बुटवल– देशमा संविधान कार्यान्वयनको पूर्णतातर्फ लागिरहेकाबेला देशमा आर्थिक सशक्तीकरण गर्ने समय आएको उपप्रधानमन्त्री कृष्णबहादुर महराले बताएका छन् । बुधबार भिजन लुम्बिनीसँगको बुटवलमा भएको अन्तरक्रियामा माओवादी केन्द्रका नेता महराले देश परिवर्तनको बाटोमा अगाडि बढेकोले लगानीमैत्री वातावरण निर्माण गर्ने समय आएको बताएका हुन् ।
उनी भन्छन्, ‘स्थानीय निर्वाचन सकिएसँगै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि मुलुक समृद्धिको बाटोमा लाग्ने निश्चित छ । दृढ इच्छाशक्ति, लगानीमैत्री वातावरण र सामूहिक प्रयासले विकास सम्भव हुन्छ ।’ उनले नेपालमा लगानीमैत्री उपयुक्त वातावरण बन्दै गएकोले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।
विना विभागिय मन्त्री रहेका माओवादी नेता कृष्णबहादुर महरा प्रतिनिधि सभा निर्वाचनमा दाङबाट चुनाव लड्दैछन् । महरा एमाले–माओवादी वामगठवन्धनका साझा उम्मेदवार हुन् । चुनावी अभियानमा जिल्ला जाने क्रममा नेता महराले आसन्न निर्वाचन सम्पन्न हुँदा देशले मुहार फेर्ने बताए । ‘अब नेपाली जनताले बनाएको संविधानले नै विकासको खाका तर्फ उन्मुख गराएको छ । युवाहरुले चाहे परिवर्तन सम्भव छ,’ उनले भने ।
दाङ क्षेत्र नम्बर २ मा टिकट पाएपछि महरा रोल्पाबाट पुनः दाङ झरेका हुन् । उनले पहिलो संविधान सभा निर्वाचनमा दाङ क्षेत्र नं. ३ र दोस्रोमा रोल्पाबाट चुनाव जितेका थिए ।
प्रकाशित: १५ कार्तिक २०७४ १०:१८ बुधबार