यस्तो छ इलामको चुनावी अंकगणित

बिहिबार, १६ कार्तिक २०७४, ०९ : ०२ नागरिक

इलाम- आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द (वाम गठबन्धन)को पकड बलियो देखिएको छ । गत असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मत तुलना गर्दा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा वाम गठबन्धनको मत नेपाली कांग्रेसको भन्दा निकै अघि देखिएको हो ।
    अब हुने निर्वाचनको क्षेत्र निर्धारण गर्दा सबैभन्दा सानो इकाई वडालाई नै लिइएकाले असार १४ को निर्वाचनमा वडाध्यक्षले ल्याएको मतका आधारमा चुनावी अंकगणित आँकलन गर्न सकिन्छ । यद्यपि, एउटै दलका वडाध्यक्ष, सदस्यहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखले त्यही वडामा ल्याएको मत नै फरक–फरक हुने भएकाले कुनै पनि भूगोलमा फलानो दलको मत यति नै हो भनेर यकिन गर्न चाहिँ मुस्किल पर्छ ।
    वडाध्यक्षहरूले ल्याएको मतलाई आधार मान्दा जिल्लाका सबै निर्वाचन क्षेत्रमा एमाले एक्लै पनि कांग्रेसभन्दा अगाडि देखिन्छ । जिल्लाका अधिकतर वडामा तेस्रो स्थानमा रहेको माओवादीको मत निर्वाचन क्षेत्रको तहमा एमालेको मतसँग जोड्दा वाम गठबन्धनको मत कांग्रेसको भन्दा अझ धेरै अन्तरले माथि पुग्छ । वाम गठबन्धनले इलामसहित मेची अञ्चलका ताप्लेजुङ, पाँचथर र झापामा पनि राप्रपासँग चुनावी तालमेल गरेकाले राप्रपाको मत पनि वाम गठबन्धनमै जोडिनेछ । तर, स्थानीय तह निर्वाचनपछि राप्रपा दुईधारमा विभाजित भएकाले कुन धारको मत कता जान्छ भन्ने चाहिँ यकिन छैन ।
    सबै वडाध्यक्षहरूले ल्याएको मत योग गरी वाम गठबन्धन र कांग्रेसको मत तुलना गर्दा प्रतिनिधिसभातर्फ जिल्लाको क्षेत्र १ मा वाम गठबन्धनभन्दा कांग्रेस ११ हजार २ सय २४ मतले पछि देखिन्छ । प्रतिनिधिसभाकै क्षेत्र २ मा ८ हजार ३ सय ४७ मतले गठबन्धन कांग्रेसभन्दा अघि छ । प्रदेशसभातर्फ क्षेत्र १ को १ मा गठबन्धन ६ हजार ९ सय २८ मतले कांग्रेसभन्दा अघि छ भने क्षेत्र १ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ४ हजार ३ सय ४० मतले अघि छ । क्षेत्र २ को १ मा गठबन्धन कांग्रेसभन्दा ३ हजार १ सय ३३ मत र क्षेत्र २ को २ मा पनि गठबन्धन नै कांग्रेसभन्दा ५ हजार ५ सय ४ मतले अघि देखिएको छ ।
    स्थानीय तह निर्वाचनमा जिल्लाका सबै ८१ वडामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीचमै भएको थियो । जिल्लाका ८१ वडामा एमालेबाट ४७ र कांग्रेसबाट ३१ वडाध्यक्ष विजयी भएका थिए । माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टी १–१ वटा वडाको वडाध्यक्षमा विजय भएका थिए । आउँदो निर्वाचनमा पनि वाम गठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
    अहिले जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभातर्फ क्षेत्र १ मा सूर्याेदय नगरपालिका, सन्दकपुर, माइजोगमाई, रोङ गाउँपालिका, माई नपाका वडा १, २, ३, ४, ५, ९, १० र इलाम नपाको वडा १० समेटिएको छ । क्षेत्र १ मा समेटिएको सूर्याेदय र माई नपासहित माइजोगमाई र सन्दकपुर गाउँपालिकाको स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख–उपप्रमुखसहित बहुमतमा विजय हासिल गरेको थियो । इनपा–१०, माई नपा १, २, ४, ५, ९ मा एमाले तथा ३ र १० वडामा कांग्रेसका वडाध्यक्ष विजयी भएका थिए । रोङ गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षसहित बहुमतमा कांग्रेस विजयी भएको थियो ।
    प्रतिनिधिसभा क्षेत्र १ मा ३९ वडा छन् । यो क्षेत्रका सबै वडामा गरी एमालेको जम्मा मत ३० हजार १ सय ४८ छ । यसमा माओवादीको ५ हजार १ सय ७५ जोड्दा कुल ३५ हजार ३ सय २३ हुन्छ । यहाँ कांग्रेसको २४ हजार ९९ मत छ भने संघीय समाजवादी फोरमको २ हजार ८ सय २१ र राप्रपाको १ हजार १३ मत छ । कांग्रेसले संघीय समाजवादी फोरमका जिल्ला अध्यक्षलाई नै यहाँ प्रदेशको उम्मेदवार बनाएपनि उनी फोरम परित्याग गरी कांग्रेसमै गएकाले फोरमको मत उनलाई जाने देखिँदैन ।
