coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘अख्तियार प्रमुख कार्कीमाथिको आरोप गम्भीर'

काठमाडौं- प्रमुख राजनीतिक दलका नेताले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध कारबाही अगाडि बढाउनुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनीहरूले कार्कीलाई कारबाही दायरामा ल्याउनुपर्ने धारणा राखेका हुन्।

नेपाली कांग्रेसका धनराज गुरूङले कार्कीमाथि लागेको आरोप निकै गम्भीर भएको जनाउँदै महाअभियोगसम्म लगाउन सकिने बताए। 'हामीले उठाएको विषय र संसद्मा दर्ता भएको प्रस्ताव नेपाली जनताको पक्षमा छ,' उनले भने, 'नयाँ सरकार गठनसँगै यो विषयलाई छलफलमा लैजाने सहमति भइसकेको छ।'

उनले यसबीच अख्तियारले उल्टासुल्टा काम गरेको गुनासो व्यापक रूपमा बाहिर आएकाले उक्त विषय उठान गरेको दाबी गरे। 'नयाँ सरकार गठन भएसँगै संसद्मा ५ सय ९६ सदस्यबीच अवश्य छलफल हुन्छ,' उनले भने, 'छलफल भइसकेपछि वास्तविक कुरा बाहिर ल्याउने विषयमा संसदीय छानबिन समिति गठन गरेर महाअभियोगसम्म लगाउन सकिन्छ।'

संसदीय समितिले छलफलका लागि बोलाउँदा प्रमुख आयुक्त कार्कीले बहाना बनाएर संसद्लाई छलेको आरोप उनले लगाए। उनले अघि थपे, 'समितिमा बोलाउँदा डाक्टरले नबोल्नु भनेको छ भनेर झुक्याउने काम भयो, घाँटी दुःखेको बहानामा संसद्लाई छल्न पाइन्छ र!' उनले बिरामी भएकै कारण समितिमा भाग लिन नमानेका कार्कीले खुलमखुला टेलिभिजनमा अर्न्तवार्ता दिएको बारे प्रश्न गर्दै भने, 'उही लोकमान हो कि अर्को हो तर त्यही अनुहार गरेको व्यक्ति त बडो शानका साथ टिभीमा अन्तर्वार्ता पो दिइरहेको छ, डाक्टरले पनि कस्तो प्रेस्त्रि्कप्सन दिँदारहेछन्, समितिमा बोल्न नहुने अनि टिभीमा चाहिँ ठुल्ठूलो स्वरले बोल्न मिल्ने?'

उनले अख्तियार प्रमुखमाथि काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षा, गोकर्ण रिसोर्टको सेयर काण्ड र सार्वजनिक लेखा समितिले सुन काण्डबारे अडियो–भिज्युअल प्रमाण पेस गर्दासमेत कुनै चासो नदेखाइएकाले उसको कार्यक्षेत्रमा व्यापक प्रश्न उठेको गुनासो गरे।

नेकपा एमालेका नेता रविन्द्र अधिकारीले संसद्मा सार्वजनिक महŒवको विषयमा छलफल हुने निश्चित भइसकेको उल्लेख गर्दै आफ्नो पार्टीले त्यसमा भाग लिने बताए। उनले भने, 'सार्वजनिक महŒवको प्रस्ताव भएकाले हाम्रो पार्टीले भाग नलिने भन्ने कुरै आउँदैन, छलफल गर्दै जाने हो, यसले अरु धेरै बाटो खोल्छ भन्नेमा म विश्वस्त छु।' एक/दुईवटा राम्रो काम गरेको बहानामा संसद्लाई छल्ने काम गर्न नमिल्ने तर्क गर्दै अधिकारीले थपे, 'अख्तियारलाई बलियो बनाउनुपर्छ, यसको अर्थ लोकमानलाई बलियो बनाउने होइन।'

अधिकारीले संवैधानिक निकाय मर्यादित भएर बस्नुपर्ने उल्लेख गर्दै भने, 'संसद्ले बोलाउँदा र संसदीय समितिले बोलाउँदा संवैधानिक निकायले जवाफ दिनुपर्छ, बिरामी भएको बहानामा संसद्लाई छल्ने काम गर्नुहुँदैन, संसद्ले बोलाउँदा नगएपछि हामीले कसरी उहाँलाई उत्तरदायी मान्ने त!' अधिकारीले आक्रोश पोख्दै भने, 'अख्तियार र यसका प्रमुख संसद् छलेर भागेका छन्, यस्तो तरिकाबाट राज्य कसरी चल्छ?'

आफ्नो क्षेत्राधिकारभन्दा बाहिर आएर काम गरिएको भन्ने प्रश्न आएकाले संसद्मा सार्वजनिक महŒवको प्रस्ताव दर्ता भएको उल्लेख गर्दै उनले भने, 'संसद्लाई चित्त बुझेन र संविधानको बर्खिलाप भएको पुष्टि भयो भने छानबिन समिति बनाएर अनुसन्धान गर्छौं र निर्णय लिन्छौं।'

नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले अख्तियार प्रमुख आयुक्तलाई महाअभियोग लगाउन नमिल्ने ठोकुवा गरे। उनले भने, 'संसद्मा दर्ता भएको पत्र ध्यानाकर्षणपत्र मात्रै हो, यो महाअभियोगका लागि आएको विषय होइन।' साहले अहिले अख्तियार छ भन्ने बोध भएको उल्लेख गर्दै भने, 'यतिखेर अख्तियारलाई झनै बलियो बनाउन आवश्यक छ, बरु अख्तियारले केही गल्ती वा कमी–कमजोरी गरेको भए सच्चिन आग्रह गर्नुपर्छ।'

प्रकाशित: १८ श्रावण २०७३ ०२:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App