coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले तोक्यो उम्मेदवार

काठमाडौं- एमालेले प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणमा हुने चुनावमा  उम्मेदवारी दिने नेताहरूको टुंगो लगाएको छ । अधिकांश जिल्लामा उम्मेदवार चयन गरे पनि बुधबार रातिसम्म एमालेले प्रदेश ३, ५ र २ का केही जिल्लामा भने उम्मेदवार तोक्न सकेको छैन ।
प्रदेश ३, ५ र २ मा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । यस्तै पाल्पा, उदयपुर, सिन्धुली, ललितपुरसहितका जिल्लाको उम्मेदवारी टुंग्याउन बाँकी छ ।
उम्मेदवार छनोटका लागि एमाले स्थायी कमिटीको बैठक बुधबार राति अबेरसम्म जारी रहेको थियो । एमालेले प्रदेश नम्बर ७, ६ र ४ का सबै उम्मेदवार छनोट गरिसकेको छ ।
माओवादी केन्द्रसँग चुनावी गटबन्धन गरेको एमालेले चुनावमा अधिकांश स्थानमा केन्द्रीय नेताहरुलाई चुनावी मैदानमा उतारेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन ५ बाट उम्मेदवारी दिने निर्णय भएको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनाल इलाम १, माधवकुमार नेपाल काठमाडौं २, उपाध्यक्ष वामदेव गौतम बर्दिया १, भीम रावल अछाम १ र महासचिव ईश्वर पोखरेल काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसैगरी उपमहासचिव विष्णुप्रसाद पौडेल रुपन्देही–२ र घनश्याम भुसाल रुपन्देही ३ सचिवहरू प्रदीप ज्ञवाली गुल्मी १ र गोकर्ण विष्ट गुल्मी २ बाट चुनाव लड्ने भएका छन् ।
स्थायी कमिटीका सदस्यहरु सुरेन्द्र पाण्डे चितवन १,  छविलाल विश्वकर्मा रुपन्देही १, सुवास नेम्बाङ इलाम २ मा उम्मेदवार बन्दैछन् ।
त्यसैगरी भवानीप्रसाद खापुङ तेह्रथुम, राजेन्द्र राई धनकुटा, पवित्रा निरौला झापा २, एलपी सावाँ झापा ४ मा उम्मेदवार बनेका छन् ।
घनश्याम खतिवडा मोरङ १, ऋषि पोखरेल मोरङ २, भानुभक्त ढकाल मोरङ ३ र लालबाबु पण्डित मोरङ ६ बाट चुनाव लड्ने निर्णय भएको छ । भगवती चौधरी सुनसरी ३ बाट उम्मेदवार बनेकी छन् ।
त्यसैगरी प्रतिनिधिसभातर्फ प्रदेश २ को सिरहा १ बाट रामचन्द्र यादव, धनुषा ४ बाट रघुवीर महासेठ, सर्लाही १ बाट ध्रुव गौतम उम्मेदवार बन्ने भएका छन् ।
प्रदेश ३ को चितवन २ बाट कृष्णभक्त पोखरेल, काठमाडौं ३, ४, ७ बाट क्रमशः कृष्ण राई, राजन भट्टराई र रामवीर मानन्धर प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने निश्चित भएको छ । मकवानपुर १ बाट कृष्णप्रसाद दाहाल र २ बाट विरोध खतिवडा उम्मेदवार बन्ने भएका छन् । काभ्रे २ बाट गोकुल बाँस्कोटा चुनाव लड्ने भएका छन् ।
एमालेले प्रदेश ४ अन्तर्गत पर्वत, कास्की, स्याङ्जा, तनहुँ, नवलपुर जिल्लाका पनि उम्मेदवार तय गरेको छ । पर्वतमा पदम गिरीले टिकट पाएका छन् भने नवलपुर २ बाट तिलक महत उम्मेदवार बन्नेछन् । कास्की १, २, ३ मा क्रमशः खगराज अधिकारी, रवीन्द्र अधिकारी र जगत विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । त्यसैगरी स्याङ्जा १ मा नारायण मरासिनी र २ बाट पद्मा अर्याल प्रतिस्पर्धामा उत्रने भएका छन् । अर्यालको प्रतिस्पर्धा कांग्रेसका गोपालमान श्रेष्ठसँग हुनेछ ।
तनहँुमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग एमालेका कृष्णकुमार श्रेष्ठ चुनाव लड्नेछन् भने तनहुँ २ मा केदार सिग्देलले एमालेको टिकट पाएका छन् ।
प्रदेश ५ अन्तर्गत परासी १ मा हृदेयश त्रिपाठी र  कपिलवस्तु २ र ३ बाट क्रमशः बृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्र सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।
माओवादीसँग सिट बाँडफाँटमा सहमति भएपछि मंगलबार अबेर एमालेले प्रदेश ६ को उम्मेदवार तोकेको छ । जसअनुसार सुर्खेत १ मा ध्रुबबहादुर शाही र सुर्खेत २ मा नवराज रावत प्रतिस्पर्धामा उत्रनेछन् । दैलेख १ बाट रवीन्द्र शर्मा र २ बाट राजबहादुर बुढा उम्मेदवार भएका छन् ।

प्रकाशित: १६ कार्तिक २०७४ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App