    प्रतिनिधिसभाको क्षेत्र २ मा देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली गाउँपालिका, माई नगरका ६, ७, ८ र इलाम नपाका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ वडा पर्छन् । स्थानीय निर्वाचनमा देउमाई र चुलाचुलीमा एमालेका प्रमुख–उपप्रमुखसहितको बहुमत आएको छ भने माङ्सेबुङ तथा फाकफोकथुममा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । १२ वटा वडामध्ये वडा १० बाहेक ११ वटा वडा यही क्षेत्रमा समेटिएको इनपाको प्रमुख–उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए । इनपाको वडा १, २, ५, ६ र ९ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेसले बाजी मारेको थियो । यसै क्षेत्रमा रहेको माई नपाको वडा ६, ७ र ८ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए ।
    प्रतिनिधिसभातर्फ क्षेत्र २ मा एमालेको मत २७ हजार ७ सय १ छ भने कांग्रेसको २६ हजार १ सय ९३ मत छ । माओवादीको ६ हजार ८ सय ३९ मत एमालेसँग जोड्दा वाम गठबन्धनको ३४ हजार ५ सय ४० मत पुग्छ । यहाँ गठबन्धनमै जाने सम्भावना रहेको राप्रपाको मत १ सय ६० छ । फोरमको २ हजार २ सय ७८ र राष्ट्रिय जनमुक्ति पार्टीको १ हजार ९ मत छ ।
    क्षेत्र १ को प्रदेशसभा १ का माइजोगमाई र सन्दकपुर गाउँपालिकामा एमालेका अध्यक्ष–उपाध्यक्ष बहुमतसहित विजयी भएका थिए । यसैअन्तर्गतको सूर्याेदय नपाका १, २, ३, ९, १० र ११ वडामध्ये २, ३, ९, १०, ११ र इनपाको १० वडामा एमालेकै वडाध्यक्ष विजयी थिए । सूनपा १ मा भने कांग्रेसका वडाध्यक्ष विजयी बनेका थिए । यो क्षेत्रमा एमालेको कुल मत १६ हजार १ सय २८ छ भने कांग्रेसको ११ हजार ३ सय ३१ छ । माओवादीको २ हजार १ सय ३१ मत एमालेको सँग जोड्दा गठबन्धनको मत १८ हजार २ सय ५९ हुन्छ । यहाँ फोरमको १ हजार ७ सय ६३ र राप्रपाको ५ सय ७१ मत छ ।
    क्षेत्र १ को प्रदेशसभा २ मा रोङ गाउँपालिकाका सबै वडा, सूर्याेदय नपाका वडा ४, ५, ६, ७, ८, १२, १३, १४ तथा माई नपाका वडा १, २, ३, ४, ५, ९ र १० वडा समेटिएका छन् । यीमध्ये रोङ गाउँपालिकामा अध्यक्ष–उपाध्यक्षसहित कांग्रेसको बहुमत छ भने सूनपाका वडा ४, ५, ६, ८, १२ मा एमाले, १३ र १४ मा कांग्रेसका वडाध्यक्षले जितेका थिए । माई नपाका वडा १, २, ४, ५, ९ र १० मा एमाले, वडा ३ मा कांग्रेसका वडाध्यक्ष विजयी भिए । यो क्षेत्रमा एमालेको मत १४ हजार २० छ भने कांग्रेसको मत १२ हजार ७ सय ६८ छ । माओवादीको ३ हजार ९८ मत एमालेसँग जोड्दा गठबन्धनको मत १७ हजार १ सय १८ पुग्छ । यहाँ फोरमको १ हजार ५८ र राप्रपाको मत ४ सय ३९ छ ।
    जिल्ला सदरमुकामसमेत रहेको क्षेत्र २ को प्रदेशसभा १ मा देउमाई नपा र इलाम नगरपालिकाका १२ वटा वडामध्ये १० बाहेक सबै समेटिएका छन् । देउमाई नपामा बहुमतसहित एमालेका प्रमुख–उपप्रमुख विजयी थिए । इलाम नपाको वडा १, २, ५, ६ र ९ मा एमाले तथा वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेस विजयी भएको थियो । यो क्षेत्रमा एमालेको मत १६ हजार ४ सय ६६ छ । कांग्रेसको १५ हजार ३ सय ४२ र माओवादीको २ हजार ९ छ । एमाले र माओवादीको जोड्दा गठबन्धनको १८ हजार ४ सय ७५ मत हुन्छ । यो क्षेत्रमा फोरमको १ सय २०, राष्ट्रिय जनमुक्ति पार्टीको ९९ र राप्रपाको ९४ मत आएको देखिन्छ ।    
    क्षेत्र २ को प्रदेशसभा २ मा चुलाचुली, फाकफोकथुम, माङ्सेबुङ गाउँपालिकासहित माई नपाका ६, ७ र ८ वडा समेटिएका छन् । चुलाचुली गापा तथा माई नपाका ६, ७, ८ वडामा एमाले विजयी भएको थियो । माङ्सेबुङ तथा फाकफोकथुम गापाका दुवै अध्यक्षमा कांग्रेस र दुवै उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । माङ्सेबुङको एउटा वडा राष्ट्रिय जनमुक्ति पार्टी र चुलाचुलीको एउटा वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जितेका थिए । यो क्षेत्रमा एमालेको ११ हजार ९ सय ३५, कांग्रेसको १० हजार ८ सय ५१ र माओवादीको ४ हजार ३ सय २० मत छ । एमाले र माओवादीको जोड्दा यहाँ गठबन्धनको १६ हजार २ सय ५५ मत पुग्छ । यहाँ फोरमको २ हजार ६८, राजमुपाको ८ सय ३७ र राप्रपाको ६६ मत आएको देखिन्छ ।
    मंसिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको उम्मेदवार मनोनयन कात्तिक १६ अर्थात् बिहीबार (आजै) हुँदैछ ।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad