coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

वाम तालमेल : लोकतन्त्रविरुद्ध षड्यन्त्र

देश र समाजको महत्वपूर्ण जिम्मेवारी लिएका र निर्णायक स्थानमा रहेका पाकाहरू प्रवेशिकाको तहमा हुँदा लेव निकोलाई टोल्सटोइको प्रसिद्ध कथा ‘थ्री क्वेसन्स्’सँग परिचित भएकै हुनुपर्छ । कथा बहुतै रमाइलो र चाखलाग्दो हुनाले सबैले सजिलै सम्झिने पनि हो । त्यस कथामा लेवले बडो छुने गरी वर्तमान समय नै सबभन्दा महत्वपूर्ण समय हुन्छ, किनभने हामीसँग केही गर्न सक्ने ताकत वर्तमान समयमै हुन्छ भनेका छन् ।

वर्तमानमै हामीले इतिहासको मूल्यांकन गर्न सक्छौँ, भविष्यको लक्ष्य निर्धारण गर्न सक्छौँ र सही दिशामा उद्यम आगाडि बढाउन सक्छौँ । इतिहास समयको हुन्छ, व्यक्ति त उक्त समयको नाम मात्र हो । फल त कर्मकै हुन्छ तर कर्म पनि सही समयमा सही हुनु आवश्यक छ । जसले समयको पहिचान गर्न सक्छ, उही इतिहास पुरुष बन्छ।

यथार्थमा अमर त कर्मले नै भइन्छ। हुन त ‘काल’ले ‘कर्म’को बाटो कहिल्यै छेक्दैन तर कहिलेकाहीँ काललाई खास कर्मको आवश्यकता हुन्छ र त्यसबेला काल महान् कर्मका लागि कर्ताको स्वागतमा तम्तयार भएर बसेको हुन्छ र त्यसो हुनासाथ समयले सजिलै महानताको माला लगाइदिन्छ।

वाम एकताविरुद्ध लोकतान्त्रिक गठबन्धनको अभिव्यक्तिले ठूलो आशा पलाएको थियो । जनताले अब मुद्दाको राजनीति हुनेछ र मुद्दाका नाममा भ्रमको खेती गर्नेहरू विलिन हुनेछन् भन्ने आश गर्न थालेका थिए । मुद्दाको यस्तो राजनीतिले विभेदको जमाना भासिँदै पहाड र मधेसको दूरी घट्ने विश्वाससमेत लिएका थिए । लोकतान्त्रिक गठबन्धन एकतातिर जानुको सट्टा सिटको संकुचित दायरामा समेटिँदै छ।

अहिले नेपालको समय त्यस्तै छ । राज्य र शासनको सर्वोत्तम प्रणाली लोकतन्त्र खतरामा छ । लोकतन्त्रवादीहरू विभाजित र यदुयुद्धमा रहेका बखत लोकतन्त्र मास्न वामहरू एकजुट भएका छन् । सत्ता कब्जा उनीहरूको एक मात्र लक्ष्य हो । विगत ५० वर्षदेखि सत्ता कब्जा गर्न अनेकन् जोड गरे । टाउको काट आन्दोलनदेखि अडिट फर्मुला र अन्ततः जनयुद्धको नाममा १६ हजारभन्दा बढीलाई यातनापूर्ण मृत्युवरण गर्न बाध्य पारियो तर केही नलागेपछि अब जनतालाई भ्रमित गरेर सत्ता कब्जा गर्ने षड्यन्त्रमा लागेका छन् । यो सत्ता कब्जा आवधिक हुनेछैन । संविधानलाई वाम पञ्जामा कसेर सत्ता कब्जा गरिनेछ । जहाँ लोकतान्त्रिक अभ्यास, सञ्चार, जनअधिकारको वकालत, शिक्षा, व्यापार, नागरिक व्यवहार सबै वाम घेराभित्रै सीमित राख्नुपर्ने बाध्यता हुनेछ । यो वामघेरा निश्चय नै उदार हुनेछैन । प्रवेशका सबै द्वार बन्द गरिनु उनीहरूका निमित्त जरुरी बन्नेछ । यसका बन्देज, कडाइ, प्रताडना, सजायबाहेक अन्य उपाय के हुन सक्छन् ? सञ्चार तोते हुनेछ तथा शिक्षा, व्यापारलगायत सम्पूर्ण जीवनशैली राज्यकेन्द्रित हुनेछ । त्यसविरुद्ध संघर्ष अहिले नै गर्नुपर्छ । समयको पुकार यही हो । अहिलेको चुकाइको भरपाईको दशकौँसम्म कुनै सुनुवाइ हुन सक्नेछैन ।

