६ वैशाख २०८१ बिहीबार
अर्थ

महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच सम्झौता

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल र अस्ट्रियाको आर्थिक सम्बन्धको सबलीकरण तथा विकासलाई महत्व दिन सम्झौता गरिएको महासंघले जनाएको छ ।

उद्योगमन्त्री सुनिलबहादुर थापाको प्रमुख आतिथ्यतामा आयोजित नेपाल–अस्ट्रिया इकोनोमिक फोरममा महासंघका अध्यक्ष भवानी राणा र अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरका उपाध्यक्ष रिचार्ड सेन्चले सम्झौतापत्रमा हस्तारक्षर गरेका थिए । सम्झौता पत्रमा द्विपक्षीय व्यापार, लगानीका अवसर तथा औद्योगिक विकास, प्रविधि हस्तान्तरण, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, लगानी तथा व्यापारिक सूचना आदानप्रदान जस्ता विषयहरूमा दुई संस्थाबीच सहकार्य हुने उल्लेख छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगमन्त्री थापाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेको बताए । नेपाल भ्रमणमा रहेका अस्ट्रियन उद्योगी, व्यवसायीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे । मन्त्री थापाले नेपाल र अस्ट्रियाबीच औैद्योगिक ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्नुपर्नेमा जोड दिँदै दुई देशबीचको सम्बन्ध विस्तार गर्न द्विपक्षीय उच्चस्तरीय भ्रमण हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले नेपालको राजनीतिक अवस्था सुधारोन्मुख रहेको र विकसित राजनीतिक अवस्थाले नेपाली लगानीकर्ताको मनोबल बढेको बताइन् । उनले नेपाल सरकारले निजी क्षेत्रको विकासलाई विशेष महŒव दिँदै दोस्रो चरणको आर्थिक सुधार कार्यान्वयन गरिरहेको र नेपालमा लगानीको उच्चतम प्रतिफल प्राप्त हुने दृष्टान्त दिँदै नेपालमा लगानीका लागि आग्रह गरिन् ।

अस्ट्रियन फेडेरल इकोनोमिक चेम्बरका उपाध्यक्ष सेन्चले लगानीका लागि नेपाल उपयुक्त स्थान भएकोले आफ्नो देशका उद्योगीहरू लगानी गर्न आतुर रहेको बताए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य चन्द्रकान्त पौडेलले राजनीतिक तथा नीतिगत रूपमा पनि नेपालमा लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको बताउँदै कृषि, ऊर्जा तथा सेवा क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

नेपालका लागि अस्ट्रियाका राजदूत ब्रिजिट ओपिङरले आफ्नो मुलुकका उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गरेर फाइदा लिन आग्रह गरिएको जानकारी गराउ“दै आगामी दिनमा दुई देशबीचको आर्थिक सम्बन्ध अझ प्रगाढ भएर जाने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उद्योग सचिव यामकुमारी खतिवडा, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी लगायतले नेपालको आर्थिक वातावरण तथा लगानीयोग्य सम्भावित क्षेत्रहरूको विषयमा जानकारी गराएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १५ कार्तिक २०७४ ०६:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App