७ वैशाख २०८१ शुक्रबार
कला

यसरी सहभागी हुँदैछ मिस युनिभर्समा नेपाल

काठमाडौं- संसारकै महंगो ब्यूटी प्याजेन्ट मानिने मिस युनिभर्समा नेपालले पहिलो पटक सहभागिता जनाउँदैछ । सन् २०१२ की मिस नेपाल फस्ट रनर अप नग्मा श्रेष्ठ मिस युनिभर्समा नेपालको प्रतिनिधित्वि गर्दैछिन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा द हिड्न ट्रेजरले मिस युनिभर्समा नेपालको प्रतिनिधित्वबारे जानकारी गरायो ।

‘द हिड्न ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगितामार्फत् छनोट भएका उत्कृष्ट प्रतियोगीहरुले संसारभरिका विभिन्न ब्यूटी प्याजेन्टमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । 'यसैअन्तर्गत नेपालले पहिलो पटक संसारको महंगो ब्यूटी प्याजेन्ट मानिने मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गराउँदैछौं । सन् २०१२ की मिस नेपाल फस्ट रनर अप नग्मा श्रेष्ठ मिस युनिभर्समा नेपालको प्रतिनिधित्वि गर्दैछिन्,’ द हिड्न ट्रेजरका गोपाल सुन्दरलाल कक्षपतिले भने,‘मिस युनिभर्स प्रतियोगितामा सहभागिता जनाउन नेपालले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।’ मिस युनिभर्समा सहभागी हुने आयोजकले वार्षिक रुपमा १५ लाख तिर्नुपर्ने हुन्छ ।

आगामी मंसिर १० मा आयोजना हुन लागेको ६५औं मिस युनिभर्समा नग्मा श्रेष्ठले नेपाली डिजाइनर बिना घले र विजय महर्जनले तयार गरेको तीन केजीको विश्व शान्ति कामनासहितको मण्डलाको क्राउन र फ्याब्रिकको प्रयोग गरिएको ड्रेस पहिरनेछिन् । ‘विभिन्न ब्यूटी प्याजेन्टमा सहभागी भएपछि मिस युनिभर्समा नौलो शैलीले नेपालको प्रतिनिधित्व गर्ने सल्लाहअनुसार डिजाइनरहरुसँग सहकार्य गरेको हुँ । सामान्य देखिने नेपाली परम्परागत भेषभूषामा मण्डलाको क्राउन प्रयोग गरेर मिस युनिभर्समा प्रस्तुत गर्नेछु,’मिस युनिभर्स नग्मा श्रेष्ठले भनिन्,‘मिस युनिभर्समा कुनै विधामा प्रतिस्पर्धा नहुने हुँदा उत्कृष्ट ड्रेसहरुको डिजाइनमा डिजाइनसहरुसँग काम गरिरहेको छु । मिस युनिभर्सको फाइनलमा नेपाली ढाका र फ्याब्रिकको प्रयोग गरिएको डिजाइनलाई प्रस्तुत गर्नेछु ।’

उनी आगामी सोमबार मिस युनिभर्समा सहभागी हुन अमेरिकाको लस भेगास प्रस्थान गर्दैछिन् । नग्माले मिस युनिभर्समा लगाउने ड्रेस उत्कृष्ट रहेको जानकारी डिजाइनर बिना घलेले गराइन् । ‘संसारको महंगो मानिने मिस युनिभर्समा नेपालले सहभागिता जानउँदैछ । नेपालको प्रतिनिधित्व गरेकी नग्मा श्रेष्ठको व्यत्तित्व र नेपाल झल्काउने पहिरनको रुपमा मण्डलाको डिजाइनले भरिएको क्राउन र फ्याबिकले प्रयोग गरिएको परम्परागत ड्रेस तयार गरेका छौं । यो ड्रेस तयार गर्न झण्डै एक महिना लागेको थियो,’उनले भनिन्,‘मिस युनिभर्समा राष्ट्र्रिय पहिरनले महत्वपूर्ण भूमिका खेल्ने हुँदा उत्कृष्ट ड्रेस तयार गर्न मेहेनत गरिरहेका छौं ।’

मिस युनिभर्समा नेपालसहित ९५ देशले सहभागिता जनाउँदैछन् । नेपाल, क्याम्बोडिया, लाओस र अर्मानियाले पहिलो पटक प्रतियोगितामा सहभागी हुँदैछन्। 

प्रकाशित: १५ कार्तिक २०७४ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App