हरेक विकट चुनौतीले सुनौलो अवसर पनि सुरक्षित राखेको हुन्छ । पहाड र मधेसबीचको खाडल पुरेर एकबद्ध नेतृत्वको स्थापना, सबभन्दा उपयुक्त समय हो । मधेसी र आदिवासी–जनजातिका मुद्दाहरूको सम्बोधनका निमित्त काम गर्न सकिने अवसर आएको छ । समयले दिएको यस सुनौलो अवसरको पहिचान आजको मौका हो । आवश्यकता त्याग र प्रतिबद्धताको पनि हो । क्षणिक वा अल्पकालीन स्वार्थले लोकतन्त्र र लोकतन्त्रवादीहरूलाई भड्खालोमा पुर्ने निश्चित छ । फेरि समयले अर्को मौका सजिलै दिने सम्भावना पनि छैन ।

वाम एकताविरुद्ध लोकतान्त्रिक गठबन्धनको अभिव्यक्तिले ठूलो आशा पलाएको थियो । जनताले अब मुद्दाको राजनीति हुनेछ र मुद्दाका नाममा भ्रमको खेती गर्नेहरू विलिन हुनेछन् भन्ने आश गर्न थालेका थिए । मुद्दाको यस्तो राजनीतिले विभेदको जमाना भासिँदै पहाड र मधेसको दूरी घट्ने विश्वाससमेत लिएका थिए । लोकतान्त्रिक गठबन्धन एकतातिर जानुको सट्टा सिटको संकुचित दायरामा समेटिँदै छ । सिट संख्या र नेता व्यवस्थापनको अल्पकालीन स्वार्थको तगारो लोकतान्त्रिक एकताको बाटोमा जबर्जस्त छेकाइको रूपमा उपस्थित भएको छ । लोकतन्त्र नै नरहे लोकतन्त्रवादी नेताहरूको व्यवस्थापन कसरी हुन्छ ? त्यसपछिका परिदृश्य के हुनेछन् ? लोकतन्त्र निमित्तको मजबुत गठबन्धन अर्थात् एकतामा सिटको संख्या पार्टीको होइन, गठबन्धनको हुन्छ । त्यसकारण यो अल्पकालीन स्वार्थको तर्क मात्र हो । गठबन्धनको विकल्प चुनावी तालमेल हुन सक्दैन, किनभने तालमेल वा मैत्रीपूर्ण प्रतिस्पर्धाले मतको सुनिश्चितता दिनै सक्दैन ।

कांग्रेस, राजपा, समाजवादी फोरम, राप्रपा आदि यदि लोकतन्त्रप्रति वास्तवमा प्रतिबद्ध छन् भने तिनका नेतृत्व समयको यस आवश्यकताप्रति चेतनशील हुनैपर्छ । कांग्रेस र राजपा–फोरम आदिको नेतृत्वपंक्तिमा यस्ता कैयन् सम्भावनायुक्त व्यक्तित्व छन् । आवश्यकता समयको पहिचानको हो र अल्पकालीन स्वार्थको परित्यागको । तिनीहरू त्यागका साथ मुद्दाको वाहकका रूपमा आगाडि बढ्न सके भने, नेपालका सबै जनता बराबर हुन् र सबैको मुद्दा लोकतन्त्रमा सम्बोधन गर्ने गारन्टी दिँदै अहिलेको प्राथमिकता लोकतन्त्रको संरक्षण र यसमाथि जंगिएर आएको खतरासँगको मुकाबिला हो भन्ने सन्देशसाथ जनतामा अभियानको सञ्चालन गर्न सके भने, स्वागतार्थ खडा ‘काल’को प्रयोजन सिद्ध हुनेछ र देश लोकतन्त्रको छहारीमा स्थायित्व पाएर पर्याप्त सम्भावनायुक्त अवस्थामा खडा हुनेछ ।

आमजनता र कार्यकर्तामा कुनै संशय छैन । लोकतन्त्र र विभेदरहित समाजका लागि सदैव संघर्षमा उत्रेका छन् र त्यस निमित्त हरदम तयार रहेका छन् । चुकाइ नेतृत्वबाटै भएको हो । साम्य अवस्थामा नेतृत्वले मुद्दाप्रतिको समर्पण देखाउन सकेको छैन । यो कमी सबै दलमा समान रूपमा देखिएको छ ।

कांग्रेस र राजपा–फोरममा को को यसका लागि तयार हुनुहुन्छ, समयले नै जानकारी दिनेछ । समय कसैलाई पर्खंदैन, चलिरहन्छ । समयले सहज र अनुकूल बाटो होस् भनेर अवसर मात्र दिएको हुन्छ । होइन भने समय निपेक्ष हुन्छ किनभने निरपेक्षता नै उसको धर्म हो । त्यसैले समयले सबैलाई अवसर दिन्छ । अहिले वामलाई पनि र लोकतन्त्रको नाम जप्नेलाई पनि समय छ । हेरौँ उपयोग कसले गर्छ ?

(लेखक राजपा नेपालका वरिष्ठ उपाध्यक्ष हुन्)

प्रकाशित: १५ कार्तिक २०७४ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App