको छ । खासगरी युवा बाहिरी चुनाव प्रचारमा भन्दा पनि सामाजिक सञ्जालमा उम्मेदवारको फोटो राखी जिताऔँ अभियानमा सक्रिय छन् ।
पछिल्लो समय आमसभा, कोणसभाभन्दा पनि सामाजिक सञ्जालमा फोटो राखेर स्टाटस पोस्ट गर्नेहरुको कमी छैन । कार्यक्रममा सहभागी भएका फोटो राखेर जिताऔँ भन्नेहरुको पनि लर्को लागेको छ । सामाजिक सञ्जालमा कम छाउने उम्मेदवारहरुको पनि समर्थित कार्यकर्ता नारासहित चुनावी प्रचारमा होमिएको देखिन्छ ।

प्रकाशित: १६ कार्तिक २०७४ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App